arrow

सन्दर्भ : विश्व धुम्रपानविरुद्धको दिवस, नेपालमा क्यान्सर भएकामध्ये धुम्रपानका कारण ३२ प्रतिशत

logo
नारायण अधिकारी ,
प्रकाशित २०७३ जेठ १८ मंगलबार
3000.jpg.jpeg
चितवन। नेपालमा भेटिएका नयाँ क्यान्सर रोगीमध्ये ३१.७४ प्रतिशत सुर्तीजन्य पदार्थका कारण भएको पाइएको छ । विपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरले देशका १२ वटा अस्पतालबाट सङ्कलन गरेको तथ्याङ्कमा यस्तो देखिएको हो । सन् २००३ बाट सन् २०१२ सम्म आठ वटा अस्पतालको तथ्याङ्क सङ्कलन गरिएकोमा सन् २०१३ मा १२ वटा अस्पतालको तथ्याङ्क सङ्कलन गरिएको थियो । 
 
बिरामीको रोग निको भएपछि मात्रै एकिन तथ्याङ्क आउने हुँदा अहिले भएको तथ्याङ्कनै पछिल्लो र आधिकारिक रहेको विपी कोइराला मेमोरियल क्यान्सर अस्पताल क्यान्सर रोग नियन्त्रण तथा अनुसन्धान विभाग प्रमुख किशोरकुमार प्रधानाङ्गले बताए । 
 
उनका अनुसार सन् २०१३ मा आठ हजार ७२९ जना नयाँ क्यान्सरका रोगी देशका १२ वटा अस्पतालमा उपचारका लागि आएका थिए । जसमध्ये दुई हजार ७७१ जना सुर्तीजन्य पदार्थका कारण क्यान्सर भएका बिरामी आएको उनले बताए  । तीमध्ये पनि फोक्सोको क्यान्सर सबैभन्दा बढी ४२ प्रतिशत छ भने घाँटीको १३ प्रतिशत, अन्ननलीको छ प्रतिशत मुखको छ प्रतिशत, जिब्रोको आठ प्रतिशत, पिसाबथैलीको १.५ प्रतिशत, ओठको एक दशमलब ३ प्रतिशत, टन्सीलको १.४ प्रतिशत, गिँजा र तालुको एक एक प्रतिशत रहेको उनले बताए । 
 
समग्र तथ्याङ्कमा ५४ प्रतिशत महिला र ४६ प्रतिशत पुरुष भएपनि सुर्तीजन्य पदार्थका कारण क्यान्सर भएकामा भने ६५ दशमलब ३४ प्रतिशत पुरुष र ३४ दशमलब ४६ प्रतिशत महिला रहेका छन् । सूर्तीजन्य पदार्थ बढी पुरुषले प्रयोग गर्ने भएकै कारण पुरुषको सङ्ख्या बढी रहेको प्रधानाङ्गले बताए । जसमा एक हजार ८१६ पुरुष र ९५५ महिला रहेका छन् । 
 
कूल भेटिएका क्यान्सरका बिरामीमध्ये सूर्तीजन्य पदार्थको सबैभन्दा बढी ३१ दशमलब ७४ प्रतिशत छ भने त्यसपछि बढी फोक्सोका १३ प्रतिशत, पाठेघरको मुखको नौ दशमलब ५ प्रतिशत, स्तनको आठ दशमलब ६ प्रतिशत रहेको छ । 
 
क्यान्सरका बिरामीमध्ये सबैभन्दा बढी विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा आएको पाइएको छ । कूल बिरामीको ४८ प्रतिशत यो अस्पतालमा उपचारार्थ आएको प्रधानाङ्गले बताए । त्यसपछि क्रमशः भक्तपुर क्यान्सर अस्पतालमा १६ प्रतिशत, वीर अस्पतालमा ११ प्रतिशत, त्रिवि शिक्षण अस्पताल महारागजन्जमा नौ प्रतिशत, बिरामी उपचारको लागि आएको उनले बताए  । 
 
तथ्याङ्कमा सबैभन्दा बढी क्यान्सर हुने पुरुषको उमेर ७० देखि ७४ वर्षसम्म र महिलाको ४५ देखि ४९ वर्षसम्मको रहेको पाइएको छ । यो उमेरका पुरुष १६ प्रतिशत र महिला १२ प्रतिशत रहेको बताउँदै प्रधानाङ्गले महिलाको भन्दा पुरुषको रोग ढिलो गरी पत्ता लाग्ने गरेको बताए । 
 
तथ्यांक अनुसार सबैभन्दा बढी काठमाडौंका १३ प्रतिशत बिरामी रहेका छन् भने सुनसरी पाँच प्रतिशत, मोरङ चार प्रतिशत, कास्की ३.६ प्रतिशत, झापा ३.६ प्रतिशत, रुपन्देही ३.४ प्रतिशत, चितवन ३.२ प्रतिशत र नवलपरासी २.६ प्रतिशत रहेका छन् । 
 
विश्व स्वास्थ्य सङ्गठनको तथ्याङ्कअनुसार विश्वमा एक अर्ब मानिसले धुम्रपान गर्ने गरेका छन् । सुर्तीसेवन गर्नेमध्ये ८० प्रतिशत विकासोन्मुख देशका बासिन्दा रहेका छन् । सङ्गठनका अनुसार धुम्रपानकै कारण प्रत्येक वर्ष विश्वमा ६० लाख मानिसले अकालमा ज्यान गुमाउने गरेको बताइएको छ । जसमध्ये ५० लाखभन्दा बढी मानिस प्रत्यक्ष आफैँ सुर्ती सेवनका कारण मृत्युवरण गर्छन् भने अन्य मानिस अप्रत्यक्षरूपमा गरिएको (अरूले सेवन गरेको) धुम्रपानको असरबाट ज्यान गुमाउँछन् । 
 
विपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरका मेडिकल अङ्कोलोजी विभागका प्रमुख डा. भोला रौनियार सुर्तीजन्य पदार्थका कारण मुखदेखि पिसाबथैलीसम्मको क्यान्सर हुने बताउँनुहुन्छ । यसले थुप्रै खालका क्यान्सर बनाउने बताउँदै उनले भने “सूर्तीजन्य पदार्थमा निकोटिन हुन्छ, जसले मानिसलाई बानी पार्छ र खाएपछि मान्छे फूर्तिलो हुने अनुभवका साथ बढी खाएर प्रभावित हुन्छन् ।” 
 
नेपालमा १७ हजारभन्दा बढी मानिसको प्रत्येक वर्ष सुर्तीसेवनका कारण मृत्यु हुने गरेको सरकारी तथ्याङक छ । विश्व स्वास्थ्य सङ्गठनले यस वर्षको धुम्रपानविरुद्धको दिवसमा ‘सुर्तीजन्य पदार्थको प्याकेटलाई सादा बनाउ’ भन्ने नारा तय गरिएको छ । रासस 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ