arrow

दार्जिलिङको तिहारः गोर्खाली पहिचानको पर्व

logo
प्रकाशित २०७६ वैशाख २५ बुधबार
1454395152.jpeg
युवराज गौतम। तिहार उज्यालो र खुशीयालीको चाड हो । बर्ष दिनमा आउने तिहार एक आपसमा मिलन र आत्मीयता बढाउने चाडका रुपमा पनि लिने गरिन्छ। तिहारलाई नेपाल भित्र मात्र होइन विश्वभर विभिन्न तरिकाले मनाइन्छ । जहाँ हिन्दु र नेपालीभाषीहरु छन, उनीहरुले आ–आफनै तरिकाले तिहारलाई मनाउने गर्छन। नेपाल वाहिरका नेपालीहरुले चाडपर्वलाई गोर्खालीको पहिचानका रुपमा लिने गर्छन। सिमापारीको सिक्किम, दार्जिलिङ, आसाम, डुवर्स, भुटान, देहरादुन लगायतका स्थानमा तिहारलाई ‘दिवाली’उपनामले विशेष पर्वका रुपमा मनाउने चलन छ। दार्जिलिङ, सिक्किम, सिलीगुडी लगायतका स्थानमा बसोबास गर्ने नेपालीभाषीहरुले तिहारलाई ‘दिवाली’ अर्थात ‘औंशी’ भनेर तामझामका साथ मनाउने गर्छन। दार्जिलिङ अर्थात गोर्खाल्याण्डबासीले तिहारलाई‘तमोसमा ज्योतिर्गमयः’अध्याँरोमा उज्यालो रहोस भन्दै सांस्कृतीक एकताका रुपमा धुमधाम मनाउने प्रचलन छ। 
 
नेपालीहरुले चाडबाड भडकिलो रुपमा मनाउदै जान थालेको भए पनि दार्जिलिङमा गोर्खालीको सांस्कृतीक एकता पर्वका रुपमा मनाउने गर्छन। यतिबेला दार्जिलिङमा गोर्खाल्याण्ड राज्यको माग उठिरहेकाले उनीहरुले पछिल्ला बर्षहरुमा नेपालीभाषी गोर्खालीहरु माझ एकता हुनुपर्छ भन्ने सन्देस दिन खोजिरहेका छन्। देउसी–भैलो तथा सांस्कृतीक कार्यक्रमहरुमा गोर्खाल्याण्डको नारा गुञ्जाउन थालिएको छ। गोर्खालीहरुले आफ्नो सांस्कृतीक मान्यता जोगाउन कसैसँग सम्झौता नगर्ने सन्देस प्रवाह गरिरहेका छन्। सामुहिक देउसी–भैलो कार्यक्रमहरुमा गीत, श्लोक तथा स्लोगन मार्फत उनीहरुले नेपालीभाषीको एकता र भाइचाराको सम्बन्ध प्रगाढ बनाउन चाहेको सन्देस दिन चाहान्छन्। दार्जिलिङबासीको एउटै भनाई छ–‘हामीलाई नेपालीको सांस्कृतीक पहिचान नै प्यारो लाग्छ, सात समुन्द्र पारी भए पनि आफनै जन्मभूमिमा आएर तिहार मनाउने चलन हामीले अझै कायम राखेका छौं।’ 
 
तिहार नजिकिदै जान थालेपछि दार्जिलिङ, मिरिक, खर्साङ, कालेम्बुङ लगायतका सहरहरुमा रमझम सुरु हुन्छ। रङ्गीविरङ्गी फुल, पटका, मिठाइ मात्र होइन विभिन्न सांस्कृतीक झाँकीहरु पनि देख्न पाइन्छ। नेपाली पोसाकमा देउसी–भैलो खेल्ने क्रम सुरु हुन्छ। तिहारकै लागी भनेर यहाँ विभिन्न सांस्कृतीक कार्यक्रमहरु आयोजना गरिन्छ। नेपालले सन् १७८० मा सिक्किमसँगै आक्रमण गरेर दार्जिलिङलाई अलग्याएपछि दशैं तिहार सांस्कृतीक एकताका रुममा मनाउन थालिएको इतिहाँस छ। त्यसपछि सन् १८१५ को सुगौली सन्धिपछि दार्जिलिङ र सिक्किम नेपालबाट पूर्ण रुपमा अलग भएपछि नेपाली कला, धर्म, संस्कृती र चाडपर्वको प्रभाव अहिलेसम्म जीवन्त राखिएको छ। छोटो शासन अवधिमै जरा गाड्न सफल नेपाली संस्कृतीलाई परिस्कृत रुपमै भएपनि पछ्याउने नेपालीहरु दार्जिलिङमा धेरै छन्। 
 
भारतमा अंग्रेज साम्राज्यको बेला हिन्दुहरुको पहिचान ‘टिका’नष्ट गराउन टीका लगाउन बर्जित गरिएको थियो। यद्यपी यस्तो परम्परालाई तोडेर नेपालीभाषीले दशैं र तिहारमा रातो टीका लगाउने र हिन्दु परम्परा अनुसार चाडपर्व मनाउने प्रचलन यथावत रहेको पाइन्छ। दार्जिलिङमा जुवाको रुपमा ‘डाइस’खेल प्रचलित छ। त्यसवाहेक दर्जनौं स्थानमा ‘दिवाली कप’फुटबल प्रतियोगिताहरु आयोजना हुन्छन् । लक्ष्मीपुजाको सांझ चौरस्थामा भव्य दिपावली हुन्छ। भानुभक्तको सालीक अघिल्तिर विभिन्न सांस्कृतीक कार्यक्रमको आयोजना गरिन्छ। मिरिक र खर्साङमा तिहार विशेष मेला लाग्छ। गुन्यू चोली–दौरा सुरुवाल र ढाका टोपीमा सजिएर देउसी–भैलो खेल्नेहरुको उस्तै भिड देख्न पाइन्छ।  
 
सिक्किममा उस्तै रमझम
नेपालीहरुको वाहुल्यता रहेको सिक्किममा तिहारको बेग्लै रौनक पाइन्छ। बौद्ध धर्मावलम्वी र हिन्दुहरुले तिहारलाई सामुहिक रुपमा मनाउने गर्छन्। यहाँ जातियताको साँघुरो घेराबाट माथि उठेर तिहारमा रमाउने गरिन्छ। आकाशवाणी रेडियोले नेपाली भाषामै प्रत्यक्ष प्रशारण कार्यक्रम घन्टौंसम्म चलाइरहन्छ। नाम्चीस्थित साम्डुप्ची, दरामदिनस्थित सर्वधर्मकेन्द्र, चारधाम लगायतका स्थानमा विभिन्न समारोहरुको आयोजना गरिन्छ। नेपाली पहिचान झल्किने पहिरन लगाएर सांस्कृतीक कार्यक्रमहरुमा सहभागी हुने प्रचलन छ। 
 
गान्तोकमा काग तिहारदेखि रमझम सुरु हुन्छ। गाउँघरमै फुलेका सयपत्री र मखमली फुलको व्यापार फस्टाउँछ। एमजी मार्ग, लालबजार, कञ्चनजंगा सपिङ कम्प्लेक्समा किनमेल गर्नेको भिडभाड हुन्छ। ‘दिवाली कन्सर्ट’ र ‘दिवाली फुटबल’ आयोजना गरिन्छ  नेपालीहरुको एकता र भेटघाट चाहीं चाडपर्वले मात्रै गराउने गरेको यहाँका बासिन्दाको बुझाइ छ। कुनै समय लाप्चा समुदायले राज्य गरेको सिक्किममा बौद्ध र हिन्दु धर्मावलम्वीहरुको संख्या उत्तिनै छ। तर तिहार मनाउन उनीहरु बीच एकता रहेको पाइन्छ।   
 
किनमेलको गन्तव्य
नेपालमा उत्पादन भएको तरकारी दार्जिलिङमा बेचेर तिहार भित्राउने प्रचलन नेपाली गाउँहरुमा अझै कायमै छ। दार्जिलिङसँग सिमाना जोडीएका इलाम, झापा, पाँचथरका गाउँहरुमा उत्पादित तरकारी पारीपट्टि लगेर विक्री गर्ने र तिहारका आवश्यक सामाग्री किनेर ल्याउने चलन छ। चाडबाडको समयमा दार्जिलिङमा पर्यटकहरुका चाप बढ्छ त्यसैले नेपाली तरकारीको मुल्य आकासिन्छ। हुन पनि दार्जिलिङ र सिमावर्ती नेपाली गाउँका बासिन्दाको साइनो दार्जिलिङसँग जोडिएको छ। कसैको माइत नेपाल र ससुराली दार्जिलिङतिर पर्छ। रगतको साइनोले गर्दा चाडपर्वमा थप उत्साह थपिदिन्छ। धेरै नेपालीको किनमेल गर्न र व्यापार गर्ने गन्तव्य दार्जिलिङका बजारहरु नै हुन। तिहारको किनमेलका लागी मिरिक, मानेभञ्ज्याङ, सुकियापोखरी, खरसाङ बजारहरु नेपालीहरुका लागी उचित मानिन्छन्। यस क्षेत्रमा फूलको व्यापार सबैभन्दा उच्च हुने गर्छ। ताजा मिठाइका परिकारको व्यापारले पनि स्थान जमाउँछ। 
 
चाडवाडमा घुमघाम
दार्जिलिङ–सिक्किमको नेपाली संस्कृतीमा रमाउन र रमणीय पर्यटकीय स्थलहरु घुम्न चाडबाडको समयमा यहाँ पर्यटकहरुको भिडभाड लाग्ने गर्छ। तिहार उज्यालो पर्व भएको र घमाइलो मौसम भएकाले पर्यटकहरु दार्जिलिङ घुम्न जान्छन। विशेष गरी तेस्रो मुलुकका पर्यटकहरु दशैं–तिहारका बेलामा यस क्षेत्रमा पर्यटकीय स्थलहरुमा घुम्न निस्कन्छन्। नेपालीहरु पनि यहाँको भाषा संस्कृती बुझ्न र नेपालीभाषीको अवस्था हेर्न दार्जिलिङतिर हानिन्छन् । दार्जिलिङमा मात्र पर्यटक भुलाउने दर्जनौं स्थानहरु छन्। सूर्योदयका लागी टाइगर हिल, तेन्जिङ नोर्गे रक क्लाइमिङ, चिया कमान, बतासे डाँडा, गंगामाया पार्क, रक गार्डेन, म्यूजियम, चौरस्था लगायतका स्थानहरु सबैको रोजाइमा पर्छ। बतासे लुप र म्यूजियममा नेपाली पोशाक लगाएर तस्विर खिचाउनेको उस्तै लाइन लाग्छ। लक्ष्मीपुजाको रात दार्जिलिङमा रातभर पटका पड्काउने र दिपावली गर्ने गरिन्छ। पृथक र मौलीक नेपाली शैलीमा भैलेनी खेल्नेहरुको नृत्य देखेर पर्यटकहरु भुलिने गर्छन। सिक्किमको नाम्ची, चारधाम लगायतका स्थानमा तिहार उस्तै रमझम हुन्छ। गान्तोक बजार तिहारका बेला सात दिनसम्म उज्यालो हुन्छ। जातीयता भन्दा माथि उठेर भाइटिका लगाउने प्रचलन पनि छ। सिक्किम सरकारले चाडबाडका लागी सेवा सुविधाहरुमा थप विस्तार गर्ने गर्छ। रासन र दैनिक उपभोग्य सामाग्रीहरुमा सहुलियत दिने गर्छ। घुमघामका लागि चाडबाडको मौसम उपयुक्त हुने भएकाले तिहारमा सिक्किम–दार्जिलिङ भरपर्दो गन्तव्य बन्न सक्छन्। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ