arrow

कतार डायरी : जीवन मरणको दोसाँधमा परिवारको खुसी खोज्दै प्रचण्डले विर्सिएका जगतबहादुर

महिनाभरि कमाएको पैंसा आफ्नै औषधिमा सकिन्छ

logo
प्रकाशित २०७३ जेठ १२ बुधबार
news-katar.jpg.jpeg
दोहा । माओवादी सशस्त्र युद्धले विश्राम पाएको एक दशक वित्न लाग्दा समेत शान्ति प्रक्रियाले तार्किक रुप पाएको छैन । शान्ति प्रक्रिया त टुंगिएन नै विभेदपूर्ण शासन व्यवस्था विरुद्ध लडेका तत्कालिन विद्रोही पार्टीका योद्धाहरुको न्यूनतम खुसी समेत फर्किन सकेन । जनविद्रोहको कार्यदिशा पूरा नभई शान्ति प्रक्रियामा आएको तत्कालिन विद्रोही माओवादीको एक दशक वर्ष टुक्रिने र जोडिने खेलमै वित्यो ।
 
पार्टीको एक शक्ति शान्ति र संविधानको नाममा संसदवादी कार्यदिशामा आएपछि पार्टीभित्र विभाजन सुरु भयो । माओवदी फुट्यो माओवादी फुटेसंगै कार्यकर्ता तथा युद्धमा लडेका लडाकुहरुको मन समेत भाँचियो । भाग्य फुट्यो । जनविद्रोहको कार्यदिशा पुरा गर्ने र विर्सने पक्षबीचको जुहारीमै एक दशक वित्यो । पार्टीभित्र अनेकन लोभ प्रलोभ भएका व्यक्ति प्रवेशले पार्टी संस्थापन पक्ष संघर्ष गर्ने घाइते कार्यकर्ता र शहीद परिवारलाई विर्सदै गयो । उनीहरुको दैनिकी कष्टकर हुँदै गयो । फर्जि लडाकुका नाममा पार्टीभित्रै चरम घोटाला भएको र शहिद बेपत्ता परिवारको रकम समेत हिनामिना भएको रहस्योद्घाटन समेत भयो । 
 
यी विभिन्न वितृष्णाले कयौं कार्यकर्ताहरु जीवन गुजाराका लागि अरब हानिए । सेना समायोजनपछि कयौं अयोग्य भनिएका लडाकु समेत खाडी मुलुक पुगेका असन्तुष्ट माओवादी नेताहरु बताउँछन् । केही दिनअघि मात्रै एक माओवादी जानकारले ६० प्रतिशत बढी कार्यकर्ता खाडी मुलुकमा पुगेका बताए । एक आध व्यक्तिहरुले स्देशमै व्यवसाय गरेपनि अधिकांश खाडी मुलुकमा छन् ।  
 
खाडीको तातो राफ र कष्टसंग जीवन संघर्ष गरिरहेका माओवादी कार्यकर्ता मध्येका एक हुन् बाग्लुङका जगतबहादुर विश्वकर्मा । जगत मुलुक परिवर्तन र विकासको सपना बुन्दै विभेदपूर्ण समाजको अन्त्यका लागि न्याय एवं समानताको पक्षमा आवाज उठाउँदै युवा अवस्थाबाटै राजनीतिमा सक्रिय रहे । 
 
बाग्लुङ नगरपालिका–९ बाग्लुङका जगतबहादुर २०५३ सालमा माआवादीको सक्रिय राजनीतिमा सङ्गठित सदस्य हुँदै युद्धमा होमिए ।  अहिले कतारको चर्को गर्मीसँगै स्टिल तथा तातो फलामको काम गर्दै विगतलाई सम्झने उनका क्रान्तिका सपना मरुभूमिमा छरिएका छन् । जगतबहादुर जनयुद्धकै क्रममा बाग्लुङमा २ महिना हिरासतमा रहँदा प्रहरीकोे यातना भोगेर कष्टकर जीवनबाट बाँचे । यद्यपि, युद्धमा लागेर शहीद र बेपत्ता परिवारको सपना तुहिएकोमा निकै दुखित छन् उनी । 
 
उनी पार्टी नेतृत्वले आफुहरुको योदान विर्सिएको भन्दै विगत सम्झेर रुन्छन् । ४७ वर्षीय जगतबहादुरले भावुक हुँदे भने, ‘पार्टी सरकारमा गयो, अवसर टाठाबाठाकै लागि भयो तर हामी अशिक्षित र वृद्धका लागि कुनै योजना ल्याएन ।’ माओवादी युद्धको पुरै संघर्षका क्रममा आफु सुप्रिम कमाण्डर रहेको बताउने पुष्पकमल दाहालले जगतबहादुर जस्ता खाटी कार्यकर्तालाई पटक–पटक विर्सिएका छन् । गणतन्त्र बहालीपछि दाहाल नै पहिलो प्रधानमन्त्री भए । पछि माओवादीकै नेतृत्वमा अर्को सरकार समेत बन्यो । यस्तै अहिले पनि दाहाल सरकारमै छन् ।   
 
आफ्ना लालाबालको लालन–पालन र शिक्षाका लागि भए पनि १४ वर्षदेखि प्रवासमा सङ्घर्ष गरेको उनले भने, ‘युद्धको समयमा विशेषतः हतियार, बन्दुकलाई गन्तव्यमा पुर्‍याउने, कार्यकर्तालाई सेल्टर दिने, खान–बस्नको व्यवस्था गर्ने र छापामारलाई जेलमा रहेका र निस्किएकालाई भगाउन अहोरात्र खटिन्थे ।’ जसकारण उनी पटक–पटक प्रहरीको निसानामा रहे र परिवार समेत यातनाको सिकार भइरहयो । 
 
कतार पुगेपनि उनको राजनीतिक आस्था मरेन । कतार पुगेसँगै उनी पार्टी आस्थावान् निकट रहेर जनप्रगतिशील मञ्चको स्थापनामा समेत सक्रिय रहे । जगतबहादुर हाल मुटुसम्बन्धी रोगले च्याप्दै जाँदा महिनाभरिको कमाई आफैँलाई औषधि उपचार गर्दा ठिक्क हुने भन्दै भक्कान्छिन् । 
 
अहिले उनी जीवन मरणको दोसाँधमा छन् । दलितको अधिकार प्राप्ति हुनेछ भन्ने लागेर नै मनमा ठूलो आशा पलाएको थियो त्यो बेला, तर आज नेताहरु नै तितर बितर हुँदा पार्टीले जनभावना बुझ्न नसकेको भन्दै आफू निराश भएको जगतबहादुरले सुनाए । हुन त दलित मुक्तिका आन्दोलन समेत नेपाल भइरहे । दलितको मुक्तिका लागि भन्दै विभिन्न संघ संस्थाहरु क्रियाशील समेत छन् । नयाँ संविधानमा दलित आयोगको व्यवस्था समेत भएको छ । सरकारले दलित आयोग गठनको प्रक्रिया समेत थालेको बेला बेलामा सुनाइरहेकै छ । 
 
तीनै जगतबहादुर हिजो कयौं माओवादीलाई बचाउन र युद्ध सफल पार्न संघर्षरत रहे । अहिले कतारमा मुटुरोगसंग संघर्ष गरीरहेका छन् । साथमा परिवार पाल्ने जिम्मेवारी समेत उनकै काँधमा छ । परिवारको आश र भरोसा समेत उनै हुन् । जगतबहादुर एक प्रतिनीधि पात्र मात्रै हुन् । पुष्पकमल दाहालले जगतबहादुर जस्ता कयौं कार्यकर्ताको भावना त बुझ्न सकेका छैनन् । जनताको भावना कसरी बुझ्न सक्लान् ? अब फेरि पनि दाहाल पहिलो पार्टी बनाउने र अनि जनगुनासा सुन्ने कथा कोर्दै छन् । –एजेन्सीको सहयोगमा  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ