arrow

गर्भ बोकेर विद्यालय जान्छन् बालिका

logo
प्रकाशित २०७७ पुष १७ शुक्रबार
122370040.jpeg
हेमन्त केसी, जाजरकोट । यहाँका विद्यालय उमेरका बालबालिका पढ्ने समयमा विवाह गर्दा पढाइ अगाडि बढाउन नपाएको गुनासो उनीहरुले गरेका छन् ।  बालविवाह हुँदा छ प्रतिशतभन्दा बढी बालबालिकाले पढाइ छाड्न बाध्य भएको जिल्ला शिक्षा कार्यालयको तथ्याङ्कमा उल्लेख छ । 

जिल्लाको भुर–७ भुरचौरकी गीता परियार १४ वर्ष पनि पुगेकी छैनन् तर उनी गर्भवती छिन् । ९ कक्षामा पढ्ने गीता केही महिनामै आमा बन्दै छिन् । ८ कक्षामा पढ्दापढ्दै १३ वर्षकै उमेरमा बिहे गरेकी गीताले विद्यालय जान छोडिसकेकी छिन् । “बिहे भएपछि पनि पढौँला भन्ने लागेको थियो तर अहिले घरको कामधन्दाले पढ्नै पाइएन, बिहेका कारण पढ्न नपाएको गीताले गुनासो पोखिन् । 

एउटै कक्षामा पढ्ने गणेश परियारसँग प्रेमविवाह गरेकी गीताले प्रेम र विवाहले गर्दा पढाइ छोड्नुपरेको बताइन् । “पहिले पढाइभन्दा ठूलो माया र बिहे लाग्यो, अहिले पढ्न मन लागे पनि पढ्न सकिएन” – गीताको पछुतो छ । ७ कक्षादेखि नै प्रेममा फसेकी गीता ८ कक्षामै बिहे गर्न पुगेपछि पढाइ छोड्न बाध्य भएकी हुन् । 

गीता जस्तै भुर–८ आलीकी पार्वती बुढाले पनि दुई वर्षअघि ९ कक्षामा पढ्दापढ्दै विवाह गरिन् । अहिले एक वर्षको बच्चाकी आमा बनिसकेकी पार्वतीले पनि बिहेपछि पढाइ छोडिसकेकी छिन् । सँगै पढ्ने डिलबहादुर बुढासँग बिहे गरेकी पार्वती घरको कामधन्दा र छोराको स्याहारसुसारका कारण पढाइ छोड्न बाध्य छन् । “पढ्ने बेलामा माया र विवाह नै सबैथोक देखियो अहिले न पढ्न सकिन्छ, न यो दुःखबाट टाढिन सकिन्छ” – पार्वतीले भनिन् । 

गीता र पार्वतीको जस्तै अवस्था भुरचौरकी सरिता रानाको पनि छ । दुई वर्षअघि १४ वर्षकै उमेरमा १० कक्षामा पढ्दापढ्दै बिहे गरेकी सरिता पनि पढ्ने लेख्ने उमेरमा घरधन्दाले हैरान छिन् । 

एकातिर सानो काखे नानीको स्याहारको चिन्ता अर्कोतिर घरधन्दाको कामले उनलाई पढ्ने लेख्ने र अरू कुराको कुनै वास्ता गर्ने फुर्सद नै छैन । “अहिले आएको बुद्धि पहिले आएन अब के गर्नु, यही घरधन्दामा रमाएर घरबार चलाउने हो सरिताले भनिन् ।” 

यी सबै जिल्लाको बालविवाहसम्बन्धी घटनाका प्रतिनिधिपात्र मात्र हुन् । गरिबी, अशिक्षा र परम्परागत मूल्य मान्यताका कारण सानैमा बिहे गर्ने चलन अत्यधिक भएपछि धेरै बालबालिका विद्यालयबाट पढाइ छोड्न बाध्य छन् । राष्ट्रिय जनगणनाअनुसार जिल्लामा १० वर्षमुनि विवाह गर्ने बालकको सङ्ख्या ३४ तथा बालिकाको सङ्ख्या १३१ रहेको छ । 

यसैगरी १० देखि १४ वर्षको उमेरसम्ममा बिहे गर्ने बालकको सङ्ख्या ९८३ र बालिकाको सङ्ख्या चार हजार ६८५ रहेको छ भने १४ वर्षदेखि १९ वर्षको उमेरसम्म बिहे गर्ने बालकको सङ्ख्या १७ हजार ४७१ र बालिकाको सङ्ख्या २६ हजार ५५८ रहेको छ । 

तथ्याङ्कअनुसार कुल बालबालिकाको सङ्ख्यामध्ये ६५ प्रतिशत बालबालिकाले सानै उमेरमा विवाह गर्ने गरेका छन् । जसमा ३७ दशमलव १३ प्रतिशत बालक र ६२ दशमलव ८७ प्रतिशत बालिकाले सानै उमेरमा विवाह गर्ने गरेका छन् । 

त्यस्तै जिल्लामा बालविवाह र अन्य कारणले विद्यालयको पढाइ छोड्ने दर छ प्रतिशत रहेको जिल्ला शिक्षा कार्यालयको तथ्याङ्क छ । बालविवाहको दर सदरमुकाम, विभिन्न बजार र गाउँमा पनि अत्यधिक मात्रामा हुने गरेको देखिन्छ । 

अभिभावकले नै बालबालिकालाई बालविवाह गर्नका लागि उक्साउने गरेको बालबालिकाले बताएका छन् । बालविवाह गर्नु हुन्न भन्नुको साटो आफँै छिटो छोराछोरीको बिहे गरिदिए नाति नतिनाको मुख देख्न पाइन्छ भन्ने गलत मान्यताका कारण बालविवाह गर्नेको सङ्ख्या बढेको सरोकारवाला बताउँछन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ