arrow

बीस वर्षमा पनि पुरा भएनन् खानेपानी आयोजना

logo
प्रकाशित २०७२ माघ २० बुधबार
water.jpg.jpeg
बागलुङ । जिल्लामा २० वर्षअघि सुरु भएका दुई ठूला खानेपानी आयोजना अझै पूरा भएका छैनन् । विसं २०५२ मा सुरु भएका अमलाचौर र जैदी खानेपानी आयोजना लक्षित अवधि पूरा हुँदासम्म पनि निर्माणकै चरणमा छन् । राजनीतिक दबाब, बजेटको कमी, द्वन्द्व जस्ता कारणले आयोजना समयमै पूरा हुन नसकेको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयले जनाएको छ । 
 
बीस वर्षलाई पुग्ने गरी ‘इष्टिमेट–डिजाइन’ गरिएका आयोजनाले अझै पूर्णता नपाउनु दुःखद रहेको डिभिजन कार्यालयका प्रमुख पूर्णप्रसाद उपाध्यायले बताए । यही वर्षभित्र सक्ने गरी आयोजनाको कामलाई तीव्रता दिइएको छ । अमलाचौर र जैदी गाविसका सबै वडालाई समेट्ने गरी बनिरहेका आयोजनाको ८० प्रतिशत काम पूरा भएको छ । 
 
‘‘यसै वर्षभित्र आयोजना पूरा हुन्छन्” उपाध्यायले भने  । उपभोक्ता समिति पनि सक्रिय भएर लागेको छ । अवधि बढ्दै जाँदा ‘इस्टिमेट’ संशोधनसँगै आयोजनाको ‘स्किम’ पनि थपिँदै जाँदा निर्माण अवधि धकेलिएको प्राविधिकको भनाइ छ । प्रयाप्त सरकारी बजेट नआउँदा पनि निर्माण ढिलो भएको हो । द्वन्द्वको अवधिमा उपभोक्ता समिति पनि निक्रिय हुँदा काम अघि बढ्न सकेको थिएन । आयोजनाले पूर्णता नपाए पनि हालसम्म बनेका ‘स्किम’बाट खानेपानी वितरण भइरहेको कार्यालयका इन्जिनियर जनक गौडेलले जानकारी दिनुभयो । कतिपय ठाउँमा मुहान बिबादका कारण ‘स्किम’ हटाउनुपर्ने अवस्था समेत छ । अमलाचौरको लागि रु १० करोड ७० लाख र जैदीको आयोजनामा रु आठ करोड ५४ लाख बजेट विनियोजन गरिएको छ । 
 
अमलाचौरमा योवर्ष रु डेढ करोड र जैदीको लागि रु ५५ लाख बजेट आएको छ । आयोजनाले पूर्णता पाए अमलौचार गाविसको १४ हजार ५१६ र जैदीको १० हजार ७७२ बासिन्दा लाभान्वित हुने छन् । आयोजना बनाउन सरकारले ८० प्रतिशत तथा २० प्रतिशत जनसहभागिताबाट जुटाइने प्रावधान छ । हाल जिल्लामा ५० भन्दा बढी खानेपानी आयोजना निर्माणाधीन अवस्थामा छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ