arrow

पौडेल समूहको बैठकमा पार्टी संगठन र लोकतन्त्रको चिन्ता, के भने जिल्ला सभापतिहरुले ?

पार्टी कमजोर हुने र नेता बलियो हुने विडम्वनाको चर्चा

logo
प्रकाशित २०७४ चैत १ बिहिबार
paudel-ramchandra-news.jpeg

काठमाडौं । कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडल समूहले विहिबार आफू निकट केन्द्रीय पदाधिकारी, केन्द्रीय सदस्य तथा जिल्ला सभापतिहरुको संयुक्त भेला गरेको छ । बरिष्ठ नेता पौडेल सहित महामन्त्री डा शशांक कोइराला, कोषाध्यक्ष सीतादेवी यादव, संसदीय दलमा नेताका प्रत्यासी रहेका प्रकाशमान सिंह लगायतका केन्द्रीय सदस्यहरु भेलामा सहभागि थिए। 

त्रिभुवन विमानस्थल गेट अघिको एयरपोर्ट होटलमा बसेको भेलामा समसामयिक विषय, पार्टी संगठन, प्रदेश तथा प्रतिनिधिसभा चुनावको समीक्षा र आउने ९ गते बस्ने केन्द्रीय कार्यसमिति बैठकमा उठाउने एजेण्डाबारे चर्चा भएको थियो। 

बैठकमा काठमाडौंमा उपलव्ध नेपाली काँग्रेसका ३१ जिल्ला सभापतिहरु सहभागि थिए। बर्दियाका सभापति सञ्जय गौतम, नुवाकोटका जिल्ला सभापति जगदिशनरसिंह केसी, रोल्पाका सभापति अमरसिंह पुन लगायतका सभापतिहरुले बैठकमा सक्रिय सहभागिता जनाएका थिए।

दिउँसो १ बजेबाट साँझ ७ः३० बजेसम्म साढे ६ घण्टा चलेको बृहद छलफलले मुख्य गरेर पार्टी संगठन अन्तर्गत नेपाली काँंग्रेस कमजोर हुने र दलको नेता आफु बलियो हुने अवस्थाबारे गम्भीर चिन्ता गरेको छ ।

सहभागि एक जिल्ला सभापति केसीले भने, ‘संगठन सुधार र संगठनको पूनर्जागरणबारे देशव्यापी बहस चलाउने कुरा पनि भएको छ। यस्तै, आगामी चैत्र ९ गते बस्ने केन्द्रीय समितिको बैठकमा कुरा उठाउनु पर्ने बिषयमा हामीले वरिष्ठ नेता महामन्त्री लगायतलाई भनेका छौँ ।’

यस्तै, बैठकले केपी शर्मा ओली नेतृत्वको वाम सरकारले पछिल्लो समय देखाएका गतिविधि, न्यायालयमा देखिएको विवाद लगायत विषयमा पनि छलफल गरेको छ। वर्तमान सरकारले न्यायालयलाई कार्यपालिकाको छायाँमा राख्ने काम गरेको र संविधानको संरक्षक राष्ट्रपतिबाट पनि संविधान विरुद्ध निर्णय भएकोबारे बैठकमा टिप्पणी भएको नेताहरुले बताएका छन् ।

राष्ट्रपतिले राष्ट्रिय सभामा सरकारको सिफारिसमा मनोनित हुने सदस्य र प्रतिनिधिसभाको समानुपातिक नतिजा सार्वजनिक गर्ने सन्दर्भमा पनि प्रभाव पारेको धारणा भेलामा आयो । न्यायालयलाई प्रभावमा पारेर निर्णय गर्ने गतिविधीको समेत खुलेर कुरा भएको छ।  

वर्तमान सरकारका गतिविधिले लोकतन्त्रका मूल्य मान्यतामाथि प्रहार भएको र ति सबै गतिविधि शक्ति पृथकीकरणको सिद्धान्त विपरीत भएको पनि बैठकले ठहर गरेको छ ।

भेलामा जिल्ला सभापतिहरुले महासमितिको बैठक बोलाउनु अघी जिल्ला सभापतिहरुको राष्ट्रिय भेला बोलाउने निर्णय केन्द्रीय समितिबाट गराउन माग गरेका थिए। पार्टीको विधान संशोधनबारे जिल्ला सभापतिहरुको सुझावलाई महासमितिमा राख्ने वातावरण बनाउन पनि उनीहरुले खासगरि महामन्त्री कोइराला सहितका नेताहरुको ध्यानाकर्षण गराएका थिए। 

पौडेल समूहले पार्टी सभापति शेरबहादुर देउवाको कार्यशैलीकै कारण पार्टीले कमजोर परिणाम ल्याएको बताइरहेको छ । यस्तै, पार्टी नेतृत्व एकलौटी ढंगले चलेको आरोप पनि पौडेल समूहले लगाउँदै आएको छ ।

चुनावमा पार्टी पराजित हुँदै जाने तर पार्टी सभापति हालको संगठनात्मक संरचनामा बलियो देखिदै जानुले पार्टीका लाभमा पुगेका प्रभावशालीहरुको विवेकले काम गर्न छोडेको होकी भन्ने चिन्ता समेत व्यक्त भएको थियो। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ