arrow

उत्तरी अफगानिस्तानमा बसमा सवार ४७ यात्रु अपहरित

logo
प्रकाशित २०७३ जेठ २६ बुधबार
talean.jpg.jpeg
कुन्दुज (अफगानिस्तान । अफगानिस्तानको उत्तरी प्रान्त कुन्दुजमा बुधबार सशस्त्र आतङ्ककारीहरुले यात्रुवाहक एक बस बाटोमै रोकेर बसमा सवार कैयौँ यात्रुलाई अपहरण गरेका छन् । आतङ्ककारीहरुले कुन्दुज प्रान्तको खान आबाद जिल्लाको लुदिन क्षेत्रको कुन्दुज तखार राजमार्गमा बुधबार बिहान सबेरै लामो दुरीका लागि छुटेको सो बसमा रहेका कम्तीमा ४७ जना यात्रुलाई अपहरण गरेका सुरक्षा स्रोतले जानकारी दिएको छ । 
 
सो बाटो भएर नियमित रुपमा आवातजावत गरीरहने तीनजना यात्रु भने सो घटनास्थलबाट भाग्न सफल भएका सुरक्षास्रोतले सिन्ह्वा समाचार समितिलाई जानकारी दिएको छ । अफगान राष्ट्रिय प्रहरीका कमाण्डर सिर अजिज कमावालले यस अपहरणको घटनाको पुष्टि गरेका छन् । अफगानिस्तानमा गत दुई हप्तायता सार्वजनिक सवारी साधनमा भएको यो तेस्रो अपहरणको घटना हो । यस अपहरणको हालसम्म कुनै पनि समूहले जिम्मा लिएको छैन । 
 
गत महिना पनि अफगानिस्तानको उत्तरी प्रान्त सरीपुलमा १७ सर्वसाधारण नागरिक अपहरणमा परेका थिए । गत महिना प्रान्तीय राजधानी सरीपुलको बल्खाब जिल्लामा दुई वटा मिनिबस र एक ट्रकमा रहेका १७ व्यक्ति सशस्त्र व्यक्तिहरूले अपहरण गरेका थिए । त्यसअघि पनि लामो दुरीमा चल्ने तीनवटा बस बीच बाटोमा रोकी कम्तीमा १६ जना अफगान नागरिकको गोली हानी हत्या गर्नुका साथै कम्तीमा ४५ जनालाई अपहरण गरेका थिए । 
 
यी अपहरितमध्येका अधिकांशलाई भने उनीहरुले रिहा गरिसकेका छन् । तालिवान आतङ्ककारी समूहले अफगानिस्तानमा अप्रिलको सुरुबाट भीषण आक्रमण गर्ने बताएअनुसार विभिन्न इलाकामा आक्रमण गर्दै आएका छन् । यसैबीच गत महिना तालिवानको नेतामा हबुतुल्लाह आखुन्जादा नियुक्त भएपछि अफगानिस्तानमा आक्रमण र अपहरण जस्ता घटनाहरु झन् बढेको बताइएको छ । 
 
तालिवानको नेता मुल्लाह मन्सुरको पाकिस्तानी भूमिमा भएको अमेरिकी हवाई आक्रमण मृत्यु भएपछि हबुतुल्लाह नियुक्त भएका थिए । सोही समयदेखि तालिवान आतङ्ककारीहरुले सरकारी कर्मचारी, सर्वसाधारण र सुरक्षाकर्मीलाई लक्ष्यगरी आक्रमण गर्दै आएका छन् । 
 
अफगानिस्तानमा जारी द्वन्द्वमा परी यसैवर्षको सुरुदेखि चारमहिनाभित्र करिब ६ सय व्यक्तिको मृत्यु हुनुको साथै अन्य १ हजार ३४० जना घाइते भएका छन् । यसैबीच अफगानिस्तानका लागि संयुक्त राष्ट्रसङ्घीय मिसनले पछिल्लो समयमा अफगानिस्तानमा हिंसाको शृङ्खला बढ्दै गएको जानकारी दिएको छ । सिन्ह्वा 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ