arrow

लौ सुनौं अब लाईन महात्म्य

logo
राजु श्रेष्ठ,
प्रकाशित २०७२ कार्तिक २७ शुक्रबार
अंग्रजी भाषाको लाईन भन्ने शब्दको नेपाली अर्थ खोज्दै जादा डिस्नेरीहरुमा रेखा, पंक्ति वा पथ जस्ता शब्दले अर्थाएको पाईयो । झट्ट सुन्दा बोलिचालिको भाषामा लाईन भन्नाले सिधा खालको धर्को, रेखा वा डिक भनेर बुझ्ने गरिन्छ । तर अचेल लाईन भन्ने बितिकै कुनै अत्यावश्यक कामका लागि एक पछि अर्को मानिस उभिएर बसेको अवस्था भन्ने बुझाई भएको छ । नेपालीहरुले केही समय पहिले लाईन भन्ने बितिकै बिजुलीको लाईन मात्र सम्झन्थे । तर अचेल नेपालीहरु लाईनमा बस्न बानी परि सकेका छन् । कहि कतै कुनै कामले जादाँ लाईन नबसी कुनै काम भयो भने मानिसहरु त्यो काम त ठिकसँग भएन होला भनेर जान्ने सुन्नेकोमा गएर देखाउन थालेका छन् । चाहिएको बेला नहुने र नचाहिएको बेला जता ततै हुने त्यहि लाईन सन्दर्भमा आज केहि लेख्ने जर्मको गरेकोछु । 
 
लाईनको महिमाः
आज भोली हाम्रो समाजमा लाईन भन्ने शब्द निकै चर्चित भएको छ । घरमा प्रयोग हुने नुन, तेल र चुला सम्मलाई यो लाईन भन्ने शब्दले छोडेको छैन् । कहिले काहि हामीलाई लाईन नभएर धेरै टेन्सन हुन्छ । जस्तो टिभी हेर्न बस्यो केबुलको लाईन हुदैन । लुगा आइरन गर्न लाग्यो बिजुलीको लाईन हुदैन । ईन्टरनेट खोल्न खोज्यो एडीएसएलको लाईन हुदैन । फोन गर्न लाग्यो टेलिफोनको लाईन हुदैन । सधै लाईन हुनु नि जस्तो हुन्छ । लाईन भन्ने शब्द नेपाली राजनीतिमा पनि निकै चर्चित छ । अचेल राजनीतिक कार्यकर्ताहरुलाई तपाई कुन पार्टीको मात्र भनेर सोधेर पुग्दैन त्यसैले कुन लाईनको वा कुन धारको भनेर पनि सोध्ने गरिन थालिएको छ।
 
नेपालीहरुको परिस्थिति अहिले ठ्याक्कै उल्ठो भएको छ, लाईनको कारण । कुनै बेला पहाडमा गाउँभरिमा एउटा धारा हुन्थ्यो सबै गाउँ भरिका महिलाहरु पानी थाप्न गाग्रो, घ्याम्पो, ढुङ्ग्रो र ग्यालेनहरु लिएर पानी थाप्नको लागि आफ्नो पालो पर्खिन लाईनमा बस्थे । कति कपाल तानातान हुन्थ्यो त कतिको कुरा काटाकाट सबै धारा पधेरा मै हुन्थ्यो । अहिले त्यस्ता लाईनहरु नभएका ठाउँहरु बिरलै होलान् । पहिले धारामा लाईन हुन्थ्यो अहिले धारामा पानी पठाई दिने खानेपानी अफिसमा पैसा तिर्ने ठाउँमा लाईन हुन्छ । सानो छदा स्कुल पढ्दा सधै बिहान राष्ट्रगान गाउन र पीटी खेलाउन सरले लाईन मिलाएर बस्न सिकाएको पछि सम्म काम लाग्दोरैछ झै भएको छ अचेल । एक जना एकदमै नजिकका दाईले राती २ बजे मोबाईलमा फोन गरेर साउती मार्दै भन्नु भयो “मास्टर साब ग्याँस आयो ।” आखाँ मिच्दै आधा लुगा लाएर खाली सिलिण्डर लिएर जादाँ त पचास जनाको लाईन । निन्द्रामै भएकोले होला अरु लाईनमा बसेका मानिसहरुले लाईनमा मिलाएर बस्नु भने पछि चै निन्द्रा अलिक खुलेछ । झण्डै १ घण्टा पछि पालो आयो । घर पुग्दा ४ बजी सकेको थियो छिमेकी साथीले “आज त तेल दिदै छ रे जाम, अहिले नै जादा लाईन बस्न पदैन” भने पछि उतै लागियो । त्यहाँ त झन ठूलो लाईन बाइक राखेर मान्छेहरु कार्टुन ओछ्यार सुति लाईनमा बसेका । हामी पनि बसियो लाईनमा । बिहानको ६ बजे पेट्रोल दिन सूरु भयो पालो ८ बजे पनि आएन । लाईन मै बस्ता बस्दै रात भरी जागराम । अनि त्यति लाईन बसेर निन्द्रा खराब गरेर पालो आएर पैसा तिरेर सामान खरिद गर्दा त संसारै जिते जस्तो लागेको । तपाईहरु पनि लाईनमा बसेर पेट्रोल लिनु भयो भने सायद त्यस्तै भयो होला ।
 
कहाँ कहाँ हुन्छ लाईन ?
दशैंको बेला विराटनगरको काली मन्दिरमा दर्शन गर्न त्यहाँ पनि लाईन । जमरा लिन त्यहाँ पनि लाईन । महिलालाई जमरा दिने ठाउँमा चै कम। पुरुषले जमरा लिने ठाउँमा ठूलो लाईन । हुदाँ हुदाँ नानीहरुलाई बेलुन किन्ने ठाउँमा पनि लाईन । अमेरीका जाने डीभी खुलेछ भर्नु पर्‍यो भनेको त्यहाँ पनि लाईन देखेर यस पाली भरिएन । बिजुली बिल तिर्ने त्यहाँ चै लाईन बस्न परेन भनेको टोकन दिएको रैछ लाईन बस्न नपरे पनि पालो कुर्नु पर्ने नदेखिने खाल्को लाईनमा बस्नै पर्ने रैछ । यसपालीको दशैंमा नयाँ नोट लैजाउ न त भनेको राष्ट्र बैंकमा त झनै रेल जत्रो लाईन । अरु बैंकमा पनि लाईन नभएको कतै देखिएन । जिल्ला प्रशासनमा पासपोर्ट बनाउन जादाँ त झन फोटो खिच्ने पसलमा लाईन, नागरिकता रुजु गर्नेमा लाईन, राजश्व बुझाउने ठाउँमा लाईन, ल्याप्चे लाउने र छाप लाउनेमा लाईन यस्तो लाग्यो लाईन नभएको त ठाउँ नै छैन् । हस्पीटलमा उपचारको लागि गयो, त्यहाँ पनि अब लाईनको जात्रा सुरु। पुर्जी काट्ने ठाउँमा लाईन, डाक्टरले जाँच्ने ठाउँमा जानको लागि पुर्जी दिने ठाउँमा लाईन, त्यहाँबाट भित्र छिरे पछि डाक्टारको ढोका सम्म लाईन, डाक्टरको कोठा भित्र पनि लाईन। डाक्टरले पुर्जामा आफ्नो समस्या भन्न नपाई लेखेर बाहिर अर्को कोठामा जानु भन्छ । दिसा, पिसाब, खकार, रगत जाच्नु पर्ने हुदाँ पैसा बुझाउने पर्ने त्यहाँ फेरी लाईन । पैसा बुझाएर चेकअपको लागि नमूना दिने ठाउँमा पनि लाईन त्यसको रिपोर्ट लिन भोली आउनु भन्छन् त्यो दिन त बिरामी लाईन बस्तै ठिक्क । भोली बिहानै गयो फेरी लाईन सूरु । रिपोर्ट लिन लाईन, पाएको रिपार्ट डाक्टरकोमा देखाउन लाईन आधि रोग त लाइनमा बस्ता बस्तै निको हुने । बल्ल डाक्टरले औषधी लेखि दिन्छन्, औषधी पसलमा पनि पो लाईन । अरु ठाउँमा उभिएर मात्र लाईनमा बसेको भए पनि हस्पीटलमा चै कतै उभिएर कतै कुर्सिमा बसि बसि सर्ने, कतै ठेलठाल गर्दै सर्ने लाईन बस्नु पर्दारहेछ । जलविद्युतको शेयर खुलेछ भरुम न त भनेको फारम लिनेमा लाईन बल्ल पालो आयो यो फारम बुझाउने लाईन पो हो भनियो । फारम लिनेमा जादा त फारम नै सकियो भन्छन् । एकजाना नजिकको दिदीसँग दुई वटा रैछ फारम मागेर भरियो फेरी बुझाउने ठाउँमा लाईन कस्तो कडा नियम । लाईन हलिदा पनि पो लाईन बिग्रियो भनेर गार्ड दाई कराउने । टेलिफोनको बिल भुक्तान गर्न पनि लाईन । एडीएसएलको बिल भुक्तान गर्न पनि लाईन । फिलिम हेर्न गईयो भने पनि टिकटकाट्ने ठाउँमा लाईन, टिकट काटियो भित्र प्रवेश गर्ने ठाउँमा लाईन । बाईकको राजश्व बुझाउन यातायात कार्यालयमा गईयो त्यहाँ त झन चार पाँच तिर लाईन दलाली व्यवसायीलाई भाडा तिरेर काम गर्न भन्नु पर्‍यो भनेको त्यहाँ पनि पो लाईन । आन्तरिक राजश्व कार्यालयमा कर बुझाउन त्यहाँ पनि लाईन । यी र यस्ता लाईनमा बस्न अब नेपालीहरु अभ्यस्त भएका कारण यस्ता लाईन कति तिर छन् भनेर वर्णन गर्न १०० मुख गरेका शेष नागलाई पनि गाह्रो हुन अवस्था आयो ।
 
लाईनमा बस्नेको कुराहरुः
“हिजो आउदा त कति थोरै थियो, आज त कति धेरै होउ”भन्नछन् । “हिजो आको मान्छे आज फेरी आए पछि बढ्दैन” भन्दै पछाडीकाहरुले कुरा काट्छन् । कोही कोही चै “दाई मेरो खुट्टा माथी चै नटेकि दिनुस् भन्छन् ।” हेर भित्र चिनेको रैछ, आउने बितिकै काम भयो, हामी दश घण्टा देखि लाईनमा छौ, ऊ चै हेर भित्रै चिया खादै काम सकेर गयो । कहिले सम्म नेपालीको पहुँच लाईन नबसी भित्र बस्ने मान्छे सम्म हुन्छ होला त ? एक जाना भाईले चिया पसलमा पेट्रोलको लाईनमा बस्ता उनले देखेको कुरा सुनाए “दाई पेट्रोल दिएको बेला त पुलिसले मज्जाले पैसा कमाउदो रैछन्,” मैले कसरी भने “पुलिसको ड्रेसमा बाईकमा आए भने लाईन पनि बस्न नपर्ने रैछ, अगाडीबाट आएर हाले २००।– बढी लिएर अरु तिर खनाए, फेरी त्यहि बाईकमा आए। मैले हेर्दा हेर्दा हेर्दै झण्डै ८/१० पटक चै त्यहि बाईक घुमाई रहे दाई”। मैले पनि पेट्रोलको लाईनमा बस्दा पुलिसहरुले चै लाईन नबसी अगाडीबाट गएर लिएको देखे बढी पैसामा बेचेको देखिन भाई भने, अनि लाग्यो यो देशमा पुलिसले चै लाईन नबसी पनि पाउने होला । त्यसो त एक दिन छिमेकी भाउजुले भन्नु भो “बाबु सरकारी हस्पीटलमा त पिउन नै भए पनि, ढोकामा नाम बोलाउने भए पनि चिनेको छ भने त एक पैसा पनि लाग्दैनरे अनि लाईन पनि बस्न पर्दैनरे हो ?”भनेर सोध्नु भो । मलाई के थाहा “यो देशमा जे पनि हुन्छ भाउजु” मात्र भनेर जबाफ दिए । लाईनको कुरा गर्दा कुनै बैंकको रकम जम्मा गर्ने ठाउँमा म लाईनमा उभिई रहेको थिए एक जना निकै ठूलो झोला बोकेका मारवाडीकोमा काम गर्ने जस्ता देखिने व्यक्ति आए ढोकाबाट छिर्ने बित्तिकै जिब्रो टोक्दै भने “राम ! राम ! राम ! कत्रो लाईन?”अनि त्यहाँ भएका सबै लाईनका मान्छेका टाउका गन्दै भने “जुनमा बसे पनि पालो उहि रैछ ।” म बसेको लाईनमा आएर मलाई सोधे “भाई कुन लाईन अलिक छिटो सर्छ ?” मैले आफू बसेको नै छिटो सरेको भने पछि मेरो पछाडी उनी बसे । अनि सूरु भो उनको गनगन । “छ्या ! कति ढिलो सरेको, अगाडीकोलाई ठेलुम्न, भित्रको मान्छे के गर्छ होउ ? हरायो त, होईन हाम्रो लाईनमा अरु मान्छे अगाडी छिर्‍यो कि के हो ? म सगै आएको अर्को लाईनको मान्छे कहाँ अगाडी गइ सक्यो यो भाईले गर्दा, आफूलाई कति हतार छ।” त्यसपछि मैले मुख खोले “दाई अब त तपाईलाई पनि थाहा भो होला नि कुन लाईन छिटो सर्दोरैछ त्यतै जानुस् न त ।” उ छिटो सर्ने लाईन तिर लाग्यो । मेरो पालो आयो उस्को आएकै थिएन म हिँडे त्यहाँबाट । एउटा अफिसमा सेवा ग्राहीहरुको निकै लामो लाईन थियो । एकजना महिला अधिकारकर्मी जस्ती, नेता नेता जस्ती देखिने टाउकोमा ठूला सिसा भएको चस्मा लगाएकी महिला आईन र उफ्रीउफ्री कराउन थालिन “महिला र पुरुषलाई पनि एउटै लाईनमा हुन्छ ? हैन किन यस्तो बिभेद गरेको हामी कहाँ पुरुष जस्तै लाईनमा बस्न सक्छौ ? ” “तपाई भन्दा निकै उमेर भएकी महिलाहरु, ज्येष्ठ नागरिक बुबाहरु त्यही लाईन बसी रहेका छन, तपाई चै किन सक्नु हुन्न ?” भित्रबाट एक जना कर्मचारीले बोले । “यो भएन म माथी हाकिमसँग कुरा गर्छु” भन्दै उनी लागिन माथि हामीको कोठामा कुरा गर्न । उनले चिनेको रैछ क्यार उनको काम भित्र भित्रै भयो । एक दिन बाणिज्य बैंकमा लाईनमा बसेको एक जना हजुबा जस्ता बाले भने “बाबु भन्दा म बुढो मान्छे अघि जान्छु है” भने म पछि सरे हुदै हुदै म त पछाडी तिर पो लाईनमा सरेछु । मैले त्यहाँ ज्येष्ठ नागरिकहरुको लागि चै छुट्टै लाईन बस्ने बनाउनु पर्ने रैछ भने सबैले मैले भनेको एक कानले सुने अर्को कानले उडाई दिए । अचम्म चै सबै तिर लाईनको ताँति देखिए पनि विराटनगरमा ८० दिन पछि गाडी खुल्दा पनि गाडीको लाईन देखिएन । तर काठमाण्डौंमा तीन दिन सवारी साधानलाई तेल दिने भनेको मात्र के थियो मानिसहरु २ दिन अगाडी देखि लाईनमा २ देखि ४ कि.मि. लामो लाईन नभएको कुनै पेट्रोल पम्प नै थिएन रे । अनि अचम्म चै बाईकको लाईनमा बाईक लाई तेर्सो पार्नु पर्ने रे । यस्तै हो लाईन बस्नेहरुको कुरा ।
 
वास्तवमा अचेल नेपालका चिया पसलको गफमा राजनीतिका कुरा, शिक्षा क्षेत्रमा बोर्डिङ स्कुलका कुरा, कृषि क्षेत्रमा रासायनिक मल र विषादीको कुरा र सर्वसाधारणमा ग्याँस, पेट्रोल औषधीको कुरा भएन भने कुनै कुरा गर्न विषय नै हुदैन रे । ए ! नयाँ सरकारका नयाँ अनुहारहरु हो, जनता आजित भै सकेका छन् । त्यसैले जनताले १० नङ्ग्रा खियाएर कमाएको सम्पत्ति खर्च गर्नलाई लाईन बस्न नपर्ने व्यवस्था गरि दिनु पर्‍यो । जनताले तिमीहरुसँग सितैमा सेवा पाउने आश धेरै अघि नै मारिसकेका छन् । त्यसैले अब गरि खाने वातावरण खोजेका हुन् । चेतना भया ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ