arrow

चुरे जोगाउन एकिकृत कार्ययोजना निर्माण

logo
गोपाल पोखरेल,
प्रकाशित २०७३ वैशाख २७ सोमबार
chure.jpg.jpeg
उदयपुर। चुरे वन क्षेत्र संरक्षणका लागि उदयपुर, सिरहा र सप्तरी जिल्लामा रहेका जिल्ला वन कार्यालयले एकिकृत कार्य योजना निर्माण गरेका छन्। चुरे क्षेत्रको वन, बन्यजन्तु र जैविक बिबिधताको संरक्षण गर्न तीन ओटै जिल्ला वन कार्यालयको उत्तिकै महत्वपूर्ण भूमिका आवश्यक रहेको ठहर गर्दै क्षेत्रीय वन निर्देशनालयको सहजिकरण र जिल्ला वन कार्यालय उदयपुरका प्रमुख ( सहसचिव ) धनन्जय पौडेलको अगुवाईमा एकिकृत योजना निर्माण गरिएको हो।
 
एकिकृत कार्य योजनामा चोरी तथा वन अतिक्रमण नियन्त्रण, बृक्षारोपण, जीविकोपार्जनका लागि बैकल्पिक कार्यक्रम र सामाजिक सशक्तिकरणलाई प्राथमिकतामा राखिएको छ। सिरहा, सप्तरी र उदयपुरको चुरे क्षेत्रमा चालु आ ब मा करीव २० लाख बिरुवा रोप्ने लक्ष्य राखिएको पौडेलले जानकारी दिए।
 
उनका अनुसार चुरे संरक्षण कार्यलाई समन्वयात्मक ढंगबाट अगाडि बढाउन उदयपुरका बन अधिकृत जागेश्वर साहको संयोजकत्वमा डेस्क खडा गरिएको छ। साहको टोलीले क्षेत्रीय वनसँग समन्वय गर्दै सिरहा, सप्तरी र उदयपुरको चुरे क्षेत्र संरक्षणका लागि आबश्यक योजना निर्माण र कार्यान्वयन गर्छ।
 
“दश गजा उत्तर तर्फको क्षेत्रमा प्राथमिकताका साथ बिरुवा रोप्ने योजना निर्माण भएको छ” उदयपुरका वन प्रमुख धनन्जय पौडेलले भने, “सिरहा र सप्तरीमा वन क्षेत्र कम रहेकाले नीजी सार्वजनिक जग्गामा समेत बृक्षारोपण गर्न जरुरी ठानेका छौं।” वन अतिक्रमणलाई रोक्न उदयपुरको आपूर्ति समितिबाट बितरण हुने काठ सिरहा र सप्तरीका सर्वसाधारणलाई समेत दिने तयारी गरिएको जानकारी उनले दिए।
 
चुरे क्षेत्रको संरक्षणका लागि अल्पकालीन र दीर्घकालीन कार्यक्रम संचालन नगरे वन तथा वातावरणमा संकट निम्तिने बताउँदै उनले भने,“ तराई क्षेत्रमा भूमिगत पानी सुकेर गएको छ, जंगली जनावरहरुको अस्तित्व संकटमा छ।”  २ लाख ६ हजार ३ सय हेक्टर उदयपुर जिल्लाको कुल क्षेत्रफल मध्ये १ लाख २६ हजार ८ सय हेक्टर जमिन चुरे क्षेत्रमा रहेको जिल्ला वन कार्यालयको तथ्यांकमा उल्लेख छ।
 
क्षेत्रीय वन निर्देशक मनबहादुर खड्काको समन्वयमा तीन ओटै जिल्लाका वन अधिकारी र सरोकारवाला निकायको उपस्थितिमा एकिकृत कार्य योजना तयार गरिएकाले कार्यान्वयन गर्न सहज हुने सिरहाका वन अधिकृत सिलानाथ झा ले बताए। “अतिक्रमण र चोरी नियन्त्रण गर्दै बृक्षारोपण गर्ने र उपभोक्तालाई जागरुक बनाउने हाम्रो योजना छ”
 
उनले भने,“सिरहा र सप्तरी जिल्लामा वन क्षेत्र कम रहेकाले नीजी तथा सार्वजनिक जग्गामा बृक्षारोपण गर्ने कार्यलाई समेत प्राथमिकतामा राखेका छौं।” “जिविकोपार्जनको बैकल्पिक कार्यक्रम संचालन गरी दाउराको नियमन गर्ने हाम्रो लक्ष्य छ” सप्तरीका वन अधिकृत धिरेन्द्रकुमार सिंह भन्छन्,“ दाउरा संकलनका लागि डिपोको व्यवस्था गर्ने र त्यहीँबाट वितरण गर्ने तयारी गरेका छौं।” 
 
उदयपुरमा मात्रै करीव ६ हजार हेक्टर चुरे वन क्षेत्र अतिक्रमणमा परेको छ। वन क्षेत्रका कतिपय स्थान सुकुम्बासीकै बसोबास भएपनि कतिपय ठाउँ भने हुने खानेहरुबाटै अतिक्रमण भइरहेको छ। यस बिषयलाई राष्ट्रिय प्राथमिकतामा राखेर राजनैतिक प्रतिबद्धताका साथ अतिक्रमणकारीको बास्ताविक पहिचान गर्न जरुरी रहेको उदयपुरका वन अधिकृत पौडेल बताउँछन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ