arrow

५ वर्षभित्रै काठमाडौंमा रेल गुड्छ : मन्त्री महासेठ

फोरम र राजपा ‘तु’ सरकारमा सहभागी हुन्छन्

logo
प्रकाशित २०७४ चैत ४ आइतबार
raghubir_mahaseth.jpg

काठमाण्डौ । भौतिक योजना तथा यातायात मन्त्री रघुवीर महासेठले चुनावका लागि बनाइएको साझा घोषणापत्रमा उल्लेख गरिएका सबै काम पाँच वर्षभित्र सम्पन्न गरिने जिकिर गरेका छन् ।

आइतबार रिपोर्टस क्लबको साक्षात्कारमा बोल्दै मन्त्री महासेठले अहिलेको सरकारलाई काम नगर्नका लागि कुनै पनि बहाना नभएकाले पाँच वर्षभित्रमा लक्षित योजनाहरु सम्पन्न गरेरै छाड्ने बताए ।

आर्थिक समृद्धि र भौतिक पूर्वाधार विकासका लागि प्रधानमन्त्री केपी शर्मा ओली प्रतिवद्ध रहेको उल्लेख गर्दै उनले एकै वर्षमा चमत्कार गर्न नसकिए पनि पाँच वर्षभित्रमा चमत्कार गरेर देखाउने बताए ।

मन्त्री महासेठले पाँच वर्षभित्रमा काठमाण्डौमा रेलमार्ग निर्माण हुने सुनाए । महासेठले केही दिनभित्र नै काठमाण्डौ महानगरपालिका, ललितपुर महानगरपालिका, भक्तपुर उप–महानगरपालिका, सडक विभाग, रेल विभाग, यातायात व्यवस्था विभाग र ट्राफिक प्रहरी महाशाखाबीच विशेष छलफल गरेर काठमाण्डौ उपत्यकाको सडक र सवारी व्यवस्थापनका लागि योजना बनाइने बताए ।

ईच्छाशक्ति भए जस्तोसुकै काम पनि गर्न सकिने उनको भनाई छ । “सिङ्गापुर, मलेसिया र साइप्रस विकास हुन सक्छ भने नेपाल किन सक्दैन । ईच्छाशक्ति भएपछि सबै सकिन्छ । पाँच वर्षभित्रमा उपत्यकामा रेल गुड्छ ढुक्क हुनुस् ।” महासेठले भने । “थाई एयरवेज र नेपाल वायुसेवा निगम एउटै वर्ष स्थापना भएको हो । थाइ एयरवेज आज कहाँ पुगिसक्यो । नेपाल वायुसेवा निगम कहाँ छ ? ईच्छाशक्तिका कारण हो ।”

नेपालमा विकासका लागि पर्याप्त स्रोत साधन भएपनि त्यसको सदुपयोग हुन नसक्दा विकास हुन नसकेको भन्दै उनले अब सबै स्रोत साधनको सदुपयोग गरिने बताए ।
“एउटा खानी उत्खनन् गर्न सके पनि ५० वर्षलाई पुग्छ । हामीले नसकेको काम बाहिरको सहयोग लिएर गर्न सक्छौँ । सहयोग त चीनले पनि लिन्छ नि ।” उनले भने ।

विगतमा काम भएन भनेर अहिलेको सरकारलाई तुलना नगर्न उनले आग्रह गरे । “विगतलाई बिर्सौँ । अहिले हाम्रा राजनेताहरुमा ईच्छाशक्ति छ । प्रधानमन्त्री ओलीले विकास निर्माणसँग सम्बन्धित सबै मन्त्रालयको सोझै निगरानी गरिरहनुभएको छ ।”
अघिल्लो सरकारले देशको अर्थतन्त्र लथालिङ्ग पारेर छोडेको आरोप लगाउँदै उनले आफूहरु उच्च मनोबलका साथ काम गरेर सबै समस्या हल गर्ने बताए ।

विगतको जस्तो अस्थिर सरकार अहिलेको नभएकाले पाँच वर्षभित्रमा सबै काम गर्न सकिने उनको जिकिर छ ।

फरक प्रसङ्गमा महासेठले संघीय समाजवादी फोरम नेपाल र राजपा छिट्टै सरकारमा सहभागी हुने दाबी गरे । “फोरम र राजपा सरकारमा आउँछन्, ढुक्क हुनुस् । फोरम २ दिनभित्रमा आउँछ । राजपा पनि केही दिनमा आउँछ ।” उनले भने ।

राजपालाई सरकारमा ल्याउनका लागि कैलाली घट्नाका योजनाकार रेशमलाल चौधरीलाई छुट दिन खोजिएको हो भन्ने पत्रकारको प्रश्नमा उनले वर्तमान सरकारले कानुनविपरित गएर कुनै पनि काम नगर्ने बताए ।

“हामी कानुनको अधिनमा रहेर गर्न सकिने काम मात्रै गर्छौँ । रेशम चौधरीको सवालमा गृह मन्त्रालय र कानुन मन्त्रालयले गृहकार्य गरिरहेको छ ।” उनले भने ।

अहिलेको सरकारले अपराधलाई निरुत्साहित गर्दै मुलुकमा व्याप्त सबै खाले अपराध समाप्त पार्ने दाबी महासेठको छ ।

यातायात मन्त्रीसमेत रहेका मन्त्री महासेठले २० वर्ष पुराना सवारी साधन हटाउने विषयमा आफूले पुनः विचार गर्ने बताए । “२० वर्ष पुराना गाडी हटाउने निर्णयका विषयमा हामी गम्भीर छौँ । चाँडै नै नयाँ नीति बनाउँछौँ ।” उनले भने । यद्यपि, पुराना गाडी कुनै न कुनै दिन हटाउनै पर्ने उनको तर्क छ ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ