arrow

केपी ओली सर्वाधिक रुचाइएका प्रधानमन्त्री, अगाडि अवसरै अवसर !

logo
बाबु नेपाली,
प्रकाशित २०७४ चैत १ बिहिबार
kp-sharma-oli.jpg

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली २०४६ सालको बहुदलपछि सर्वाधिक रुचाइएका प्रधानमन्त्री बन्न सफल भएका छन् । कुटनीतिक हिसाबले निकै अगाडि ओलीलाई छिमेकी राष्ट्रहरुबाट सर्वाधिक रुचाइएकामा परेका छन् । 

उनी प्रधानमन्त्री भारतीय सरकारका तर्फबाट विदेशमन्त्री सुष्मा स्वराज आएरै ओलीलाई बधाइ तथा शुभकामना दिएर गइन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दुई पटक टेलिफोन संवाद गरेरै पनि उनलाई कार्यकालको शुभकामना दिएका छन् । 

त्यसैगरी चीनको ओलीलाई पहिलेदेखि नै सम्मान रहेको छ । ओलीले पाँच वर्षसम्म सहजै मुलुक डोहोर्याउन सक्ने भन्दै चीन पनि यसपटक बढी नै उत्साही छ । 

अप्रत्याशित रुपले पाकिस्तानी प्रधानमन्त्री शाहिद खाकन अब्बासी नेपाल आएर प्रधानमन्त्री ओलीलाई भेटेर बधाइ तथा शुभकामना दिएर गए । 

अब्बासीले प्रमुख प्रतिपक्षी दलका नेतासमेत भेटेनन् । अर्थात् उनको पूर्ण समर्थन ओलीलाई नै देखियो । 

त्यतिमात्र अन्य दक्षिण एसियाली राष्ट्रका कार्यकारी पनि ओलीको कार्यकाललाई लिएर उत्साही छन् । बंगलादेश र भुटानका कार्यकारी नेपाल आएर ओलीलाई भेट्न उत्साही बनेका छन् । 

बंगलादेशको युएस बंगला विमान दुर्घटनाले तत्काल बंगलादेशी प्रधानमन्त्री शेख हसिना आउने सम्भावना टरे पनि यात्रा भने अवश्य हुने स्रोत बताउँछ । श्रीलंकासमेत पनि ओलीसंग सम्बन्ध गाँस्न आतुर रहेको बुझिन्छ । 

त्यसो त ओलीलाई अमेरिका लगायतका देशबाट पनि बधाइ आएको थियो । यो बधाइले उनलाई काम गर्न अझ बढी मद्धत पुग्नेछ । हौसला मिल्नेछ । 

पहिले भन्दा अहिले प्रसिद्धि –
ओली दोस्रो पटक प्रधानमन्त्री भएका छन् । पहिलो पटकमा उनको मुलुकबाहिर खासै चर्चा हुन्थेन । भारतसंग बढेको असमझदारी कार्यकालको मध्यमा आएर मात्र सुल्झिएको थियो । तर त्यसपछि पनि सम्बन्ध बन्न सकेको थिएन । 

चीनले पनि मध्यम दूरीको समभाव प्रकट गरेको थियो । अन्य देशको चासो खासै थिएन । यसपटक केपी ओली नेतृत्वको सरकार बहुमत त एमाले–माओवादी (जो चैत पहिलो सातामै पार्टी एकता गर्ने भनिएको छ) को वाम गठबन्धनबाटै छ । त्यसमाथि मधेसवादी दलहरु राजपा र संघीय समाजवादी फोरमबाट पनि समर्थित भइसकेपछि दुईतिहाइभन्दा पनि माथि देखिएको छ । 

नेपाली राजनीतिमा सम्भवतः यतिठूलो समर्थन भएकै थिएन । पहिलो कार्यकालभन्दा ओलीलाई यसपटक आन्तरिक र बाह्य दुवै तहबाट समर्थन मिलेको छ । 

मुलुकमा ६ महिना नाकाबन्दी लाग्दा प्रधानमन्त्री भएर उनको शाख झन् गिर्ने सम्भावना थियो । तर ओलीले भारत र चीनसंग यस्तो कुटनीतिक सम्वन्ध र शैली देखाए कि जनताले अहिलेको निर्वाचनमा ओलीलाई मात्र होइन उनको सबै टिमलाई नै पत्याउने स्थिति बनाइदियो । 

ओलीले आफूलाई रुचाइनुको पछाडि स्पष्ट बोल्ने र काम गर्ने भएकाले बताउँदै आएका छन् । ओलीकै कारण माओवादी केन्द्रले पनि उच्च सफलता हासिल गर्यो । 

पार्टी एकता भयो भने ओली अझ बढी प्रसिद्ध हुनेछन् । अनि उनको पार्टी र सरकार झन् मजबुद हुनेछ । त्यतिबेला दोस्रो ठूलो दल भएका नाताले अरु दलसंग मिलेर बनेको सरकार भएकाले पनि ओलीलाई चुनौती थियो ।

के छन् अबका चुनौती ? 
सर्वप्रथम त ओलीले आफ्नो मन्त्रिपरिषदमा निकै सुहाउँदा व्यक्तित्व ल्याएका छन् । 

एमालेबाट उनले निकै सन्तुलन मिलाउन खोजेका छन् । काम गरेर देखाउने मन्त्री लालबाबु पंडितलाई सरकारमा ल्याएर उनले आफ्नो टिम सशक्त बनाउने संकेत गरेका हुन् । 

त्यसैगरी एमालेबाट एकसे एक पूर्व अर्थमन्त्रीहरु भए पनि उनले पूर्व गभर्नर डा युवराज खतिवडालाई ल्याए । 

यसको मतलव हो ओलीले नेपालको आर्थिक समृद्धिलाई उच्च बनाउने सोच बनाएका छन् । 

उनका विरोध गर्नेहरु जतिसुकै भए पनि उनी काम गरेर देखाउन चाहन्छन् भन्ने कुराको उदाहरण हो खतिवडालाई सरकारमा समावेश गर्नु पनि । 
खतिवडा गैरराजनीतिकर्मी भए पनि उनलाई सरकारमा ल्याएपछि हित मुलुकको हुन्छ भन्ने विश्वासमा ओली रहे । 

आफ्नै पार्टीबाट अर्थमन्त्री नपाएर चित्त दुखाउनेहरु पनि दुई हप्ताको अवधिमै ओलीप्रति सकारात्मक रहेको सुन्नमा आएको छ । 

त्यसो त उनले सहयात्री पार्टी माओवादीबाट पनि काम गर्ने साथीहरु दिनका लागि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भनेका छन् । 

अहिले आएका दुई मन्त्रीहरु मातृका यादव र रामबहादुर थापा बादल माओवादीभित्र घनिभूत रुपले काम गर्ने नेताहरुमा पर्छन् । 

इच्छाशक्ति भयो भने ओली सरकारले धेरै त्यस्ता चामत्कारिक काम गर्नेछ जुन अहिलेसम्म भएका थिएनन् । 

केही दिनमै मन्त्रीपरिषद विस्तार हुँदैछ । त्यसमा पनि काम गर्ने खालका मन्त्री भने ओली सरकार सुनमा सुगन्ध हुने थियो । 

ओली सरकारको प्रमुख चुनौती नै मन्त्रीहरुको नीति हो । उनीहरु कमाउ धन्धातिर लाग्छन् कि काम गर्ने नीतिमा भन्ने महत्वपूर्ण छ । 

ओलीले संसदबाट विश्वासको मत लिँदा नै भनिसकेका छन् कि ‘म काम गर्न आएको हुँ, काम गरेर देखाउँछु, विपक्षीले चिन्ता नलिइ ढुक्क भएर सुते हुन्छ ।’

ओलीले संगसंगै भ्रष्टाचारलाई ‘शून्य’ मा झार्ने बताएका छन् । यदि त्यस्तो हुन सक्यो भने नेपालको विकासका लागि कसैले रोक्न सक्ने छैन । 

ओलीको वाहीवाही मात्रै हुनेछ । किनकि मुलुक भ्रष्टहरुको सूचीमा निकै अगाडि आइसकेको छ । उनले भ्रष्ट हटाउने नीतिमा आफ्नै पार्टीभित्र पनि सुद्धीकरण अभियान चलाउनु पर्ने हुन्छ । 

ओलीका चुनौतीमा उनको बोली पनि पर्छ । पेटमा केही पाप नराखी बोल्दा उनको आलोचना हुने गर्छ । गर्नेभन्दा बढी भाषण गर्ने उनको बानी सुध्रिनु जरुरी छ । 

पहिलो कार्यकालमा बोलका कतिपय कुराहरु पूरा भएका छैनन् । त्यसैगरी अहिले ल्याएका चुनावी घोषणापत्रलाई गम्भीर भएर उनले पूरा गर्न लाग्नुपर्नेछ । 

‘अरु कुरा गर्छन् म काम गर्छु’ ओलीको आफ्नै भनाइ छ । यो भनाईलाई उनले कुनै पनि हालतमा पूरा गर्नुपर्छ । 

ओलीको विश्वास !

सबैभन्दा ठूलो सफलता आफूमा हुनुपर्ने विश्वास हो । ओली विश्वासी छन् । उनले ठूलोभन्दा ठूलो रोगलाई पनि जितेका छन् । 

त्यही विश्वासका कारण ओली नेपालको सबैभन्दा ठूलो दलको अध्यक्ष छन् । दोस्रो पटक मुलुकको नेतृत्व सम्हालेका छन् । 

उनी पाँच वर्षमात्र होइन कम्युनिष्ट सरकार जुगौंजुगसम्म अगाडि बढाउन उद्दत छन् । उनले त्यसका लागि योजना बनाएका छन् । 

त्यसैले त बहुमतको सरकार हुँदाहुँदै काँग्रेस बाहेकका सबै दललाई समेट्न खोजे । उनले काँग्रेसलाई पनि नसमेट्न खोजेका हैनन् तर उनको इच्छा नै थियो कि कोही त प्रतिपक्षमा चाहिन्छ । 

ओलीलाई स्थानीय तह, प्रदेश र केन्द्रीय जताजतैबाट समर्थन छ । छिमेकी र विदेशी समर्थन छ । 

उनलाई चुनावमा पपुलर भोट पनि आएकै हो । त्यसैले उनलाई अवसर नै अवसर छ । 

यो अवसरको उनले एक रत्ति पनि सम्झौता नगरी अगाडि बढ्ने हो भने उनी नेपालकै सबैभन्दा चर्चित र प्रसिद्ध राजनेता हुनेछन् । 

दुर्वलता हटाउनु जरुरी !
मानिसमा कमजोरी हुन्छन् नै । कमजोरीविहीन कोही हुँदैन । तसर्थ ओलीमा पनि कमजोरी छन् । ती कमजोरी हटाउनु जरुरी छ । 

दुर्वलताले आफैलाई मात्रै खाने हो । उनको सबैभन्दा ठूलो दुर्वलता विरोधी देख्न नचाहने हो । आफ्नै पार्टीदेखि विपक्षी दलसम्म उनले कसैलाई पनि रुचाउँदैनन् । 

तर यो बुझ्नु जरुरी छ कि शत्रुविहीन कोही हुन्न । आलोचक भए भने आफूले गल्ती गरिन्न । 

अरुका कुरा पनि सुन्ने गर्नुपर्छ । तब भइन्छ राजनेता । सफल कार्यकालको शुभकामना !



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ