arrow

इन्धन सङ्कटले फेरियो जीवन शैली

logo
प्रकाशित २०७७ पुष १७ शुक्रबार
532847130.jpeg
दीपक घिमिरे, लुम्बिनी । सीमा नाकामा बसेर व्यापार गर्नेहरुको अहिले दिन दुई गुना रात चौगुनाको हिसाबले कमाई भइरहेको छ । छिमेकी मुलुक भारतले गरेको अघोषित नाकाबन्दीले एकाथरी जनतालाई पेट्रोलियम पदार्थ लगायतका अत्यावश्यकीय वस्तुको अभावले पिरोलिरहेको छ भने सीमा क्षेत्रमा बस्ने नागरिकलाई भने यो सङ्कट कमाउने अभूतपूर्व मौका साबित भएको छ । 

पशुपतिको यात्रा सिद्राको व्यापार भने झैँ अचेल सुनौलीको यात्रा पेट्रोलियम पदार्थको व्यापार भएको छ नेपाल–भारत सीमा नाका बेलहियामा । भारतको अघोषित नाकाबन्दीका कारण सीमा नाका बेलहिया क्षेत्रमा पेट्रोलियम पदार्थको कालोबजार व्यापक रुपमा फस्टाउँदो छ । सीमा क्षेत्रमा बसोबास गर्ने युवाको अहिले दिनचर्या पनि फेरिएको छ । 

बिहान उठ्ने बित्तिकै भारतीय बजार नौतनवा पुग्ने ती युवाले मोटरसाइकलमा पूरै ट्याङ्क पेट्रोल भरेर नेपालमा ल्याउने र आफूले तिरेको मूल्यभन्दा तीन गुणा बढीसम्ममा बिक्री गर्ने गर्दछन् । अन्य व्यवसाय गरेर कम मात्रै आम्दानी गर्ने गरेका सीमा क्षेत्रका व्यापारी रातारात हजारौँ हजार कमाइ हुने भएपछि यस्तो धन्दामा लागेका हुन् । यस कार्यमा भारतीय युवाको सक्रिय भूमिका रहेको छ । 

भारतीय युवाले भारतीय नम्बर प्लेटका मोटरसाइकलमा भारतको नौतनवाबाट पेट्रोल लिएर आउने र भैरहवा बेलहिया सडकखण्डको बीच बाटोबाटै प्रतिलिटर २०० देखि २५० रुपैयाँसम्ममा नेपालीलाई बिक्री गरिरहेका छन् । भारतीय पेट्रोल पम्पमा पेट्रोलको मूल्य भारु ६८।८० पैसा पर्ने गर्दछ जसको नेपाली मूल्य ११०।०८ पर्ने गर्दछ । उनीहरुले बिक्री गर्ने पेट्रोलियम पदार्थ खरिद गर्न नेपाली तँछाडमछाड गरेका दृश्य भैरहवादेखि बेलहिया नाकासम्मै हरेक दिन देख्न पाइन्छ । स्थानीय प्रशासनकै अगाडि खुलेआम कालोबजारमा पेट्रोलको कारोबार भइरहँदा पनि स्थानीय प्रशासन भने मौन बसेको देखिएको छ । 

भारतीय पेट्रोल पम्पबाट आफ्नो मोटरसाइकलमा पूरै ट्याङ्क भरेर ल्याइने तेल बेलहिया आसपासका क्षेत्र तथा भैरहवा, बनगाई, लुम्बिनी, मर्चवार, छपिया, अमुवा लगायतका स्थानमा बिक्री गर्ने गरिएको छ । तर पनि प्रशासनले कसैलाई कार्वाही गर्न सकेको देखिँदैन । 

बुटवलबाट पेट्रोल किन्न वेलहिया आउनुभएका दलबहादुर थापाले भने – ‘के गर्ने नेपालका पेट्रोल पम्पमा तेल छैन । दैनिकी चलाउन पनि गाह्रो भयो । त्यही भएर दोब्बरभन्दा पनि बढी तिरेर भए पनि बाइक त चलाउनै प¥यो नि ।’यसरी राखेको तेलले मोटरसाइकल बिग्रिएर धेरैजना हैरानीमा परेका छन् । थापा जस्ता धेरैको यस्तै सुनासा सुनिन्छ । 

भारतीय नागरिकले नेपालमा तेलको अभाव भएको मौका छोपी दैनिक आठदेखि १० पटकसम्म नेपालमा आएर यस्ता कार्य गरिरहेका छन् । उनीहरुले त्यसरी ल्याएका पेट्रोल यात्रुवाहक बसमा राखेर बेलहियाबाट काठमाडौँ, पोखरा, बागलुङ, नारायणगढसम्म पनि पठाउने गरेको एक व्यापारीले उल्लेख गरे । त्यसरी खरिद गरेका पेट्रोलको शुद्धता कस्तो छ भन्नेबारे सर्वसाधारणले कुनै चासो पनि राखेको पाइँदैन । 

पेट्रोलमा मिसावट 
भारतीय बजार नौतनवा लगायतका स्थानबाट ल्याइएको पेट्रोलमा व्यापक मिसावट भएको पाइएको छ । खुला ठाउँबाट बिक्री हुने त्यस्ता पेट्रोलमा डिजेल, ताडपिन तेल, मट्टीतेल, जीवनजल र पानी मिसाएर बिक्री–वितरण गर्ने गरेको पाइएको हो । 

मिसावटयुक्त पेट्रोलको प्रयोगका कारण मोटरसाइकल तथा कारको इन्जिन बिग्रिएर हैरानी बेहोर्नु परेको प्रयोगकर्ताले बताएका छन् । मिसावटयुक्त पेट्रोलका कारण दैनिक दुई÷तीनवटाका दरले प्रत्येक जसो मोटरसाइकल ग्यारेजमा मर्मतका लागि आउने गरेको सञ्चालकले बताएका छन् । 

भारतीय बजार नौतनवाबाट ल्याएर नेपालमा भरेको पेट्रोलका कारण कतिपय व्यक्तिको मोटरसाइकलको इन्जिन नै ध्वस्त भएको उनीहरुको भनाइ छ । भैरहवा अञ्चलपुरका मोटरसाइकल मेकानिक मनोज शर्मा भन्छन् – ‘त्यस्ता पेट्रोल भरेका पाँचवटा मोरसाइकलको इन्जिन त मैले मात्रै बनाइसकेँ । आठ–दश वटा बाइकको ट्याङ्की पनि सफा गरिदिएँ । त्यस्ता समस्या लिएर आउनेको भीडको लेखाजोखा नै छैन । तेलका कारण कतिपय मोटरसाइकलको इन्जिन नै काम नलाग्ने भएका छन् ।’ 
भारतीय पेट्रोल पम्पमा मोटरसाइकलको घुइँचो 
भारतीय बजार नौतनवाका विभिन्न पेट्रोल पम्पमा गएर पेट्रोल भर्ने नेपाली मोटरसाइकलको भीड लाग्ने गरेको छ । नेपाली नम्बर प्लेटका गाडीलाई अनुमतिपत्र (भन्सार सुविधा) बनाएर भारतको नौतनवासम्म आवतजावत गर्न पाउने सुविधा भएसँगै नेपाली मोटरसाइकलको भारतीय पेट्रोल पम्पमा भीड लाग्ने गरेको हो । त्यताका भन्सार कर्मचारीलाई अनुमतिपत्र बनाउन भ्याइनभ्याई छ । भारतीय नम्बर प्लेटका सवारीसाधनले पनि दिनमा एकपटक अनुमतिपत्र लिएर नेपाल प्रवेश गर्न पाउने व्यवस्था भए पनि एकै दिनमा १० देखि १५ पटकसम्म ओहोरदोहोर गर्ने गरेका छन् । यहाँका भन्सार कर्मचारीलाई पनि यस्तो अनुमतिपत्र बनाइदिन भ्याइनभ्याई छ । 

तराईमा आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले अनधिकृत पेट्रोलियम पदार्थको ओसारपसारले आफ्नो आन्दोलन कमजोर पारेको जनाउँदै कालोबजारी प्रवृत्तिमा रोक लगाउने निर्णय गरे पनि तराईका पान पसलदेखि फेन्सी पसलसम्म फस्टाएको पेट्रोलको धन्दा रोक्न निकै कठिनाइ भए जस्तो देखिएको छ । यद्यपि खुलेआम रुपमा पेट्रोलियम पदार्थको कालोबजार भएको पाइए स्थानीय प्रशासन ऐनअनुसार कालोबजारी गर्नेमाथि कार्वाही अघि बढाउने रुपन्देही प्रशासनले जनाएको छ । 

रुपन्देहीका सहायक प्रमुख जिल्ला अधिकारी कोशलराज शर्माले इन्धनमा भइरहेको कालोबजारी रोक्न प्रशासनले सक्दो प्रयास गरिरहेको र त्यसतर्फ प्रशासन सचेत रहेको बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ