arrow

चैते दशैँ : शक्तिपीठमा भक्तजनको भीड

logo
प्रकाशित २०७४ चैत १० शनिबार
chaite.JPG

काठमाडौँ ।चैत्र शुक्ल पक्षमा मनाइने वासन्तीय नवरात्रका अवसरमा देशभरका शक्तिपीठमा भक्तजनको भीड लागेको छ । चैत्र शुक्ल अष्टमीका दिन शनिवार उपत्यकाका भद्रकाली, नक्साल भगवती, शोभा भगवती, श्वेतकाली, रक्तकाली, गुह्येश्वरी, जयवागेश्वरी, बज्रयोगिनी, इन्द्रायणी लगायत शक्तिपीठमा भक्तजनको भीड लागेको हो ।

आज शनिबार परेकाले पनि शक्तिपीठमा भक्तजनको बढी भीड लागेको हो । शारदीय नवरात्रमा जस्तो विशेष पर्वका रुपमा नमनाए पनि शक्तिको आराधना गर्नेले चैते दशैँमा दुर्गा देवीको पूजा, आराधना एवम् सप्तशती चण्डी, श्रीमद्देवी भागवतलगायत देवी स्तोत्र पाठ गर्ने गरेका छन् ।

उपत्यका बाहिरका पलाञ्चोक भगवती, नाला भगवती, चण्डेश्वरी, पाल्चोक भगवती, मनकामना, छिन्नमस्ता, गहवामाईलगायत शक्तिपीठमा पनि भक्तजनको भीड लाग्ने गरेको छ । वर्षमा चारवटा नवरात्र पर्छन् । त्यसमध्ये आश्विन शुक्ल पक्ष र चैत्र शुक्ल पक्षको नवरात्रलाई विशेष रुपमा मनाइन्छ ।

असार शुक्ल र पुस शुक्ल पक्षको नवरात्रको भने चर्चा हुँदैन । साधकले भने वर्षका चारवटै नवरात्रमा शक्ति प्राप्तिका लागि दुर्गा देवीको उपासना गर्छन् । विसं २०६३ अघि चैत्र शुक्ल अष्टमी र भोलिपल्ट रामनवमीका दिन चैते दशैँ पर्वका अवसरमा बिदा दिने गरिन्थ्यो । अहिले अष्टमीको बिदा कटौती गरी रामनवमीका दिनमात्र बिदा दिइन्छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ