arrow

पत्रकार महासंघप्रतिको दृष्टिकोण र दायित्व

logo
रमेश विष्ट,
प्रकाशित २०७४ चैत २२ बिहिबार
ramesh_bist.jpg

नेपाल पत्रकार महासंघले हालै आफ्नो ६३औं स्थापना दिवस मनायो ।  कुनै पनि संस्थाको लागि छ दशक भन्दा लामो क्रियाशील जीवन आफैँमा गहकिलो इतिहास हो । स्थापना कालमा पत्रकार संघ हुँदै अहिले महासंघसम्म आइपुग्दा यो संस्थाले पत्रकार र पत्रकारिताको विकासका लागि मात्र काम गरेन, मुलुकमा भएका सबै खाले अग्रगामी राजनीतिक परिर्वतनमा पनि महत्वपूर्ण भूमिका खेल्यो । जहाँ नागरिक स्वतन्त्रता हुन्छ, त्यहाँ मात्र प्रेस स्वतन्त्रता सुनिश्चित हुन्छ भन्ने मान्यताका आधारमा महासंघले आफूलाई राजनीतिक परिर्वतनमा समेत कुनै न कुनै रुपमा जोड्दै लगेको छ ।  

तीस वर्षे पञ्चायती व्यवस्थामा तत्कालिन पत्रकार संघले प्रजातन्त्र पुर्नस्थापनाका लागि  आफुलाई केन्द्रीत गर्‍यो । पत्रकारिताका  लागि निकै कठिन परिस्थिति रहेको पञ्चायती व्यवस्थामा संघको भूमिका पत्रकारको पक्षमा लड्दै राजनीतिक परिर्वतनलाई टेवा पुर्‍याउने थियो ।  पत्रपत्रिकाको दर्ता खारेजीदेखि पत्रकारलाई जेल हाल्नेसम्मको त्यो परिस्थितिमा पत्रकार संघको गतिविधि आफैमा संघर्षपूर्ण थियो । त्यसताका संघको नेतृत्वमा रहेर अग्रजहरुले पुर्‍याएको योगदान र सामना गरेको चुनौति सामान्य थिएन । अहिले महासंघले हासिल गरेको उचाई विगतको नेतृत्वको त्याग र संघर्षको प्रतिफल हो ।  

समयसगैं महासंघको प्राथमिकतामा परिर्वतन र परिर्माजित हुँदै आएको छ ।  ०४६ सालको परिर्वतन पछि  मुलुकमा  प्रेस जगतको विकास लोभ लाग्दो ढंगबाट अघि बढ्यो । मुलुकमा व्यवसायिक पत्रकारिताको विकाससँगै महासंघको प्राथमिकता र दायरा फराकिलो बन्दै गएको छ ।  श्रमजीवि पत्रकार ऐनको निर्माण र सूचनाको हक सम्बन्धी कानुन महासंघकै संघर्षको प्रतिफल हो । पत्रकारिताको विकास संगसँगै पत्रकारको दक्षता अभिवृद्धि र व्यवसायिक सुरक्षा महासंघको प्राथमिकतामा पर्दै आयो ।

प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता महासंघको सम्झौताविहिन एजेण्डाका रुपमा स्थापित भयो । त्यो बाहेक पत्रकारको भौतिक सुरक्षा महासंघको उच्च प्राथमिकताको विषय रह्यो । दश वर्षे सशस्त्र विद्रोह र सोही बराबरको संक्रमणकालिन राजनीतिक अवस्था महासंघको लागि कठोर अग्नी परीक्षा सावित भयो । महासंघले आफ्नो क्षमताले भ्याएसम्म पत्रकारको सुरक्षामा क्रियाशील हुँदाहुँदै पनि करिब ३५ बढी सहकर्मी पत्रकारलाई जोगाउन सकेन ।धम्कि, कुटपिट, कार्यस्थलबाट विस्थापित र सो नियन्त्रणको समस्यासँग जुद्दै महासंघ अघि बढ्नु पर्ने अवस्था आइनै रह्यो ।  

सशस्त्र द्वन्द्वले निम्त्याएको समस्याहरुसंग जुद्दै अघि बढिरहेको नेपाली प्रेस सामु तत्कालिन राजा ज्ञानेन्द्रले लाधेको निरंकुशतन्त्र सामान्य चुनौती थिएन । राजाको कदमको पहिलो निशाना प्रेस थियो । त्यसपछि मात्रै राजनीतिक दल, नागरिक समाज र अन्य पक्षहरु थिए । ०४७ सालको संविधानले दिएको प्रेस स्वतन्त्रता सम्बन्धी अधिकारको धज्जि उडाउँदै शाही सरकारले प्रेस माथि सेन्सरसिप मात्र लगाएन, पत्रकार र सञ्चार प्रतिष्ठान माथिको धरपकड तीब्र बनायो । सेना र प्रहरी परिचालन गरेर दवाइएको प्रेस स्वतन्त्रताका लागि लड्नु र मुलुकमा चलेको लोकतान्त्रिक आन्दोलनको पक्षमा उभिनु महासंघका लागि सजिलो पक्कै थिएन । तर पनि निरंकुशताको सामु नेपाली प्रेस झुकेन । महासंघको नेतृत्वमा गर्व गर्न लायक संघर्षलाई ईतिहासमा दर्ता गर्‍यो ।

महासंघको २५औं महाधिवेशन पछि निर्वाचित कार्यसमितिले भखर्रै काम थालेको छ ।  महासंघका सामु अहिले पनि अनेकौ चुनौती विद्यमान छन् । प्रेस स्वतन्त्रता र पत्रकारको अधिकारको लागि गर्नु पर्ने प्रशस्त कामहरु बाँकी छन् ।  संगठनलाई संघीय संरचनामा विस्तार गर्नु र शुद्धिकरणको अभियानलाई अघि बढाउनु महासंघको प्राथमिकतामा छ । नयाँ संविधानको निर्माणसँगै तीन तहको सरकारले निर्माण गर्ने ऐन नियम प्रेस स्वतन्त्रता मैत्री बनाउन आवश्यक छ । सञ्चार सम्बन्धी कानुनहरुको पुर्नसंरचनामा नेपाली प्रेसको पक्षमा लबिङ गर्नु महासंघको प्राथमिकता र दायित्व हो । नयाँ मिडियाका रुपमा आएका अनलाईनलाई प्रेस स्वतन्त्रताको रक्षा गर्दै व्यवस्थित र जिम्मेवार बनाउनु पनि महासंघको दायित्व हो । पत्रकारको दक्षता अभिवृद्धिका लागि संरचना निर्माण गर्ने कुरामा पनि महासंघको अग्रसरता आवश्यक छ ।

तेह्र हजार साधारण सदस्य रहेको महासंघ यतिबेला संरचनागत हिसाबले पनि वृहत संगठनको रुपमा क्रियाशील छ । ति संरचनाहरुको व्यवस्थित परिचालन महासंघको दायित्व हो । महासंघको वृहत सञ्जालको सुव्यवस्थित परिचालनले नेपाली प्रेसको विकास र विस्तारमा महत्वपूर्ण योगदान पुग्ने छ । यो सगंसँगै मुलुकको अंग्रणी नागरिक संगठन हुनुको नाताले  महासंघको जिम्मेवारी र दायरा फराकिलो छ  ।

पछिल्ला दिनहरुमा सार्वजनिक सञ्चार माध्यमहरुमा महासंघको साख र गरिमाका विषयमा टिकाटिप्पणीहरु सुनिएका छन् । महासंघका निर्णयहरुका बारेमा प्रश्न उठाइएका छन् ।  सकारात्मक सोच र रचनात्मक टिप्पणीको महासंघले सधै स्वागत गरेको छ ।  तर, पुर्वाग्रही सोंच र विधि प्रक्रिया भन्दा बाहिर गएर गरिएको टिप्पणीको कुनै अर्थ छैन । महासंघ आफ्नो एजेण्डा र दायित्वमा प्रतिबद्ध छ ।  प्रेस स्वतन्त्रता, पत्रकारको हक अधिकार, नीतिगत प्रष्टता, लोकतन्त्र र नागरिक दायित्वका विषयमा महासंघमा कुनै विचलन छैन । समग्रमा नेपाली मिडियाको नेतृत्व महासंघले गर्ने छ ।  पुर्खाले निर्माण गरेको गर्बिलो इतिहासको जगमा  वर्तमानमा गर्नु पर्ने कामका बारेमा महासंघ स्पष्ट र प्रतिबद्ध छ ।

पत्रकार महासंघमा विचारकै आधारमा नेतृत्व चयन हुँदै आएको कुरा कसैबाट लुकेको छैन ।  राजनीतिक आस्थाका आधारमा बनेका पत्रकारका संगठनबाट उम्मेदवार बन्ने र निर्वाचन प्रक्रियामा सामेल हुने कुरा अहिलेसम्मको अभ्यास हो । तर, नेतृत्वमा पुग्न संगठनको उम्मेदवारको रुपमा महाधिवेशनमा प्रस्तुत भएपनि निर्वाचित भइसकेपछि साझा संगठनको प्रतिनिधिको रुपमा काम गर्ने अभ्यास महासंघमा पहिलादेखि नै छ ।

छाता संगठनको नेतृत्वमा रहेपछि राजनीतिक विचार र आस्था भन्दा काम गर्ने परम्परा रहेकै कारण अहिलेसम्म महासंघ आम सञ्चारकर्मीहरुको साझा आस्थाको केन्द्र बन्दै आएको छ । अहिलेको नेतृत्व पनि महासंघको विशिष्ट र साझा चरित्र भन्दा बाहिर किमार्थ हुन सक्दैन । महासंघलाई दलीय छायाँको आक्षेप लगाउनु सवर्था पुर्वग्राही र गलत सोंच हो ।  महासंघलाई महासंघ जस्तै बनाउन र सबै पक्षलाई समान रुपमा समेटेर नेपाली सञ्चारमाध्यम सामु देखिएका चुनौती सामना गर्न अहिलेको नेतृत्व प्रतिबद्ध र सक्षम छ । (विष्ट नेपाल पत्रकार महासंघका महासचिव हुन्)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ