arrow

‘नो पार्किङ’बाट पैसा मात्रै असुल्ने हो र ? मेयर सा’व

logo
यमुना भण्डारी,
प्रकाशित २०७४ चैत ३ शनिबार
sawari_sadhan.jpg

काठमाडौं । ‘नो पार्किङ’मा मोटरबाईक वा कुनै सवारी साधन रोक्नु भएको त छैन ? यति त्यसो हो भने बेलैमा सचेत रहनुस् । कुनै दिन त्यो ठाउँमा नो पार्किङ नहुन नि सक्छ । तर, कुनै दिन तपाईले थाहा नपाउँदै सवारी ट्राफिक प्रहरी महाशाखा बग्गिखाना पुगिसकेको हुन सक्छ ।

यसरी बाटोमा जहाँ पायो त्यहीँ पार्किङ नगरेकै राम्रो । कुनै दिन जरिवाना नपर्ला तर, कुनै दिन तपाईको दुई मिनेटको कामले ठूलो जरिवाना पर्न सक्छ । जरिवाना सोझै एक हजार । एक मिनेट वा दुई मिनेटका लागि राख्छु भनेपनि हजारको फन्दामा परिएला । फुटपाथ पनि नहेर्नु । त्यहाँ पनि ‘धराप’ थापिएको हुनसक्छ ।

पत्यार नलागे ट्राफिक प्रहरी महाशाखाका एसएसपी उमेश रन्जितकारको कुरा पनि सुन्नुहोस् । उनले भनेका छन्, ‘सोझै हजार जरिवाना लाग्छ । बिलबुक जसको हो उसले मात्र सवारी फिर्ता लिन पाउँछ । अरुले बिलबुक लिएर आयो भनेपनि गाडि फिर्ता हुँदैन । सवारी धनी नै चाहिन्छ ।’ त्यसैले अरुलाई सवारी दिँदा पनि अब १० पटक सम्झिनुस् । बानी अहिल्यै सुधारिहाल्नुस् ।

अर्को कुरा धन्न अहिले बाइक उठाएर लाने एउटा बिग्रिएको छ । दुई मध्ये एउटाले मात्रै काम गरिरहेको छ । भनेजस्तो काम भएको छैनन्, भन्छन् एसएसपी रन्जितकार । उसोत उनी पार्किङ गर्नेको मर्का पनि बुझ्दा रहेछन् । उनले भने, ‘पाकिङ गर्ने ठाउँ छैन । के गर्ने गाह्रै छ । सरकार वा महानगरले केही न केही व्यवस्था गरिदिनु पर्दथ्यो ।’ अब प्रश्न सोझियो महानगरतिर । हुन त महानगर र ट्राफिक प्रहरीकै समन्वयमा धमाधम सवारी उठाइन्छ । तर, मेयर सा’वले यो मार्कालाई कसरी बुझेका छन् ? थाहा छैन । उनले यसबारे कुरै उठाउँदैनन् । असन–इन्द्रचौकमा चारपांग्रे सवारी रोक्न त वडाका जनप्रतिनिधिले पहल गरे । तर, फुटपाथको अव्यस्थित पार्किङ हटाउन कस्ले गर्ने होला पहल ? प्रश्न दह्रोसँग उठेको छ ।

राजस्वमा मात्रै ध्यान
गएको आर्थिक वर्ष २०७३–०७४ साउन १ देखि असार मसान्तसम्म ७ हजार ६ बढी सवारी समातियो । त्यसबाट ७६ लाख ८५ हजार राजश्व उठ्यो । यस्तै, यो आर्थिक वर्षको साउन महिनाबाट फागुन मसान्तसम्म झण्डै साढे ५ हजार सवारी उठाएर बग्गिखाना ल्याइयो ।

जसबाट साढे ५४ लाख बढी राजश्व उठ्यो । रन्जितकार भन्छन्, ‘यो महानगरको आयस्रोत हो ।’ यसको लागि छुट्टै स्लीप छ । यो एकै पटक बैंकमा दाखिला हुन्छ, भनिन्छ । तर, के हुन्छ थाहा छैन । काठमाडौं महानगरले राजस्व त राम्रै उठाइरहेको छ तर, पार्किङ भने कहिल्यै व्यवस्थित हुन सकेन । राजस्वमात्रै उठाउने कि व्यवस्थापन पनि गर्ने हो ? मेयर सा’व ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ