arrow

तेल तस्करीमा भारतीय सक्रिय

logo
प्रकाशित २०७६ वैशाख २५ बुधबार
काठमाडौं । सीमावर्ती भारतीय बजार नक्सलबाडीका २८ वर्षे दीपचन्द्र दास 'वारिपारि कारोबार' का स्थानीय 'डन' हुन् । नागरिक दैनिकमा राजु अधिकारी लेख्छन्–भारतीय सामान अवैध रूपमा नेपाल भित्र्याउने, नेपाली सामान त्यसै गरी भारत लैजाने उनको धन्दा हो । 'बोर्डरमा बसेर यत्ति पनि नगरे के खाने ?' उनी सजिलै भन्छन्, 'जता कमाइ उतै धन्दा चलाउने हो ।'
 
तर, जब उनको देशको सरकारले नेपाली संविधानप्रति असन्तोष जनाउँदै नाकाबन्दी लगायो, उनले पुराना कारोबार थाती राखेर तेलधन्दा सुरु गरेका छन्, जसबाट उनको कमाइ दोब्बरभन्दा बढी छ । उनले एक दर्जनभन्दा धेरै साथी परिचालन गरेर बाइकमा नेपालतिर पेट्रोल ओसारिरहेका छन् । नेपाली बजारमा ल्याएर महँगो मूल्यमा बेच्न पल्किएको उनको समूह यस्तो कारोबार चलाउने एक्लो छैन । नाकाबन्दीपछि नाकाहरूमा यस्ता धेरै समूह–व्यक्ति छन्, जसले तेलको कालोबजारी चलाएका छन् । झापाका नाकामा यस्ता अधिकांश कारोबारी भारतीय छन् ।
 
सरकारले नेपालमा नाकाबन्दी गरेको मौका छोपेर भारतको सीमावर्ती क्षेत्रका नागरिक पेट्रोलियम पदार्थको कालोबजारीमा लिप्त भएका छन् । भारत सरकारले इन्धनमा अंकुश लगाएपछि नेपालसँगको सीमावर्ती भारतीय इलाकाका नागरिक कालोबजारीमा व्यस्त भएका हुन् । पेट्रोलियम पदार्थ बोकेका भारतीय नागरिक नेपाली प्रहरी–प्रशासनको आँखा छल्दै दिनमा ५–६ पटक पेट्रोलियम पदार्थ ओसार्छन् । र, महँगो मूल्यमा बेचेर कमाइधन्दा चलाइरहेका छन् ।
 
कालोबजारियाका लागि नाकाबन्दीले सिर्जना गरेको नेपाली संकट कमाउने अवसर बनेको छ । सारा प्रक्रिया पूरा गरेर नेपाल आउन ठिक्क परेका मालबाहक साधन रोक्ने भारतीय सुरक्षाकर्मीले यस्ता कालोबजारीलाई भने कुनै अवरोध गर्दैनन् ।
 
नेपालसँगको सीमावर्ती भारतीय बजार पानीट्यांकीबाट नेपालमा इन्धन ल्याएर कालोबजारी गर्न दैनिक १ हजारभन्दा धेरै साइकल, मोटरसाइकल तथा ठूला सवारीसाधनको प्रयोग भइरहेको छ । आँखै अगाडि कालोबजारी हुँदा पनि नेपाली प्रशासन मूकदर्शक हुन बाध्य छ । 'बजारमा इन्धन पाइँदैन, रोकेर पनि के गर्ने ?' काँकडभिट्टास्थित भन्सार ढाटको सुरक्षा चेकपोस्टमा खटिएका एक प्रहरी अधिकृतले भने, 'जनताको बाध्यता हामीले पनि बुझ्नुपर्छ ।'
 
उनका अनुसार भारतीय नागरिकको ठूलो झुन्ड दिनरात नभनी पेट्रोलियम पदार्थको तस्करीमा संलग्न छ । उनीहरूलाई नियन्त्रण गर्दा बजारमा अझै ठूलो संकट हुने त्रासले पनि प्रशासनले इन्धनको कालोबजारी नियन्त्रण गर्नबाट पछि हटेको सरकारी अधिकारीहरूको स्वीकारोक्ति छ ।
 
अरू त अरू, सुपारीको ओसारपसार र निर्माण मजदुरका रूपमा काम गर्न नेपाल आउने भारतीय नागरिक पेट्रोल र डिजेल बोकेर भित्रिने गरेका छन् । '१० लिटर लाँदा ५ सयसम्म फाइदा हुन्छ, कसले गरोस् इँटा बोक्ने काम ?' नेपाल–भारतको सीमा मेची पुलमा डिजेलको जर्किनसहित भेटिएकी तापसी राजवंशीले भनिन्, 'विर्तामोडसम्म पु¥याउँदा पेट्रोललाई जति मागे पनि दिन्छन् ।'
 
नक्सलबारीकी ४८ वर्षीया राजवंशीले १ हजार लिटर डिजेलको ठेक्का नै लिएकी छन् । उनका अनुसार काँकडभिट्टाका एक बस व्यवसायीले डिजेलको ठेक्का दिएका हुन् । राजवंशीसहित १० जनाभन्दा धेरैले दिनमा ५–६ पटक डिजेल ओसारपसार गर्छन् । उनको टिमले एकपटकमा कम्तीमा ५ सय नेपाली रुपैयाँ पाउने उनले बताएकी छिन् । कालो बजारीमा संलग्न भारतीय नागरिकले नेपाली व्यापारीलाई प्रतिलिटर ४० रुपैयाँभन्दा माथि नाफा राखेर सुम्पिने गरेका छन् । नेपाली व्यापारीले यातायात व्यवसायीलाई अझै महँगो मूल्यमा बिक्री गर्ने गरेका छन् ।
 
तिहारमा रोटी पकाउँदा–पकाउँदै तेल सकिएपछि नजिकैको किराना पसल पुगेर तेल मागेकी मेचीनगर–११ की राधिका केसी त्यतिबेला छक्क परिन् जब पसलेले डिजेल कि पेट्रोल भनेर प्रश्न गरे । 'तेल दिनुस् न साहुजी भन्दा दोकानेले डिजेल कि पेट्रोल भने,' केसीले सुनाइन्, 'म त छक्क परेँ अनि खानेतेल किनेर फर्किएँ ।'
 
झापा, मेचीनगर क्षेत्रका भट्टीदेखि किराना पसलसम्म अहिले पेट्रोल र डिजेलको कारोबार भइरहेको छ । केसीका अनुसार अहिले घरघरमा पेट्रोल र डिजेलको भण्डारण गरिएको छ । केसीले पेट्रोल र डिजेल जस्ता अति प्रज्वलनशील पदार्थ खुलेआम बिक्री भइरहँदा प्रशासनिक निकायले देखेको नदेखेकै गरेको बताइन् । भारतको सीमावर्ती बजारमा ८०–८२ रुपैयाँमा पाइने डिजेल कालोबजारी गर्ने भारतीय नागरिकले १ सय ४० रुपैयाँसम्म बिक्री गरिरहेका छन् । त्यस्तै कालोबजारीको पेट्रोल १ सय ८० देखि २ सय १० रुपैयाँसम्म बिक्री भइरहेको छ । जबकि, नेपाली बजारमा यसको मूल्य प्रतिलिटर १ सय ४ रुपैयाँ छ ।
 
भारतीय नागरिकको कालोबजारीलाई प्रशासनिक निकायको अनदेखाले प्रश्रय दिइरहेको सर्वसाधारणको आरोप छ । अर्काेतर्फ यातायात व्यवसायीले पनि जोखिमलाई थप मलजल गरेको आरोप लगाउँछन् आमनागरिक । 'यात्रु ओसार्न प्रयोग गरिने बसमा टन्नै पेट्रोल हालिएको छ जानै डरलाग्दो !' काँकडभिट्टा बसपार्कमा काठमाडौं जाने तयारीमा रहेकी गीता श्रेष्ठले भनिन् ।
 
यसरी हुन्छ कालोबजारी
 
भारतीय नागरिकका लागि भारतीय पेट्रोल पम्पहरूमा सहजै इन्धन उपलब्ध हुन्छ, चाहे त्यो सवारी साधनमा होस् या जर्किनमा । नाकाबन्दीअघिसम्म नेपाली बजारमा असहज हुँदा नेपाली उपभोक्ता पनि भारतीय पम्पमै गएर इन्धन भर्थे । तर, जब नाकाबन्दी सुरु भएको साता नाघ्यो, भारतीय सुरक्षाकर्मीले नेपाली साधनलाई तेल नदिन पम्पहरूमा उर्दी ग¥यो । तर, भारतीय नागरिकलाई जति पनि तेल बोकेर नेपाल पस्ने छुट उताको सुरक्षाकर्मीले दिइरहेको छ ।
 
आफ्नो देशको सुरक्षा निकायले परोक्ष रूपमा यसरी प्रोत्साहित गरेपछि भारतीय नागरिक आफ्नो बाइकमा तेल भरेर ल्याउने अनि मेची पुल वा काँकडभिट्टामा खन्याएर कारोबार चलाउने गरिरहेका छन् । यसरी कारोबार चलाउनेहरू सयौं छन् । उनीहरूले तेल उच्च मूल्यमा बेच्न नेपाल ल्याउने गरेका छन् । 'बिहानचाहिँ एसएसबीले अलि कडाइ गर्छ, दिउँसो र बेलुका सजिलै लान सकिन्छ,' कारोबारीहरू भन्छन्, 'कमाउने बेला यही हो, जसरी पनि छिराउनै पर्छ ।'
 
आफ्नो सरकारले नेपालमाथि लादेको नाकाबन्दीलाई सीमावर्ती भारतीय क्षेत्रका बासिन्दाले कमाउने अवसरमा परिणत गरेका छन् । आफ्नो बाइकमा तेल भरेर ल्याउने अनि नेपाली भूभागमा झन्डै दोब्बर मूल्यमा बेचेर उनीहरूले कमाइधन्दा चलाइरहेका छन् ।
 
मेची भन्सार कार्यालयमा नेपाल प्रवेश गर्नका लागि सुविधा (पर्मिट) लिने भारतीय मोटरसाइकलको संख्या नाकाबन्दीपछि ह्वात्तै बढेको छ । सुविधा लिनका लागि कुनै दस्तुर बुझाउनुपर्दैन । सुविधा लिने मोटरसाइकलले अहिले भन्सार परिसर बिहानैदेखि भरिने गरेको छ ।
 
अधिकांश मोटरसाइकलले भारतका पम्पबाट पेट्रोल लिई भन्सारको सुविधा लिएर नजिकैको काँकडभिट्टा बजारमा ल्याएर बिक्री गर्ने गरेका छन् । भारतका पेट्रोल पम्पबाट प्रतिलिटर भारतीय ८१ रुपैयाँका दरले खरिद गरेर नेपाल ल्याई प्रतिलिटर नेपाली १ सय ८० देखि २ सय रुपैयाँसम्ममा बिक्री गर्ने गरेका छन् । यतिखेर यो धन्दामा धेरैको आकर्षण बढेको छ । दिनमा एक जनाले दर्जनौं पटकसम्म भारतबाट तेल ल्याएर काँकडभिट्टाका चोक–चोकमा बिक्री गर्ने गरेका छन् ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ