arrow

इजिप्टमा शान्तिपूर्ण विरोध प्रदर्शन गर्नेलाई पनि जेल हालिने

मानवअधिकारवादीद्वारा यस कानुनको व्यापक विरोध

logo
प्रकाशित २०७३ जेठ २० बिहिबार
egypt-cairo-court.jpg.jpeg
कायरो । इजिप्टमा सरकारको विरोधमा शान्तिपूर्ण प्रदर्शन गर्ने नागरिकलाई पनि जेल सजाय दिने गरिएको छ । केहीलाई बिहीबार पनि यस्तो सजाय सुनाइएको छ । 
 
इजिप्टको राजधानी कायरोस्थित एक अदालतले बिहीबार ५० जनालाई कम्तीमा पनि चार वर्षको जेल सजाय सुनाएको बताइएको छ । 
 
गएको महिना पनि सरकारविरोधी शान्तिपूर्ण प्रदर्शनमा सहभागी भएको आरोपमा पक्राउ परेका १०१ जना प्रदर्शनकारीलाई पाँच वर्षको काराबास सजाय तोकिएको थियो । 
 
यहाँका अधिकारीले बिहीबार बताएअनुसार ५० जना प्रदर्शनकारीलाई यसअघि नै पक्राउ गरी थुनामा राखिएको थियो । सरकारी अधिवक्तहरुले उनीहरुलाई लामो समयको काराबास सजायको माग गरेका थिए । 
 
हाल इजिप्टमा सैनिक शासन रहेको छैन । तर पनि सैनिक प्रमुखले नै यसअघिको निर्वाचित राष्ट्रपतिलाई कू गरी सन् २०१३ देखि नै आफ्नो हातमा सत्ता लिएका थिए । 
 
इजिप्टको यही सैनिक सरकारले सन् २०१३ मा यस्तो कडा कानुन बनाएको हो । यस कानुनबमोजिम सरकारको विरोधमा कुनै पनि खालको प्रदर्शन गर्न पाइँदैन । 
 
सोही विवादित कानुनको आडमा उनीहरुलाई काराबासको सजाय तोकिएको हो । सन् २०१३ मा निर्माण गरिएको उक्त कानुनले सडक प्रदर्शनमाथि पनि रोक लगाएको छ । 
 
सडक प्रदर्शनमा सहभागी भएको आरोपमा पक्राउ परेका ७० जनामध्ये ५० जनालाई प्रतिव्यक्ति आर्थिक जरिवाना सहित चार वर्षको काराबासको सजाय तोकिएको छ । 
 
सरकारविरुद्धको प्रदर्शनमा गएको अप्रिल २५ मा प्रदर्शन गर्न विभिन्न ठाउँबाट इजिप्टको राजधानी कायरो आएका प्रदर्शनकारीमध्ये उक्त दिन करिब एक हजार २०० जनालाई पक्राउ गरिएको थियो । 
 
उनीहरुमध्ये धेरैजसोलाई अनुसन्धानपछि रिहा गरिए पनि करिब २०० जना प्रदर्शनकारीलाई गत कानुनको उल्लङ्घन गरी सडकमा उत्रिएको आरोपमा मुद्दा चलाइएको थियो । 
 
यसरी मुद्दा चलाइएका मध्येमा पनि गत महिनामात्र करिब १०० जनालाई पाँच वर्षको यस्तै जेल सजाय सुनाइएको थियो । त्यस घटनाको मानवअधिकारवादी संघसंस्थाहरुले व्यापक मात्रामा विरोध गरेका थिए । 
 
इजिप्टको अदालतद्वारा सडकमा शान्तिपूर्ण प्रदर्शन गर्न उपस्थित भएका नागरिकमाथि जेल सजाय तोक्नुलाई कानुन र प्रजातन्त्र विपरीत भनिएको छ । 
 
इजिप्टका राष्ट्रपति अब्देल फताह अलसिसीले सरकारविरद्धको आन्दोलनका नाममा इस्लामिक स्टेट (आईएस) लडाकूद्वारा सिनाई लगायतका स्थानमा आक्रमण गर्ने गरेका बताएका छन‍् । 
 
त्यसैले आइएसलाई नियन्त्रण गर्ने तथा राष्ट्रको अर्थतन्त्रलाई बिग्रन नदिन सरकारले आन्दोलन पक्षधर समूहमाथि कडा नीति लिनु परेको बाध्यकारी अवस्था भएको बताए । 
 
उनले देशमा शान्ति र अमनचैन कायम गर्ने प्रयत्नमा आफू लागिपरेको भन्दै यहाँकै कानून बमोजिम सरकार चल्नसक्ने धारणा राखे । 
 
 
इजिप्टमा मानवअधिकारको व्यापक मात्रामा उल्लङ्घन हुने गरेकोप्रति सङ्केत गर्दै इजिप्टको मानव अधिकारका घटना पश्चिमी मुलुकको मापदण्ड अनुरुप बन्न नसक्ने बताउदै आएका छन् ।एएफपी 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ