arrow

थाइल्याण्डको 'नेपाल फेस्टिवल' दश लाखभन्दा बढीले अवलोकन

logo
प्रकाशित २०७३ वैशाख १७ शुक्रबार
Nepal_Festival.jpg.jpeg
बैंकक। थाइल्याण्डको राजधानी बैंककमा यसै हप्ता आयोजना गरिएको नेपाल फेस्टिवल दश लाखभन्दा बढी नागरिकले अवलोकन गरेका छन् । 
 
नेपालमा गतवर्ष गएको भूकम्पबाट भएको क्षतिको स्मरण र सहयोगस्वरुप उक्त फेस्टिवलको आयोजना गरिएको हो । 
 
गैरआवासीय नेपाली सङ्घ थाइल्याण्ड र थाइल्याण्डस्थित नेपाली दूतावासद्वारा आयोजित सो प्रदर्शनीमा भूकम्पले पुगेको क्षति, त्यसमा नेपाल सरकारलाई विश्वका विभिन्न देशले उपलब्ध गराएको सहयोगका साथै थाइल्याण्डमा रहेका नेपालीका साथै थाई सरकारको सहयोगका विषयमा पनि स्टलहरु राखिएका थिए । 
 
राजधानी बैंककमा आयोजित सो फेस्टिवलको नाम नेपाल अर्थक्वेक मेमोरियल (नेपालको भूकम्पको सस्ंमरण) राखिएको थियो । 
 
उक्त फेस्टिवलको समापन यही अप्रिल २५ मा भएको थियो । समापनका अवसरमा थाइल्याण्डका विदेशमन्त्री दन प्रामुदाविनी उपस्थित हुनुभएको थियो । 
 
सो कार्यक्रमको उद्घाटनका क्रममा पनि थाइल्याण्डका उच्चपदस्थ सरकारी अधिकारीका साथै राजपरिवारका सदस्यको सहभागिता रहेको थियो । 
 
समापनका अवसरमा आयोजित कार्यक्रममा बोल्दै विदेशमन्त्री प्रामुदाविनीले सो भूकम्पपछि थाई सरकारले नेपाली नागरिकको पक्षमा रही ठूलो सद्भाव व्यक्त गरेको बताउनुभयो । 
 
उहाँले अब त्यस्तो दिन नेपाली एवम् यो पृथ्वीका कुनै पनि देशका नागरिकका बीच कहिल्यै नआओस् भनी कामना गर्नुभयो । 
 
यस फेस्टिवल अपेक्षाकृत सफल भएको थाइल्याण्डको गैरआवासीय नेपाली सङ्घका अध्यक्ष खगेन्द्रराज ढकालले जानकारी दिनुभयो । उहाँले यस फेस्टिवलका कारण नेपालका भूकम्पपीडित जनताको पक्षमा ठूलो सद्भाव एवम् नैतिक समर्थन प्राप्त भएको जानकारी दिनुभयो । 
 
उक्त कार्यक्रममा थाई कलाकारहरुले प्रस्तुती गरेका थिए भने नेपालको सुरसुधा ब्याण्डले पनि आफ्नो सांगीतिक प्रस्तुती देखाएको थियो । रासस-एजेन्सीहरु 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ