arrow

खानको दुःखले पहाडमा मान्छे अडिएनन्, दीर्घकालमा यसले ठूलो असर गर्छ (अन्तर्वार्ता)

logo
प्रकाशित २०७४ चैत २५ आइतबार
madhura.JPG

मध्य पहाडमा अन्न फल्न छोडेको छ । घट्दो वर्षा, लम्बिँदो खडेरी र बाड्दो बसाइसराईले मध्य पहाडी भूभाग बालीविहीन देख्नु पर्ने स्थिति आएको छ । पछिल्लो समयमा बढ्दो बेरोजगारले गर्दा पनि मध्य पहाड अन्न बालीविहीन हुँदैछ । मध्य पहाडको कृषि उत्पादनलाई तराई वा सहरतर्फबाट बसाई सराई र वैदेशिक रोजगारले पनि प्रभावित पारेको कृषि विकास मन्त्रालयले स्वीकार गरेको छ । कूल ६८ प्रतिशत भूभाग पहाडले ओगटेको छ । २ करोड ३२ लाख जनसंख्यामध्ये ४३ दशमलब १ प्रतिशत जनता पहाडी क्षेत्रमा बसोबास गर्दछन् । यति ठूलो आवादीमा तत्काल समस्या नदेखिए पनि दीर्घकालमा यसले ठूलो समस्या निम्त्याउने विज्ञहरु बताउँछन् । बढ्दो बसाइसराई, वैदेशिक रोजगारले निम्त्याएको समस्यामा मध्य पहाडको उत्पादनबारे हामीले समाजशास्त्री एवम् सामाजिक कृषिविज्ञ, मधुरा कार्कीसँग कुरा गरेका छौँ ।

० मध्यपहाडी क्षेत्र कृषि उत्पादनविहीन बन्दै गएको हो ?
– मानिसहरु वैदेशिक रोजगारमा जान थालेपछि पहाड रिक्तो अवस्थामा छ । त्यसमा कतिवटा काम त लोग्ने मान्छेले नै गर्नुपर्ने हुन्छ । जस्तो खेतीमा बाउसे गर्ने, आली लगाउने, दाइँलगायत आदि काम लोग्ने मानिसले नै गर्नुपर्छ । लोग्ने मानिसको अभावमा गाउँमा खेती हुन छोड्यो । खेती गर्न छाडेपछि उत्पादनमा कमी आउन थाल्यो । यसलाई रोक्न सिप ट्रान्सफर गर्नुपर्‍यो । बुढापाका र महिला मात्र गाउँमा छन् । महिलाहरुले सिकेर खेती उब्जाउ गर्नु पर्‍यो । नत्र खेतीयोग्य जमिन संरक्षण गरेर सरकारले खेती गर्नुपर्छ । अथवा अन्य कुनै उपाय छन् भने ती उपाय अवलम्बन गरेर उब्जनी बढाउनुपर्छ ।

० मध्य पहाडको बसाइ-सराइ राक्ने के गर्नुपर्छ ?
– जमिनबाट उत्पादन हुन छाडेपछि बसाई सराइ भएको हो । अथवा खान नपुगेर हो । पहाडको ठूलो ठाउँमा बसेकाहरु काठमाडौंमा सानो ठाउँमा गुजारा गरिरहेका छन् । किनभने यहाँ अवसर बढी छ । खेतीबाहेक अन्य काम पनि गर्न सकिन्छ । तराईमा पनि काठमाडौं जत्ति अवसर नभए पनि बसाइ सराइ हुन्छ । त्यस्ता सानातिना अवसरहरु हामीले गाउँमै पुर्‍याइ दियौं भने बसाई सराई केही मात्रामा रोकिएला । पूर्ण रुपमा राकिन सक्दैन, किनभने पहाड रित्तो भइसक्यो, मधेशबाट पनि धेरै पलायन भइसके । बसाई सराई कम गर्नका लागि गाउँमा अवसर पुर्‍याउनुपर्छ । पसल थाप्ने, बाख्रा पालन, सिलाई बुनाइको अवसरलगायतको तालिम महिलाहरुलाई दिएर अवसर सिर्जना गर्नुपर्छ । यस्ता अवसर दियो भने मरुभूमिमा पसिना बगाइरहेका केटाहरु फर्किन सक्छन् । उनीहरुलाई फर्किने वातावरण बनाउनुपर्छ । फर्किएपछि उनीहरु कृषि फर्ममा काम गरेको हामी धेरै पाउँछु । कृषिमा सिँचाइको व्यवस्था, कृषि औजार, बिउ विजनको सरल उपलब्धता भयो भने केही हदसम्म बसाई सराई रोकिन्छ । नत्र भोली ठूलो समस्या व्यहोर्नु पर्छ ।

० किन मानिसहरु पहाडमा अडिन सकेनन् ?
– पहाडमा उब्जिनी कम हुन्छ, खान पुग्दैन, खानका लागि विकल्प खोज्नुपर्छ । मधेशमा थोरै जग्गामा धेरै उब्जनी हुन्छ, त्यही कुरा काठमाडौंमा लागू हुन्छ । अन्य व्यवसाय पनि गर्न पाइने लोभमा मान्छेहरु सहर आउँछन् । बन्द व्यापार गर, भारी बोक अथवा कुनै काम गर्न काठमाडौंमा सजिलो छ । पहिला बाँच्न पर्‍यो, बाँच्नका लागि खान पर्‍यो । पहाडमा खानेकुराको अभाव भएर मानिसहरु तराई झरे । पहाडका मानिस पहाडमै बसून भन्नका लागि उनीहरुलाई हामीले अन्य सुविधा दिनुपर्‍यो । अहिले त तीन तहका सरकार छन् । सरकारले के आवश्यकता छ । के कति लगानी गर्दा पहाडमा मान्छे अडिन सक्छ भन्ने सोच्नु पर्दछ । जस्तो, बाख्रा पालनको लागि ऋण अथवा अनुदान दिन सकिन्छ । व्याज थोरै लिने । कुखुरा पालन होला, तरकारी खेती गर्न सिंचाई होला । अकबरे खुर्सानी नै बेचेर पनि मान्छेले जीवन निर्वाह गरिराखेका छन् । यसरी सबै खालको व्यवस्था सरकारले गरिदिएपछि कोही पहाड छोडेर भाग्दैनन् । मान्छेका धेरै बाध्यता हुन्छन् । यो बाध्यात्मक अवस्थाको अन्त्य हुनुपर्दछ ।

० मान्छेहरुलाई पहाडमै रोक्न वैकल्पिक उपाय ?
–अहिले जग्गा टुक्रिएर जाने समस्या जताततै विकराल छ । त्यो रोकिनु पर्दछ । मान्छेहरु छैनन् । खेती गर्दैनन् । ठूलठूलो जग्गा स्कुलको खेल मैदान भएका छन् । घर वरपरकै जग्गा बच्चाहरु खेल्ने चौर भएका छन् । बाटो गएको ठाउँको अलिअलि जग्गा जो विदेश गएका छन् । उनीहरुले घर बनाउनलाई किनेर राखेका छन् । जग्जा खाली बस्ने वा टुक्रिने क्रम बढ्दो छ । खेती योग्य जमिन त्यसरी खण्डिकरण गर्नु भएन । अनि, यदी धान फल्दैन भने मकै फल्छ की । मैकै फल्दैन भने, कोदो फल्छ की, कोदो फल्दैन भने फापर फल्छ की । अर्थात् सिंचाई भयो भने कम्तिमा तरकारी खेती त गर्न सकिन्छ नि । त्यसको पनि सिजन अनुसार हुन्छ । अहिले टनेल सिष्टमको तरकारी खेती धेरै ठाउँमा भइरहेको छ । त्यसरी मध्य पहाडका नागरिकलाई पनि यो विधि सिकाईदिने हो भने राम्रै हुन्थ्यो । त्यसको लागि पानी चाहिन्छ । सिंचाईको सुविधा चैँ सबै ठाउँमा हुनै पर्छ । त्यो स्थानीय वा प्रदेश सरकारले व्यवस्था गरिदिनु पर्दछ । त्यहाँ त मूलको पानी मात्रै हुन्छ । ति मूल जलवायु परिवर्तनले सुकेर गइराखेका छन् । आकाशे वर्षामा पनि कमी आएको छ । सिंचाई मूख्य कुरा हो । अर्कोतिर पिउने पानीकै कारणले पनि बसाइँ सराइँ भएका थुप्रै उदाहरण छ । आधारभूत, पीउने पानी, विजुली, बाटोसम्म सरकारले राम्रै प्रवबन्ध गरिदिनु पर्छ । एउटा नभए एउटा, एउटा नभए अर्को कृषि उपज फलाउने व्यवस्था गरिदिने हो भने पनि मान्छेहरु पहाडमा अडिन्छ जस्तो लाग्छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ