arrow

हार्ने चुनाव किन लड्दै छ कांग्रेस ?

logo
प्रकाशित २०७६ वैशाख २५ बुधबार
1531205602.jpeg
काठमाडौं। प्रमुख प्रतिपक्षी कांग्रेसले प्रधानमन्त्रीमा जस्तै राष्ट्रपति पदमा पनि अन्तिम दिन मात्र नाम तय गरी उम्मेदवारी दर्ता गराएको छ । मंगलबार बिहान बसेको पदाधिकारी बैठकले नाम प्रस्ताव गरेपछि केन्द्रीय कार्यसमिति बैठकले राष्ट्रपतिमा कुलबहादुर गुरुङ र उपराष्ट्रपतिमा अमियकुमार यादवलाई उठाउने निर्णय गरेको थियो । प्रधानमन्त्री चुनावका वेला कांग्रेसको उम्मेदवारको पक्षमा तराई मधेसमा आन्दोलनरत मधेसी दलले मतदान गरेका थिए । तर, अहिले कांग्रेसको पक्षमा कुनै पनि दल खुलेका छैनन् । आफ्नै दुई सय सात सिटबाहेक कांग्रेसको पक्षमा अखण्ड नेपाल पार्टीका एक सांसदले मात्र भोट हाल्ने घोषणा गरेको रमेश सापकोटाले नयाँ पत्रिकामा लेखेका छन्।  मधेसवादी दलहरूले राष्ट्रपतिको निर्वाचन बहिष्कारको घोषणा गरेका छन् । 
 
संवादमा सुस्त कांग्रेस 
 
प्रधानमन्त्रीको निर्वाचनपछि सभामुख र उपसभामुखमा कांग्रेसले उम्मेवदारी नदिई सत्तारुढ दलको उम्मेदवारलाई समर्थन गरे पनि राष्ट्रपतिका लागि आफ्नो पक्षमा प्रभावकारी माहोल बनाउन सकेको छैन । ‘प्रधानमन्त्रीमा जस्तै राष्ट्रपतिमा पनि उम्मेदवारीका लागि हाम्रो तयारी पुगेन,’ कांग्रेस केन्द्रीय सदस्य मीन विश्वकर्माले भने, ‘पार्टी सभापति भएदेखि नै उहाँमा काम गर्ने सुस्त प्रक्रिया छ । केन्द्रीय समिति, संसदीय दल, राष्ट्रिय पुनर्निर्माण प्राधिकरण, प्रधानमन्त्री र राष्ट्रपतिको चुनावमा पनि त्यही देखियो ।’ एमाले र एमाओवादीका नेताले सहमतिका लागि विगतका कमजोरी स्विकारे राष्ट्रपति कांग्रेसलाई दिन सकिने अभिव्यक्ति दिए पनि कांग्रेसले त्यसलाई ‘सिरियस्ली’ लिएन । एमाले उपाध्यक्ष भीम रावलले कांग्रेसका कारण सहमतिको अवस्था बिग्रिएको आरोप लगाए । ‘कुरा त प्रधानमन्त्रीको निर्वाचनदेखि नै बिग्रियो, तर पनि संयुक्त सरकारमा आउने र सरकारलाई स्थायित्व दिँदै संविधान कार्यान्वयन गर्न मिलेर जाने कुरामा कांग्रेस सकारात्मक भएको भए राष्ट्रपतिको विषयमा सोच्न सक्छौँ भनेका थियौँ,’ रावलले भने, ‘तर, कांग्रेस यसो गर्न सकारात्मक नभएपछि हामीले उम्मेदवारी दिएर अघि बढ्नुपर्ने भयो ।’ 
 
तर, कांग्रेसका नेताहरू आफूले गल्ती नगरेको दाबी गर्छन् । ‘हामीले गल्ती गरेकै छैनौँ, गर्दा पनि गर्दैनौँ । हामी सिद्धान्त र निष्ठाका लागि लडेका हौँ,’ कांग्रेस केन्द्रीय सदस्य आनन्दप्रसाद ढुंगानाले नयाँ पत्रिकासित भने, ‘आफ्नो गल्ती स्वीकार गर भन्ने दलले आफ्नो पनि अनुहार पहिले ऐनामा हेर्नुपर्छ अनि अरूलाई भन्नुपर्छ ।’ राष्ट्रपतिमा उम्मेदवारी दिने पहिलेदेखिकै तयारी रहेको भन्दै उनले प्रमुख प्रतिपक्षी दलका रूपमा जित वा हार जे भए पनि उम्मेदवारी दिनैपर्ने बताए । ‘नीतिगत तयारी पहिलेदेखि हो । चुनाव लड्ने पहिलेदेखि भनेका हौँ,’ ढुंगानाले भने, ‘प्रजातन्त्रमा विश्वास गर्ने हामीले आफ्नो धर्म निभाएका हौँ । प्रतिपक्षमा भएपछि यति गर्नैपर्छ ।’ 
 
कांग्रेसका अर्का केन्द्रीय सदस्य प्रदीप पौडेल एमालेले भनेको जस्तो आफ्नो पार्टीले गल्ती नगरेको र आत्मालोचना गर्ने प्रक्रिया पनि नभएको बताउँछन् । ‘ठूलो दल हो कांग्रेस । प्रधानमन्त्रीको चुनावपछि सभामुखमा उम्मेदवारी नदिएर कांग्रेसले सहमतिको राजनीति गरौँ भनेकै हो,’ पौडेलले भने, ‘तर, सहमति सत्तारुढ घटकले चाहेको देखिएन, हाम्रो सदासयताको अर्थ रहेन ।’ ढिलो उम्मेदवारी पर्दा एमालेले भन्ने कुरा स्वाभाविक भएको उनले बताए । प्रधानमन्त्रीको निर्वाचनमा कुरा बिग्रिएपछि राष्ट्रपतिसम्म आइपुग्दा बाटो झन् बिग्रिएको उनको भनाइ छ । 
 
एमाओवादीले सहयोग गर्ने विश्वास 
 
कांग्रेसले आफ्नो उम्मेदवारलाई अन्तिम समयमा एमाओवादीले सहयोग गर्ने अपेक्षा गरेको छ । ‘प्रचण्डजीले संविधान संशोधन, यसको कार्यान्वयन, भूकम्पछिको पुनर्निर्माणमा मिलेर जानुपर्ने बताउँदै आउनुभएको छ,’ कांग्रेसका एक नेता भन्छन्, ‘त्यसैले सहमतिको राजनीतिलाई अघि बढाउन पनि एमाओवादीले राष्ट्रपतिमा सहयोग गर्छ भन्ने लागेको छ ।’ केन्द्रीय सदस्य आनन्द ढुंगानाले अन्य दलसँग छलफल भइरहेको बताएका छन् । ‘हामी सहमतिमै होस् भनेर लागेका थियौँ, बहुमतीयमा पनि सहमति खोज्न क्रियाशील छौँ,’ उनले भने, ‘सबै पार्टीसँग संवादमा छौँ ।’ राष्ट्रपतिका उम्मेदवार बनेका गुरुङले पार्टी सभापति र व्यक्तिगत रूपमा आफूले पनि अन्य दलका नेतालाई भेटेर र फोन गरेर सहयोगको आग्रह गरेको जानकारी दिए । ‘उम्मेदवार अलि ढिलै घोषणा भयो, तर पनि पार्टी सभापतिजी, संसद्का सबै पार्टीलाई पत्र पठाएर सहयोगको आग्रह गर्नुभएको छ,’ उनले भने, ‘संवादमा सहयोगको आश्वासन पाएको छु ।’ 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ