arrow

कांग्रेसभित्र वैचारिक बहसको आवश्यकता 

logo
डा राजकुमार राई
प्रकाशित २०७४ चैत ५ सोमबार
rajkumar-rai1.jpg

खोटाङ । यो बर्षमा भएको तीनै तह (स्थानीय, प्रदेश र संघ) को निर्बाचनमा नेपाली काँग्रेसले व्यहोर्नु परेको शर्मनाक पराजयप्रति नेपाली काँग्रेसका सच्चा नेता कार्यकर्ता तथा शुभचिन्तक बुद्दिजीबी लेखकहरुबाट गहिरो चिन्ता ब्यक्त भरहेको छ । यति ठूलो हारको लागि अधिकांश नेता कार्यकर्ता तथा बुद्दिजीबि लेखकहरु पार्टी सभापति शेरबहादुर देउबा तथा उनका सहयोगीहरुको व्यवहारलाई मूल कारण ठान्दछन् । 

त्यसको लागि उनीहरुले पार्टी नेतृत्वद्वारा गरिएका थुप्रै निर्णयहरुलाई गलत बताइरहेका छन् । कतिपयले यो पनि भन्न थालेका छन् कि अब काँग्रेस ओरालो लाग्दै गर्दा राप्रपा बन्नेभो । हुन पनि पार्टी पद्दति नचलेर व्यक्तिबादी भयो भने त्यो पनि सम्भब छ। आखिरी राप्रपा पनि नेतै पिच्छेको जुँगाको लडाईले गर्दा आज यो अबस्थामा पुग्यो।

तर बर्तमान नेतृत्व तथा उनका सहयोगीहरु यो कुरा मान्न तयार छैनन् । चुनाबमा नेपाली काँग्रेस हार्नुको मूल कारण बाम गठबन्धन हो भनिन्छ। त्यसो हो भने स्थानीय तहको चुनाबमा काँग्रेस किन पछि पर्यो त ? त्यो बेला बामगठबन्धन थिएन। जे भए पनि अहिले कांग्रेस प्रति जनताको आकर्षण घटेको छ र आम कार्यकर्ताहरुमा निरासा छाएको अवस्था छ।

यो अवस्थामा कतिपय युवा नेताहरुले नेतृत्व हस्तान्तरणको कुरा पनि उठाइरहेका छन्। यो भनेको घरको बाबुआमालाई तपाईहरु बुढाबुढी हुनु भयो घर ब्यबहार हामी छोराहरुले चलाउँछौं भने जस्तो हो। तर बा–आमा भन्नु हुन्छ हामी तन्दुरुस्तै छौं बरु तिमीहरुले पनि कमाएर ल्याउ र थुपार पछि हाम्रो शेखपछि सबै तिमीहरुकै हो। नेतृत्व हस्तान्तरण भनेको स्वाभाविक प्रक्रिया हो, चाहेर पनि नचाहेर पनि हस्तान्तरण हुँदै जान्छ। 

आजको मूल प्रश्न भनेको पुस्ता हस्तान्तरण भन्दा पनि आम कार्यकर्ताको भावनालाई बुझ्दै पार्टीलाई हाक्न सक्ने असल र सक्षम नेतृत्व चयन कसरी गर्नु सकिन्छ भन्ने हो। यदि पार्टीले सही पद्दत्ति बसाउने हो भने नेतृत्व कहिले बाजे पुस्ताले पाउँछ भने कहिले भतिजा पुस्ताले पाउला।

त्यसबेला उमेरले भन्दा पनि समय अनुसार जसको क्षमता हुन्छ उ नेतृत्वमा पुग्छ। अहिले आएर पार्टी सभापतिलाई मात्र दोष दिनु भन्दा पनि नेतृत्व चयनको प्रक्रियालाई एकचोटी फर्किएर हेर्नुपर्छ जस्तो लाग्छ। बिधानले पार्टी सभापतिलाई धेरै जिम्मेवारीसहित अधिकार पनि दिएको छ। र यस्तो महत्वपुर्ण पदमा उठ्ने व्यक्तिको छनौट अहिलेको भन्दा बृहत बनाउनु जरुरी छ। 

हालको विद्यमान बिधान अनुसार पार्टी सभापतिको छनौट करिब ३२०० जना महाधिबेसन प्रतिनिधिहरुबाट हुन्छ। यो संख्यालाई बढाएर कम्तिमा पनि १०,००० बनाउँदा चुनिएर आउने सभापति पक्कै पनि राम्रो मान्छे आउने सम्भावना हुन्छ। अहिलेको संख्या थोरै भएकोले त्यहाँ साम, दाम, दण्ड, भेद, र गुटबन्दी सबै चल्छ । तर धेरै जना हुँदा यो सुत्र फिका हुन सक्छ।

निर्वाचकहरुको संख्या धेरै हुदा नेतृत्वमा हुनुपर्ने मुख्य गुणहरु जस्तै नैतिकता, इमान्दारिता, क्षमता, र विचार आदि सबैको बारेमा बृहत छलफल हुन्छ। यसरि खारिएर आएको नेता पक्कै पनि बढी जिम्मेवार हुनुपर्छ। त्यस्तै पार्टीले निर्बाचनको बेलामा टिकट वितरण गर्दा त्यस भूभागमा रहेका क्रियासिल सदस्यहरुबाट निर्बाचन गराएर सर्बाधिक मत ल्याउने व्यक्तिलाई टिकट दिंदा बढी स्वच्छ र कम विवाद हुन सक्छ। 

तर यसो गर्नको लागि क्रियासिल सदस्यहरुको संख्या उल्लेख्य हुनुपर्दछ। यसो गर्दा अन्तर्घातको समस्या पनि हल हुन्छ।
अहिले नेपाली काँग्रेस भित्र विचारको बहसको खडेरी लागेको छ। आज भन्दा करिब ६०–६५ बर्ष पहिले बीपी  कोइरालाले प्रतिपादन गरिदिएको विचार (राष्ट्रियता, प्रजातन्त्र, र समाजबाद) लाई काँग्रेसले घोकिराखेको छ। यो उसको लागि रेडिमेड खुराक भएको छ, न पकाउनु पर्ने, न पचाउनु पर्ने। फगत याद गरिदिए पुग्यो। 

यसलाई व्यवहारमा कसरि लागु गर्ने, समय सापेक्ष कसरी बनाउने भन्नेबारे कहिले पनि पार्टीभित्र छलफल चलेको छैन । राष्ट्रियता, प्रजातन्त्र र लोकतन्त्र, र समाजबाद नेपाली काँग्रेसको आदर्श, सिद्दान्त र कार्यक्रम हो। राष्ट्रियता नेपाली कांगेसको आदर्श हुँदाहुँदै पनि नाकाबन्दी भएको बेलामा नेकपा एमालेले यसको महत्वलाई राम्रोसित भजायो। 

नेपाली काँग्रेस यो बिषयमा चुँ पनि बोल्न चाहेन जुनकुरा नेपाली जनतालाई पटक्कै मन परेन। प्रजातन्त्र नेपाली काँग्रेसको सिद्दान्त हो। प्रजातन्त्र प्राप्तिको लागि नेपाली काँग्रेसले पटक पटक संघर्ष गरेकोछ। कुनै बेला नेपाली काँग्रेस र प्रजातन्त्र एक आपसमा पर्यायबाची शब्द जस्तो बनेको थियो। 

नेपाली काँग्रेसले गणतन्त्र आए पछि प्रजातन्त्र शब्दलाई लोकतन्त्रमा बदल्यो मात्र। तर नेपाली काँग्रेसको भाषामा लोकतन्त्र भनेको के हो ? न कसैले सोध्यो, न कसैले बतायो। अलि अलि नेपाली साहित्यका व्यक्तिहरुले पढाइदिए त्यो भयो साब्दिक अर्थमात्र। लोकतन्त्रको मर्म भनेको जनताद्वारा जनताको लागि हो भन्ने हो तर हाल आएर लोकतन्त्र भनेको केहि सिमित व्यक्तिले केहि सिमित व्यक्तिका लागि हो भन्ने आम मानिसहरुको बुझाइ भैरहको छ जुन कुरा दुर्भाग्यपुर्ण छ।

त्यस्तै समाजबाद भनेको नेपाली कांग्रेसको कार्यक्रम हो। समाजबादबाट नै आम नेपाली जनताले सामाजिक न्याय र आर्थिंक समानता पाउन सक्छन भन्ने छ। समाजबादबाट नै जनताले लोककल्याणकारी राज्यको अनुभब गर्ने छ भन्ने छ । तर कतिपय मानिसहरुको आरोप छ कि नेपाली काँग्रेसले समाजबादको कार्यक्रम लागु नगरेर उदार बजारमुखी अर्थतन्त्रको नीति लियो । नीजिकरणलार्इ बढी प्रोत्साहन गर्यो । दलाल अर्थतन्त्र हाबी भयो जसले गर्दा सर्बसाधारण नेपालीहरुलाई मर्का परिरहेकोछ। 

नेपाली काँग्रेस पटक पटक सरकारमा जादा समाजबाद लागु गर्नु के के पहल गर्यो त ? त्यसको बारेमा पार्टीले जनतालाई बताउन सकिरहेको छैन। नेपाली काँग्रेसले समाजबादलाई छोडेर पुंजिबादलाई समातेको हो कि ? पुंजिबाद र समाजबादमा के फरक छ ? समाजबाद लागु गर्नु पहिला देशमा पुंजिबाद फस्टाउनु पर्ने हो कि ?

 यी प्रश्नहरुको बारेमा नेपाली काँग्रेस स्पस्ट हुनु जरुरि छ्र । अहिलेको वर्तमान नेतृत्व प्रति असन्तुष्ट नेता कार्यकर्ताहरुले नेतृत्वको आलोचना मात्र गरेर पार्टी अगाडी बढ्न सक्दैन। नेतृत्व एउटा पुस्ताबाट अर्को पुस्तामा सर्ला तर हिजो र आजको जुन प्रबृत्ति छ त्यो जस्ताको तस्तै सर्दै जान्छ। र यो समस्या बारम्बार दोहोरिरहन्छ । 

यो परिपाटीबाट छुटकारा पाउनु पार्टी मनि र मसलले होइन, विचारले चल्ने बनाउनु जरुरि छ। हाल विद्यमान साम, दाम, दण्ड, भेद, र गुटबन्दीबाट नेतृत्व हत्याउने प्रबृत्तिलाई सुधार्नु पर्छ र विचारलाई समय सापेक्ष बनाउनु पार्टी भित्र बेलाबेलामा बैचारिक बहस चलाउनुपर्छ। 

पार्टीलाई चुस्त दुरुस्त बनाउनुको लागि पार्टीका सबै हाँगाबिँगाहरुलाई केलाएर चुस्त दुरुस्त बनाउनुपर्छ ्र एउटा अग्रगामी गतिसिल पार्टीको लागि मूल कुरो भनेको असल नेतृत्वको चयन प्रक्रिया र पार्टीको विचार नै हो।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ