arrow

इन्धन अभावले उपचार सेवा संकटमा

logo
प्रकाशित २०७६ वैशाख २५ बुधबार
1018011171.jpeg
काठमाडौं। राजधानीका सार्वजनिक अस्पतालले स्वास्थ्य सेवा सुचारु राख्न इन्धन र औषधिलगायत सामग्री आपूर्तिको अविलम्ब विशेष व्यवस्था गर्न प्रधानमन्त्रीसँग माग गरेका छन्। उनीहरूले भारतीय नाकाबन्दीपछि अस्पतालले भोगिरहेको इन्धनलगायत उपचार सामग्री अभावबारे प्रधानमन्त्री केपी ओलीलाई पत्र लेख्दै सेवा अवरुद्ध नहुनका लागि तुरुन्त उपयुक्त निकायमा निर्देशन दिनसमेत अनुरोध गरेको कान्तिपुरमा समाचार छ। 
 
अस्पतालहरूले दैनिक आवश्यकता तोकेरै लेखेको पत्रमा इन्धन, औषधि, अक्सिजन, ग्यास र उपचारजन्य सामग्रीको कमीले गर्दा उपचार सेवा संकटमा पर्दै गएको उल्लेख गरेका छन्। त्रिवि शिक्षण अस्पतालको लेटर प्याडमा प्रधानमन्त्रीलाई लेखिएको पत्रमा वीर अस्पताल, पाटन अस्पताल, परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल, कान्ति बाल अस्पताल, सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्र, मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टर, बीपी कोइराला लाइन्स नेत्र अध्ययन केन्द्र र निजामती कर्मचारी अस्पतालका प्रमुखहरूले हस्ताक्षर गरेका छन्। 
 
‘पत्र प्रधानमन्त्रीलाई भेटेरै दिनेछौं,’ शिक्षण अस्पतालका निर्देशक डा. दीपक महराले भने, ‘प्रधानमन्त्रीले आपूर्ति मन्त्री र स्वास्थ्य सचिव दुवैको उपस्थितिमा यो समस्या समाधान गर्न विशेष पहल गर्नुपर्छ।’ पत्रमा राजधानीका ९ वटा अस्पतालको इन्धन, औषधि लगायतका दैनिक न्यूनतम आवश्यकतासमेत उल्लेख छ। हाल न्यूनतम आवश्यकताअन्तर्गत ती अस्पतालका लागि डिजेल १ हजार ७ सय सय लिटर, पेट्रोल २ सय लिटर, एलपी ग्यास १८ सिलिन्डर, अक्सिजन ग्यास २ सय ४५ सिलिन्डर दिनहुँ चाहिने पत्रमा लेखिएको छ। ‘यो इन्धन यातायात र जेनेरेटर सञ्चालनका लागि समेत हो,’ डा. महराले भने, ‘अहिलेको स्थितिमा राष्ट्रका लागि स्वास्थ्य सेवा थप सशक्त हुनुपर्ने हो, अस्पताल खोलेर मात्र भएन।’ 
 
हाल राजधानीका अस्पतालहरूले इन्धन फरकफरक डिपोबाट लिइरहेकोमा अस्पतालका लागि एउटै डिपो तोक्दा सहज हुने उल्लेख छ। हाल यी अस्पताललाई कर्मचारी, स्वास्थ्यकर्मी ल्याउन, घर पुर्‍याउन पहिलेदेखि सञ्चालन रहेको थप यातायात सेवा र रुट उपलब्ध गराउनुपर्ने आवश्यकता देखिएको औंल्याउँदै डा.महराले भने, ‘हामीले व्यक्तिगत रूपमा अस्पताल सम्बद्घ कर्मचारीलाई इन्धन दिन भनेका छैनौं।’ अहिले राजधानीका अस्पतालमा अति आवश्यक औषधिसमेत कम हुँदै गएको स्थिति छ। सरकारले औषधि हवाई मार्गबाट सहजै ल्याउन सक्नेबारे समेत अस्पताल प्रमुखहरूले चर्चा गरेका छन्। उनीहरूका अनुसार अति आवश्यक औषधिको सरकारले स्टक गरेर सबै अस्पताललाई आवश्यकताअनुसार दिनुपर्छ। हाल अभाव हुँदै गएकोमा शल्यक्रिया कक्षका लागि चाहिने आवश्यक औषधिहरू, इन्टेन्सिभ केयर युनिट (गहन चिकित्सा विभाग) र कोरोनरी केयर युनिटका लागि चाहिने औषधि सँगै जीवनरक्षक अत्यावश्यक औषधि छन्। 
 
वीर अस्पतालका निर्देशक डा. स्वयंप्रकाश पण्डितका अनुसार आईसीयू, सीसीयू आदिमा चाहिने अत्यावश्यक औषधि आपूर्ति सहज नभए आगामी दिनमा अस्पताललाई दिन नसकिने बिक्रेताहरूले चेतावनी दिइसकेका छन्। यसबाहेक दिनहुँ उपयोगमा आउने एन्टिबायोटिक लगायतका अन्य औषधिको समेत अभाव देखिन थालिएको डा.महराले बताए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ