arrow

साहित्यको विधागत सङ्ग्रह प्रकाशन हुने

logo
प्रकाशित २०७३ वैशाख ३१ शुक्रबार
sahitya.jpg.jpeg
काठमाडौँ । प्रगतिशील लेखक सङ्घले नेपाली प्रगतिशील साहित्यको विधागत सङ्ग्रह प्रकाशन गर्ने भएको छ । सङ्घको कार्यालय बागबजारमा आज सम्पन्न केन्द्रीय सचिवालय बैठकले सो विधागत सङ्ग्रह प्रकाशनका लागि विस्तृत अवधारणा तयार गरी विज्ञको टोलीलाई जिम्मा दिने निर्णय गरेको हो । 
 
अध्यक्ष मातृका पोखरेलको अध्यक्षतामा बसेको बैठकले निवर्तमान अध्यक्ष डा अमर गिरी संयोजक र निवर्तमान महासचिव मित्रलाल पङ्ज्ञानी सचिव रहेको ३० सदस्यीय सल्लाहकार परिषद् गठन पनि गरेको छ । परिषद्मा पूर्वअध्यक्ष श्यामप्रसाद शर्मा, आनन्ददेव भट्ट र निनु चापागाईंका साथै साहित्यकार प्रदीप ज्ञवाली, हरिगोविन्द लुइँटेल, डा ईश्वरचन्द्र ज्ञवाली, डा विजय सुब्बा, कुन्ता शर्मा, जीवन शर्मा, हेमनाथ पौडेल, पूर्ण वैद्य लगायत छन् । 
 
सङ्घका महासचिव आरएम डङ्गोलका अनुसार बैठकले अध्यक्ष पोखरेल, वरिष्ठ उपाध्यक्ष राजबहादुर कुँवर, उपाध्यक्ष खेम थपलिया र रामप्रकाश पुरी तथा महासचिव डङ्गोल रहेको कार्यालय गठन गरेको छ । 
 
कार्यालयले सचिवालयमा प्रस्तुत विभागको सङ्ख्या र तिनलाई पूर्णता दिने अख्तियारी पाएको छ । प्रस्तावित विभागमा प्रचारप्रसार, बालसाहित्य, अन्तर्राष्ट्रिय, अनुवाद, आर्थिक, महिला, सम्पादन तथा प्रकाशन, मातृभाषा, संस्कृति लगायत छन् । 
 
बैठकले सांस्कृतिक भ्रमण आयोजना गर्ने, जिल्ला शाखा विस्तार गर्ने, एक वर्षभित्र प्रदेशस्तरीय सम्मेलन गर्ने, प्रगतिशील साहित्यिक इतिहास लेखनलाई तीव्रता दिने, पूर्वउपाध्यक्ष रामप्रसाद शर्मा प्रदीपको स्मृतिमा कार्यक्रम गर्ने, पुरस्कारका लागि अक्षय कोष खडा गर्ने लगायत योजना अघि सारेको छ । सबै वाम लेखकका घटकको प्रतिनिधित्व रहेको सङ्घको गत चैत २८ मा १०औँ राष्ट्रिय सम्मेलनले नयाँ नेतृत्व चयन गरेको थियो । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ