arrow

कांग्रेसको महासंग्राम सुरु हुँदै, पक्षहरुबीच आफ्नै रणनीति 

logo
प्रकाशित २०७४ चैत ९ शुक्रबार
nc-party-office.png

काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक शुक्रबार बस्दैछ । निर्वाचनको परिणामको समीक्षा गर्नका लागि बैठक डाकिएको हो । 

बैठक शुक्रबार बिहान ११ बजेदेखि पार्टी कार्यालय विपीनगर सानेपामा बस्दै गरेको पार्टी मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । उनले भने, ‘चुनावको समीक्षा नै बैठकको मुख्य एजेन्डा हो ।’ 

समीक्षा बैठकका लागि पटक पटक आब्हान गरिए पनि निर्वाचन सकिएको तीन महिनापछि सभापति शेरबहादुर देउवाले आब्हान गरेका हुन् । 

निरन्तरको आग्रह र दबाबपछि बस्न लागेको बैठकमा विशेष गरी दुई पक्षबीच खुलेर वैचारिक महासंग्राम चल्ने निश्चित छ । निर्वाचनमा पराजयका हारबारे सभापति देउवाले हारको जिम्मा आफू एक्लैले नलिने बताउँदै आएका छन् भने वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला पक्षले सभापतिले नैतिक जिम्मेवारी दिँदै नेतृत्व छाड्नु पर्ने सम्मको अडान लिएका छन् । 

यो बैठकका लागि देउवा, पौडेल र सिटौला पक्षले छुट्टाछुट्टै छलफल गरी योजना बनाएका छन् । यो बैठकमै महाधिवेशनसम्मको कुरा आउन सक्ने एक नेताले बताए । 

सबै पक्षका नेताहरुका फरक फरक विचार छन् । उनीहरुले ‘जे हुन्छ अब बैठकमै हुन्छ’ भनिरहेका छन् ।  

केन्द्रीय सदस्य प्रदीप पौडेलले बैठकमा प्रस्तुत हुने विषयबारे आन्तरिक छलफल भइरहेको बताए । उनले हाम्राकुरासंग भने, ‘हामीहरु छलफलमै छौं, सोही अनुसार केन्द्रीय समिति बैठकमा प्रस्तुत हुन्छौं ।’

संस्थापन पक्ष भने केन्द्रीय कार्यसमिति बैठकबाट महासमितिको मिति तोक्ने तयारीमा छ । महासमितिको मुख्य एजेन्डा विधान संशोधन हुनेछ । 

काँग्रेसको विधान पुरानै सांगठनिक संरचनामा चलिरहेको छ । यसलाई संघीय संरचनामा ढाल्न बाँकी छ । 

प्रतिनिधिसभाको १ सय ६५, प्रदेशसभाको ३ सय ३० र स्थानीय तहको ७ सय ५३ सिट तथा जिल्ला ७७ पुगेको छ । काँग्रेसको संरचना भने अहिले पनि ७५ जिल्ला, २ सय ४० निर्वाचन क्षेत्र र पुरानै गाउँ–नगरपालिकाअनुसार चलिरहेको छ ।

बैठकमा पदाधिकारी बढाउने वा नबढाउने भन्ने विषयमा पनि चर्को विवाद उठ्ने देखिएको छ । चुनावका बेलामा आफ्नो पार्टीमा फर्किएका विजयकुमार गच्छदार उपसभापति खाने दाउमा छन् । 

चुनावपछि विमलेन्द्र निधि खुम्चिएका छन् भने अहिलेसम्म पद बाँडफाँड हुन नसक्दा अरु आकांक्षी थपिएका छन् । 

केन्द्रीय समिति बैठक केही दिन लम्बिने बताइएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ