arrow

उत्तर कोरियामाथि प्रतिबन्ध लगाइने

logo
प्रकाशित २०७२ फागुन ८ शनिबार
north-korea.jpg.jpeg
संयुक्त राष्ट्रसङ्घ। उत्तर कोरियाले केही दिनमात्र अघि गरेको विवादास्पद लामो दुरीको रकेट प्रक्षेपणका कारण विश्वव्यापीरुपमा तनाव बढिरहेको अवस्थामा उसमाथि लगाउने प्रतिबन्धका बारेमा पनि परामर्श सुरु भएको समाचार छ । राष्ट्रसङ्घीय सुरक्षा परिषद्को शनिबार बसेको एक आकस्मिक बैठकमा पनि सो विषयमा आवश्यक छलफल र परामर्श भएको समाचारमा जनाइएको छ । 
 
सो बैठकमा उसका विरुद्धमा के कस्तो नाकाबन्दी र प्रतिबन्ध लगाउने भन्ने बारेमा सो छलफल भएको राष्ट्रसंघीय अधिकारीहरुले जानकारी दिएका छन् । यस प्रक्षेपणले विशेषगरी उसका छिमेकी राष्ट्रहरु दक्षिण कोरिया र जापानमा झनबढी तनाव थपिदिएको विभिन्न अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् । उता उत्तर कोरियाले भने सो प्रक्षेपणको कार्य सफलतापूर्वक सम्पन्न भएको भन्दै त्यसको व्यापक मात्रामा प्रचारप्रसार गरिरहेको जनाइएको छ । 
 
केही समयमात्र अघि हाइड्रोजन बम परीक्षण गरेको यस देशलाई अब यसले आगामी दिनमा अरु शक्तिशाली मिसाइल पनि प्रक्षेपण गर्नसक्ने भन्दै त्यसको विश्वव्यापी विरोध भएको बताइएको छ । यसअघि उत्तर कोरियाले हाइड्रोजन बम परीक्षण गरेको समयमा पनि त्यसको विरोध गरिएको थियो । यस रकेट प्रक्षेपणको तयारीको समाचार आएकै समयमा विरोध भएको थियो । 
 
यस रकेट प्रक्षेपणपछि संयुक्त राज्य अमेरिका, चीन, संयुक्त राष्ट्रसंघले यस घटनाप्रति गम्भीर चासो व्यक्त गरेका छन् । अमेरिका, जापान र दक्षिण कोरियाले त उत्तर कोरियामाथि कडा भन्दा कडा प्रतिबन्ध लगाउनुपर्ने अडान राख्दै आएका छन् । उनीहरुले यस प्रक्षेपणले संयुक्त राष्ट्रसंघको शान्ति र निशस्त्रीकरणसम्बन्धी प्रस्तावको उल्लङ्घन गरेको भन्दै यसका लागि कोरियालाई आवश्यक कारबाही गर्नुपर्नेमा पनि जोड दिएका छन् । 
 
संयुक्त राष्ट्रसङ्घका महासचिव बान कि मुनले यस घटनाको विरोध गर्नुभएको छ । उहाँले उत्तर कोरियाको यस कार्यलाई उत्तेजनात्मक भन्दै संसारभरि नै यसले उत्तेजना बढाउने मात्र कामगर्ने प्रतिक्रिया दिएका छन् । रासस 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ