arrow

अतिवाद र आतङ्कवादको भारत र नेपालले मिलेर मुकाबिला गर्ने

logo
प्रकाश सिलवाल,
प्रकाशित २०७२ फागुन ८ शनिबार
modi-oli.jpg.jpeg
नयाँदिल्ली । भारतको राजकीय भ्रमणमा रहेएका प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीसँग आज यहाँ नयाँदिल्ली हैदराबाद हाउसमा द्विपक्षीय भेटवार्ता भएको छ । त्यस अवसरमा प्रधानमन्त्रीहरूबीच आपसी सम्बन्ध र पारस्परिक हित र चासोका विविध विषयमा छलफल भएको हो । साथै नेपालमा व्यापार र लगानी विस्तार, भूकम्पपछिको पुनःनिर्माण, तराई क्षेत्रमा सडक लगायत पूर्वाधार बनाउने तथा भारत भएर बङ्गलादेशसँगको पारवहन मार्ग सञ्चालन गर्ने बारेमा सहमति भएको छ । 
 
वार्तापछि दुवै देशका सम्बद्ध अधिकारीले प्रधानमन्त्रीद्वयको उपस्थितिमा सहयोगसम्बन्धी समझदारीपत्र आदानप्रदान गरे । सञ्चारकर्मीको उपस्थितिमा भएको उक्त कार्यक्रममा दुवै देशका प्रधानमन्त्रीले वार्तामा भएका निर्णयबारे जानकारी दिँदै सङ्क्षिप्त मन्तव्य व्यक्त गरेका हुन् । प्रधानमन्त्री ओलीले आफू र भ्रमण दलका सदस्यलाई राजकीय सम्मानका साथ आतिथेय प्रदान गरिएकोमा राष्ट्रपति प्रणव मुखर्जी र प्रधानमन्त्री मोदीप्रति आभार रहेको बताए । 
 
भारत र नयाँदिल्लीका जनताप्रति नेपाल र नेपालीको भावनात्मक सम्बन्ध रहेको र नेपालको विकासको भारत ठूलो साझेदार रहेको बताउँदै प्रधानमन्त्रीले भारतको साथ, सहयोग र सद्भावबाट नेपालमा लोकतान्त्रिक संविधान जारी भएको सुनाए  । नेपालको आर्थिक समृद्धि, विकास र राजनीतिक स्थायित्व अबको आफ्नो लक्ष्य भएको पनि प्रधानमन्त्रीले बताए । विश्वको उदीयमान अर्थतन्त्रका रुपमा अग्रसर भएको भारतबाट नेपालको आर्थिक विकासका लागि सहयोग महत्वपूर्ण हुने बताउँदै प्रधानमन्त्री ओलीले भारतले हासिल गरेको विज्ञान प्रविधि, नवीन खोज र नवप्रवर्तन नेपालका निम्ति प्रेरणादायी रहेको सुनाए । 
 
शिक्षा, स्वास्थ्य र भौतिक पूर्वाधार विकासमा भारतबाट निरन्तर प्राप्त सहयोग र ऐक्यबद्धताप्रति ओलीले कृतज्ञता व्यक्त गर्दै भने,“नेपाल र भारतबीचको सम्बन्ध नयाँ युगमा प्रवेश गरेको छ, हामी अतिकम विकसित मुलुकको स्तरबाट क्रमशः उठ्ने प्रयासमा छौँ।” प्रधानमन्त्री ओलीले पूर्वाधारका विशाल परियोजनामा उल्लेख्य सहयोगको अपेक्षा नेपालले गरेको पनि बताए । नेपाल र भारतबीचका सबै असमझारी हटेका र अब अग्रगामी सम्बन्धलाई अघि बढाउन अपरिहार्य भएको विचार पनि ओलीले व्यक्त गरे । प्रधानमन्त्री ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीका तर्फबाट भारतका राष्ट्रपतिलाई र आफूले आफ्ना भारतीय समकक्षीलाई नेपालको भ्रमण गर्न निमन्त्रणा गरिएको जानकारी पनि दिए । 
 
भारतीय प्रधानमन्त्री मोदीले भारत–नेपालमैत्री आजदेखि इतिहासको नयाँ चरणमा प्रवेशको बताउँदै गौरवशाली नेपाली जनताको भारतप्रतिको सद्भावको प्रशांसा गरे । मोदीले नेपाली काँग्रेसका दिवङ्गत सभापति एवम् पूर्वप्रधानमन्त्री सुशील कोइरालाको कार्यकालमा भारत–नेपाल सम्बन्धमा अतुलनीय योगदान भएको छ भन्दै नेता कोइरालालाई भारतले सधैँ सम्झना गरिरहने बताए । अतिवाद र आतङ्कवादको भारत र नेपालले मिलेर मुकाबिला गर्ने तथा आपराधिक एवम् आतङ्कवादीलाई आआफ्ना भूमि दुरुपयोग गर्न नदिने प्रतिबद्धता आफूहरुले व्यक्त गरेको जानकारी दिँदै प्रधानमन्त्री मोदीले भने , “नेपालमा शान्ति, स्थायित्व र आर्थिक विकास हाम्रो उद्देश्य हो, नेपालको स्थायित्व हाम्रो सुरक्षासँग जोडिएको छ ।” 
 
नेपालको अथाह जलस्रोतको समुचित उपयोगबाट दुवै देश लाभान्वित हुने प्रसङ्ग उल्लेख गर्दै प्रधानमन्त्री मोदीले नेपालको आर्थिक विकासका निम्ति त्यो वरदान सावित हुने बताए । रासस 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ