arrow

ओली (प्रधानमन्त्री) काकालाई भतिजको खुलापत्र

logo
भानुभक्त आचार्य,
प्रकाशित २०७४ चैत ६ मंगलबार
bhanubhakta-acharya.jpg

काठमाडौं । ओली काका, पञ्चायतयताको सबैभन्दा शक्तिशाली प्रधानमन्त्री हुनु भएकोमा तपाइँलाई फेरि पनि हार्दिक बधाइ दिन चाहन्छु । ८० प्रतिशतको हाराहारिमा संसदमा जनमत प्राप्त छ । सात प्रदेशमध्य ६ प्रदेशमा तपाइँकै पार्टीरगठबन्धनको सरकार छ । आफूले जसो भन्यो त्यसै मान्ने राष्ट्रपति छन् । राजा महेन्द्रपछि सम्भवतः तपाइँ नै सबैभन्दा शक्तिशाली व्यक्ति हुनुहुन्छ । 

१०० दिनसम्म धैर्य गर्न खोजेको, मन थाम्न कठिन भइरहेको छ । अनेक प्रश्नहरु मनभित्र उकुसमुकुस छन्ः झन्डै दुई तिहाइको समर्थन हुँदा पनि काँग्रेसबाहेक सबैलाई सत्तामा ल्याउन किन खोजेको ? गाभिएका मन्त्रालय फेरि किन फुटाएको ? मन्त्रिमण्डललाई पूर्णता दिन यत्रो समय किन लगाएको ? नवराज सिल्वाललाई न्यायिक प्रक्रिया छलेर किन ल्याएको ? यस्तै यस्तै । तैपनि चूप लागेको छु, समर्थन गरेको छु र अहिल्यै मूल्यांकन गर्ने समय होइन भनेर धैर्य गरेको छु ।  

तर, रेशम चौधरीको विषयमा बेलैमा झक्झक्याउनु राम्रो होला भनेर यो स्टाटस फेसबुकमा लेख्दैछु । रेशमजी मैले पनि नजिकबाट चिनेका पूर्वसञ्चारकर्मी हुन् । उनी राजनीतिमा आएपछि मेरो संगत टुटेको छ । उनी कुन महत्वाकांक्षा बोकेर राजनीतिमा आए र अब उनको के योजना छ, त्यो उनै जानुन् । तर उनलाई गम्भीर अपराधको अभियोग लागेको छ र त्यसको कानुनी कारबाही चलिरहेको छ । 

यस्तो अवस्थामा न्यायिक प्रक्रियाबाट त्यसको निरुपण नहुन्जेलसम्म उनलाई राजनीतिक संरक्षण नदिनु होला । हत्या र राज्यद्रोह जस्तो जघन्य आरोप लागेका चौधरीलाई त्यो आरोपको छिनोफानो नहोउन्जेल सांसदको उम्मेदवार हुन दिनु हुँदैनथ्यो । 

त्यसक्रममा गम्भीर त्रुटि भइसकेको छ । जनताले राजनीतिक आश्वासनका भरमा भोट दिने हुन् । निर्वाचनको जनमतले उनीमाथि लागेको अपराध चोखिदैन । तपाइँका मन्त्रीले जुस खुवाएर अनसन त तोडाए तर यदि चौधरी सपथ लिएरै सभासद् हुन आइपुगे भने सम्झनुस् तपाइँको दुई–तिहाइवाला सरकार पनि ढल्छ । 

२०४८ सालमा गिरिजाप्रसाद कोइरालाको नेतृत्वको बहुमतको सरकार हेर्दाहेर्दै कसरी धरासायी भयो त्यो बुझ्नु भएकै छ । अहिल्यै देखि आलोचनाको भूमरीमा पर्नुभयो भने पाँच वर्ष सत्ताको बागडोर सम्हाल्न तपाइँलाई हम्मेहम्मे पर्छ । 

सकारात्मक रुपमा भन्ने हो भने तपाइँ अहिलेको समयको जंगबहादुर हो । तपाइँले देशलाई अपूर्व समृद्धिमा पनि पुर्याउन सक्नुहुन्छ । तपाइँको नीति सहि दिशातर्फ लक्षित भएन भने यो देश अझ दुःख र गरिबीको रसातलमा पनि पुग्न सक्छ । हामी इतिहास लेखिने यो घडिको प्रतिक्षामा थियौं । अब त्यो घडि आएको छ । संसदभित्र भएका सबै लोभिपापीहरुलाई खुशी राख्न खोज्नुभयो भने तपाइँ अर्को शेरबहादुर बन्नु हुनेछ । तर त्यस्तो नहोस् । 

                                                                                                                 तपाइँको शुभेच्छुक 
                                                                                                                           भतिज
                                                                                                                    चैत ६, २०७४ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ