arrow

जग बलियो बनाउने कि प्रधानमन्त्रीज्यू

logo
टेकराज अवस्थी,
प्रकाशित २०७३ जेठ २१ शुक्रबार
tekraj-awasthi.jpg.jpeg
सम्माननिय प्रधानमन्त्रीज्यूले प्रधानमन्त्रीको सपथ ग्रहण गरेदेखि नै सपना देखिरहेका छन् र देखाइरहेका छन्। देश प्रगतिको सपना देख्ने राजनीतिज्ञ र देश सञ्चालन गर्ने उच्च निकायमा बसेकाहरुले नै हो। तर प्रधानमन्त्री ज्यू तपाईले देखेको सपनाको सार्थकता त्यति बेला हुन्छ जति बेला तपाईको र देशका आम जनताले देखेको सपनाको समानता हुन्छ। नत्र साँझ जाडँ खाएर आएको जड्या श्रीमानले श्रीमतीसँग अबदेखि जाँड नखाने गरेको बाचा र एउटा केटाले निजि स्वार्थ पूर्तिका निम्ति प्रेमिकासँग आकाशका तारा झारिदिने गरेको बाचा र नेताले आगामी चुनावमा भोज बटुल्नका निम्ति देखाएको सपनामा कुनै फरक हुदैन । 
 
प्रधानमन्त्री ज्यू तपाईले हावाबाट विजुली निकाल्ने सपना देख्नु हुन्छ। हामी हावा लागेर उडाइरहने अस्थाइ टहराको त्रिपालको छानोबाट सर्न चाहन्छौ। तपाई घर घरमा ग्यासँको पाइप पुर्‍याउने सपना देख्नुहुन्छ तर हामी घण्टौ सम्म ग्यासँका सिलिन्डर बोकेर ग्यासँ नपाउने उल्टै पुलिसको लाठि खानुपर्ने परिस्थतीको अन्त्य होस सजिलै पैसा तिरेर ग्यासँ पाउने व्यवस्था भएको सपना देखिरहेका छौ। तपाई राजधानिमा रेल कुडाउने सपना देखिरहनु भएको छ तर हामी भने राजधानीको सडकलाई किसानले रोपाइ गर्ने खेतको जस्तो हातलबाट गाडी कुद्ने सडक जस्तै हालतमा देख्न चाहन्छौ। तपाई सात सिमापारिको महासागरमा पानी जहाज चलाउने सपना देख्नुहुन्छ तर हामी विल तिरेर नियमित स्वच्छ पानी पिउने सपना देख्छौ। 
 
प्रधानमन्त्री ज्यू तपाईले देखेको सपना र हामीले देखेको सपनामा कति कतै समानता देखिएन तर हाम्रा पनि केहि सपनाहरु छन् जसमा तपाईले समर्थन जनाउन कुनै अप्ठयारो हुदैन होला। लालाबाला हुर्काउन आमाले र बुढा बा आमा हुर्काउन छोरीले सात सिमा पारि जानुपर्ने दिनको अन्त्य भएको हेर्ने सपना छ। बुढा बा आमाले बन्द बाकसमा जवान छोराको लास बुझ्नु पर्ने दिनको अन्त्य भएको हेर्ने सपना छ। अनि आवश्यक देखियो भने फर्फराउला सात सिमा पारिको महासागरको पानी जहाजमा देशको झण्डा, हाम्रो बिस मिनेटको बाटोमा २ घण्टा लाग्ने गाडि जामको अन्त्य भएको सपना छ। अनि कुदाउला राजधानिमा चुच्चे रेल। ग्यासँका निजि वितरण केन्द्रमा सुरक्षाकर्मि खटिनुपर्ने समाप्ति होस भन्ने सपना छ। आर्थिक वर्षको वार्षिक विकास बजेट सत प्रतिशत खर्च भएको सपना छ। देश काला बजारिया र विचौलियाहरुको हातबाट उन्मुक्ति भएको हेर्ने सपना छ। अर्काले जम्मा गरिदिएको राहत गोदाममै नकुहियोस वा सरकारले बेच्ने दिन नआओस भन्ने सपना छ। 
 
तपाईले छिमेकी देशहरुसँग सुमधुर सम्बन्ध कायम गरेको हेर्ने सपना छ। इलामको चिया अझ धेरै देशहरुको बेच्ने सपना छ, कर्णालीमा सिटामोल र चामलको लाइन लाग्न नपरोस भन्ने सपना छ। काठमाडौ र पोखरासम्म आउने पर्यटकलाई रारा र खप्तड पुर्‍याउने सपना छ। जुम्लाको स्याउ देशै भरि बाह्रै महिना उपलब्ध गराउने सपना छ। हुम्ला र डोल्पा सम्म गाडिमै सयर गर्ने सपना छ। त्यसैले अन्त्यमा प्रधानमन्त्रिज्यू हामी यति भन्न चाहन्छौ तपाईले एकैचोटि छानो हाल्ने सपना देखिराख्नु भएको छ हामी जग र पिल्लर बलियो बनाउने सपना देखिरहेका छौ, त्यसैले पहिला जग बलियो बनाउ अनि बनाउला सुन्दर छानो। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ