arrow

नुवाकोट मिनी महोत्सव सुरु

logo
प्रकाशित २०७२ माघ २१ बिहिबार
nuwakot_map.jpg.jpeg
त्रिशूली (नुवाकोट)। भूकम्पको पीडालाई कम गराउन र पुनःनिर्माण र पर्यटन प्रवद्र्धनको उद्देश्य राखी ‘भूकम्पको पीडा बिर्सौं, समृद्ध नुवाकोट निर्माणमा जुटौं’ मूल नाराका साथ आयोजना गरिएको ‘नुवाकोट मिनी महोत्सव’ विहिवारदेखि सुरु भएको छ । 
 
स्थानीय कोलनीको थ्री डी युवा क्लबको आयोजनामा नौ दिनसम्म सञ्चालन हुने महोत्सवको नेपाल चेम्बर अफ कर्मस तथा चीन–नेपाल उद्योग वाणिज्य सङ्घका अध्यक्ष राजेशकाजी श्रेष्ठले उद्घाटन गर्दै नेपाललाई चीनसँग जोड्ने नाका रसुवागढी नाका हालै सञ्चालनमा आएकाले नुवाकोटवासीका लागि नाकाबाट धेरै अवसर खुलेको बताए । अध्यक्ष श्रेष्ठले सरकारले रसुवागढी नाकाको दीर्घकालीन रुपमा सञ्चालन गर्नका लागि भौतिक संरचना निर्माणका कुनै कञ्जुस्याइँ गर्न नहुनेमा जोड दिए ।
 
उद्घाटनका अवसरमा स्थानीय विकास अधिकारी नारायणप्रसाद रिसालले महोत्सवले जिल्लाको पर्यटन प्रवद्र्धन र व्यावसायिक विकासमा उल्लेख्य स्थान निर्माण गर्ने बताउनुभयो । नुवाकोट उद्योग वाणिज्य सङ्घका अध्यक्ष राजन श्रेष्ठले महोत्सवले जिल्लाको व्यावसायिक पहिचान विस्तार हुने विश्वास व्यक्त गरे ।
 
आयोजक समितिका संयोजक विजय गुरुङको सभापतित्वमा भएको कार्यक्रममा एकीकृत नेकपा(माओवादी)का अध्यक्ष हिरानाथ खतिवडा, राप्रपा नेपालका उपाध्यक्ष विष्णुप्रसाद सापकोटा, नेकपा (माओवादी क्रान्तिकारी)का लीलानाथ न्यौपाने, नुवाकोट उद्योग वाणिज्य सङ्घका निवर्तमान अध्यक्ष शरणउत्सुक सापकोटालगायतले महोत्सवको सफलताको कामना गरेका थिए । 
 
कार्यक्रममा निवर्तमान अध्यक्ष सापकोटालाई सम्मानसमेत गरिएको थियो । उद्घाटनका अवसरमा जिल्लाका विभिन्न सांस्कृतिक झाँकीसमेत प्रस्तुत गरिएको थियो । महोत्सवमा स्थानीय कृषिजन्य उत्पादन, हस्तकला र ढाकाका सामग्री, फलामे औजार र भाँडाबर्तन, कपडा, जनचेतना जगाउने सामग्री लगायतका १५० कक्ष छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ