arrow

बिहारमा बढारिएपछि बिजेपीलाई अर्को धक्का

logo
प्रकाशित २०७७ पुष १७ शुक्रबार
721045953.jpeg
एकराज पाठक, काठमाडौं। ‘प्रष्ट छ कि बिहारका जनता बढी सजग भएका छन् । उनीहरु लोकसभा र विधान सभाको चुनावलाई अलग अलग दृष्टि र प्राथमिकतामा राख्दछन् । त्यसैले यस पटक उनीहरु केन्द्र सरकारका बाबजुद राज्य सरकारलाई ध्यानदिए । प्रधानमन्त्रीले प्याकेजको घोषणा त गरेका थिए तर उनको दलले नितिश सरकारले भन्दा राम्रो प्रशासन दिनसक्छ भनेर भरोसा जगाउन सकेनन्।’
 
बिहारमा बिधान सभाको निर्वाचन सम्पन्न भएपछि भारतको एक चर्चित दैनिक पत्रिका नवभारत टाइम्सको यसै हप्ताको सम्पादकीय हो यो । उसले बिहारमा भारतीय जनता पार्टी, बिजेपीले हारेपछि उसलाई भारतीय राजनीतिमा अर्काे धक्का लागेको आसय सो सम्पादकीयमा व्यक्त गरेको छ ।
 
उसले सम्पादकीयमा अघि लेख्छ— निर्वाचनको समयमा भारतीय जनता पार्टीले गाई र पाकिस्तानको मामिला जसरी उठायो कि त्यो निर्वाचनको परिणाम आफ्नो हातमा पार्ने दाउ हो भनेर बिहारका जनताले लिनपुगे । यो निर्वाचनको मसला हो र यसको सन्देश यो हो कि बिजेपीलाई बिहारको विकास भन्दा पनि बढी चिन्ता आफ्ना एजेन्डा स्थापित र लागू गर्नुमा छ ।
 
सम्पादकीयको पेटबोलीमा रहेको यो अंशले भन्छ— निर्वाचनका समयमा प्रधानमन्त्री मोदीको अति सक्रियताले बिहारका जनतामा निकै नै सन्देह जगाइदिएको थियो । यो अस्वभाविक सक्रियता बिजेपीको आत्मबलको कमीले हो भन्ने चिसो पनि जनताका मनमा पसेको थियो । यसबाट जनतामा यो धारणा बन्यो कि मोदी केवल चुनावी फाइदाका निम्ति जनतालाई जबर्जस्त ‘कन्भिन्स्’ गर्दैछन् ।
 
बिजेपी र प्रधानमन्त्रीले नै नयाँ कार्यक्रम र बिकल्प दिन सकेन र नत नितिशकुमारका कामकाजप्रति प्रश्न नै उठाउन सके । मोदीले आफ्नो धेरै समय बिहारमा लालु यादवको जङ्गलराजको संज्ञा दिएर त्यसको विरोध गर्नमै समय बिताए । अब त्यसको कुनैपनि अर्थ थिएन । किनभने बिहारमा जनताले नितिशको भरपर्दाे नेतृत्व भोगिसकेका थिए र अहिले पनि गठबन्धनले उनलाई नै मुख्यमन्त्रीका रुपमा अघि सारेको थियो । बरु बिजेपीले अघि सारेको व्यक्तिप्रति उनीहरुको विश्वास थिएन किनभने नितिश कुमारका अघि उनी फिका थिए— सो निर्वाचनलाई केन्द्रित गरी उक्त पत्रिकाले सम्पादीयमा लेखेको छ ।
 
 
भारतको बिहारमा हालैसम्पन्न बिधान सभाको निर्वाचनमा भारतको प्रमुख सत्तारुढ दल भारतीय जनता पार्टी, बिजेपीले व्यहोरेको दोस्रो पटकको धक्का हो यो । यसअघि बिजेपीले गत करिब वर्षदिनअघि अर्थात यसै बर्षको जनवरी महिनामा नयाँ दिल्ली राज्यमा पनि यस्तै अप्रत्यासित परिणाम ब्यहोर्नुपरेको थियो । त्यो यो भन्दा पनि अझै अकल्पनीय थियो र यो पनि त्यसको निकटमै आइदिएको छ । सो निर्वाचनमा भारतीय जनता पार्टीले जम्मा ५८ स्थान हात पारेको छ । जबकि नितिश कुमारको नेतृत्वको गठबन्धनले १७८ स्थानमा विजय हासिल गरेको हो । त्यहाँ २४३ स्थानका लागि निर्वाचन भएको थियो ।
 
भारतीय काँग्रेसको दुई कार्यकाल निरन्तरको शासनपछि करिब डेढवर्षअघि सत्तामा उदाएको भारतीय जनता पार्टीले त्यसपछिका यी क्षेत्रीय निर्वाचनहरुमा भने निरन्तर नै यस्ता पराजयहरु भेग्दै आएको छ । गत जनवरीमा भएको नयाँ दिल्लीको सो निर्वाचनमा प्रधानमन्त्री मोदीले आमआदमी पार्टीका नेता अरबिन्द केजरीवाललाई जङ्गलीको संज्ञा दिएका थिए । उनले सो समयमा पनि उनलाई शासनमा बस्ने व्यवहार उनको नभएको आरोप लगाउदै बरु नक्सलाईटसँग एकता गरी जङ्गलमा जान चेतावनी दिएका थिए। 
 
अहिले पनि भारतीय प्रधानमन्त्रीको आक्रोस बिहारका पूर्व मुख्यमन्त्री लालु यादवप्रति त्यो भन्दा कम थिएन । उनले बिहारमा गर्ने भाषणहरुमा बारम्बार लालुलाई जङ्गलराजको नाइके भन्ने गरेका थिए । यस पटक उनी बिगतका निर्वाचनहरुका तुलनामा बढी मात्रामा नै बिहारमा धाएका थिए । मोदीले बिहारमा ३० वटा निर्वाचन सभाहरु र बैठकलाई सम्बोधन गरेका थिए । उनका विश्वासपात्र अमित साहले पनि ७२ वटा सभा र बैठकलाई सम्बोधन गरेका थिए । र यसलाई बिहारका नागरिकले बढी अस्वाभाविक पनि भनेका छन्।
 
हुनत बिजेपीले बिहारमा युवा बर्गका लागि राम्रो रोजगारीका अवसरका साथै अन्य आर्थिक तथा बिकासको प्याकेजको पनि कुरा नउठाएका होइनन् । तर पनि यी सबै आस्वासनलाई बिहारका नागरिकले मोदीका चुनावी नाराका रुपमा मात्र बुझे । यसअघि पनि समग्र भारतकै बिकासका लागि मोदीले गत आमनिर्वाचनमा गरेका प्रतिबद्धताहरुको सुरुवात नै नभएकोले यसलाई पनि चुनावी रणनीतिकै रुपमा उनीहरुले बुझेको अवस्था यस निर्वाचन परिणामले नै देखाएको छ ।
 
प्राय निर्वाचनको मौसममै रहने भारतमा यतिखेर पनि बिहारको निर्वाचनको व्यापक चर्चा छ । बिहारका नेताहरु नितिशकुमार र लालु यादवले नेतृत्व गरेको गठबन्धनले दुई तिहाई नै बहुमत ल्याई मोदीको दललाई धुलो चटाइदिएपछि यो निर्वाचनको चर्चा भारतभर व्यापक बन्दैछ । साथै यसलाई भारतमा मोदीको घटदो लोकप्रियताको पछिल्लो उदाहरणका रुपमा पनि बहसमा ल्याइएको देखिन्छ ।
 
यतिमात्र नभएर उनका प्रतिबद्धता र भाषणहरुलाई नै पछिल्लो समयमा आम भारतीय नागरिकले आशंकाको रुपमा लिन थालेको विभिन्न सञ्चारमाध्यमहरुको विश्लेषण छ । अबका दिनमा पनि प्रधानमन्त्री मोदीको नाम अघि सारेर भारतमा भारतीय जनता पार्टीले कुनैपनि निर्वाचन जित्न सक्दैन भन्ने धारणा उनका दलले पनि बनाएको देखिन्छ । भारतीय राजनीतिमा राजधानी नयाँ दिल्ली तथा ठूलो र धेरै जनसंख्या भएको बिहारलाई महत्वपूर्ण राज्यका रुपमा लिइन्छ । यी दुवै राज्यमा मोदीकै अतिवादका कारण निर्वाचन हार्नुपरेको चर्चा पार्टीभित्र पनि सुरु भएको विभिन्न सञ्चारमाध्यमहरुमा देखिन्छ ।
 
उनले गुजरातमा गरेको बिकासलाई देखाएर यसअघिको आमनिर्वाचनमा मत तान्न सकेको भएपनि उनी सत्तामा उक्लिएपछि भने निरन्तर रुपमा अलोकप्रिय बन्दै गएका यतिखेरका भारतीय विश्लेषणहरुमा आउने गरेको छ । खासगरी जातीय र धार्मिक मुद्दालाई बढी चर्काएको, किसानलाई चिढाएको, गरिबी तथा व्याप्त भ्रष्टाचार रोक्न कुनै प्रभावकारी पहलकदमी चाल्न नसकेको, चुनावका बेला सार्वजनिक गरेका प्रतिबद्धताहरुको कार्यान्वयनमा कुनै काम नथालेको, छिमेकी देशहरुसँग मैत्रीपूर्ण व्यबहार गर्न नसकेकोजस्ता कैयौँ कमी कमजोरीहरुका बारेमा पछिल्लो समयमा उनीबिरुद्ध भारतीय छापाहरुमा व्यापक समाचारहरु आएका छन्। 
 
अर्कातार्फ आमनिर्वाचनबाट थला परेको काँग्रेस आफै तङ्ग्रिन नसक्नुले पनि बिहारमा स्थानीय दलहरुकै बर्चस्व कायम हुन पुगेको देखिन्छ । त्यसो त विश्लेषकहरु बढी दोष भाजपा र मोदीकै देख्छन् । धार्मिक र जातीय नारालाई अत्यधिक मात्रामा उठाउने र सत्तामा पुगेका मन्त्रीहरुले अल्पसंख्यक तथा गैर हिन्दूहरुलाई होच्याएर अभिव्यक्ति दिने गर्नुलाई उनीहरु मुख्य कारक ठान्ने गर्दछन् । बिहारकै निर्वाचनको प्रचारका क्रममा केन्द्रीय मन्त्री भिके सिंहले बिहारका दुई स्थानीय नेतालाई कुकुरको संज्ञा दिँदै कुकुरलाई बाटोमा कसैले ढुंगाले हान्छ भने त्यसको जिम्मेवारी सरकारले लिन सक्दैन भनेर बोलेका थिए । उनको सो अभिव्यक्तिको व्यापक आलोचना पनि भएको थियो ।
 
भारतमा राष्ट्रिय काँग्रेसले लगातार दश वर्षसम्म शासन गरेको थियो । त्यस समयमा देशमा भ्रष्टाचार अधिक मात्रामा मौलाएको थियो । त्यसैले गर्दा पनि लामो समयको शासकपछि जनताले अर्को दललाई नयाँ अनुहारका रुपमा विकल्प बनाए । सोही बिकल्पका रुपमा आम निर्वाचनपछि मोदी उदाएका हुन् । त्यति नै बेला उनले कैयौँ प्रतिबद्धताहरु पनि अघिसारे र बिकल्पको खोजीमा रहेका जनताले पत्याए ।
 
तर अहिलेको अवस्था अब त्यस्तो रहेन । उनी सत्तामा पुग्नासाथै जनताको माग र आवश्यकताभन्दा पनि आफ्नो दलगत एजेन्डामा नै बढी केन्द्रित हुनपुगे । आफूले निर्वाचनमा गरेका प्रतिबद्धताहरुको कार्यान्वयन भन्दा पनि उनले धार्मिक र जातीय मुद्दालाई प्राथमिकतामा राख्नथाले । सचेत भारतीय नागरिकले यो चाल पाएपछि नयाँ दिल्लीको विधान सभाको निर्वाचनबाटै मोदी बिरुद्ध खनिन थालेका हुन् ।
 
राजधानीका सचेत र शिक्षित नागरिक नै प्रधानमन्त्रीलाई यो लाजमर्दो रुपमा पराजय गर्नेगरी किन जाइलागे भन्ने चासो र चर्चाले भारतमा निकै स्थान पाउन थाल्यो । र त्यसको पछिल्लो परिणामका रुपमा बिहारको यो निर्वाचन देखिएको छ । प्रधानमन्त्री मोदीको प्रतिदिन घट्दो लोकप्रियतालाई यो निर्वाचनले पनि राम्रैसँग पुष्टि गरिदिएको छ।
 
यसले अबका अरु निर्वाचनहरुमा पनि मोदी र उनको दलको पराजयलाई अहिले नै अनुमान लगाउन सजिलो बनाइदिएको छ । यसमा झन प्रमुख प्रतिपक्षी दल विस्तारै तङ्ग्रिने र उसको विकल्पका रुपमा उभिनसक्ने अवस्थामा आइदियो भने त त्यसले मोदीको हारको यात्रालाई अझ सहज बनाइदिन पनि सक्छ । रासस÷विभिन्न एजेन्सीहरुको सहयोगमा 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ