arrow

बागमतीबाट यसरी निकालिदै छ विजुली

logo
प्रकाशित २०७३ जेठ २७ बिहिबार
bagmati-01.jpg.jpeg
काठमाडौँ | पानी नभएर ढल बगिरहेको बागमतीबाट अब चाँडै बिजुली बाल्ने योजना सुन्दा असम्भवजस्तै लाग्छ। तर काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) अन्तर्गतको आयोजनाले बागमतीबाट बिजुली निकाल्न ठेक्कासमेत आह्वान गरिसकेको छ।
 
अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिका अनुसार बागमतीमा थप शक्तिशाली ढल प्रशोधन केन्द्र राख्ने र त्यसबाट बिजुली निकाल्ने योजनामा काम सुरु भएको हो। समितिका आयोजना प्रमुख राजेशप्रसाद सिंहका अनुसार बागमतीमा मिसिने ढल पनि शुद्ध पानीमा परिणत हुनेछ भने प्रशोधन यन्त्रको पंखाबाट बिजुली पनि निकालिनेछ।
 
योजनाअनुसार गुह्येश्वरीबाट पहिलो चरणमा दुई सय ४० किलोवाट प्रतिघन्टा बिजुली उत्पादन हुनेछ। ‘हामीले अत्यन्तै कडा मापदण्ड राखेर ढल प्रशोधनको काम अघि बढाउने सहमति गरेका छौं’, सिंहले भने। ढल प्रशोधनका लागि प्रयोग गरिने शक्तिशाली मेसिनमा चल्ने पंखाबाट प्रतिघन्टा दुई सय ४० किलोवाट बिजुली निकाल्न सकिनेमा विदेशी ठेकेदारले सहमति जनाएर काम अघि बढाइएको हो।
 
एसियाली विकास बैंकले उपलब्ध गराउने ऋण सहयोगमा केयूकेएलको मेलम्ची २ आयोजना कार्यान्वयन निर्देशनालयले हालसालै ठेक्का लगाएपछि ठेकेदारले स्थलगत अध्ययन र सर्भेसमेत सम्पन्न गरिसकेको छ। बागमतीमा सफा पानी बगाउने र सफा बनाउने उद्देश्यका लागि विभिन्न पाँच स्थानमा प्रशोधन केन्द्र बनाउने प्रक्रिया अघि बढेको हो। पाँचै स्थानबाट बिजुली निकाल्ने योजना छ।
 
गुह्येश्वरीमा रहने प्रशोधन केन्द्रबाट छानिएको पानी पशुपतिमा नुहाउन तथा मुखमा हाल्न मिल्नेसम्मको हुनुपर्ने सर्त राखिएको जानकारी सिंहले दिए। ‘पानीको गुणस्तर राम्रो हुन्छ। पशुपतिनाथमा नुहाउन र चोखिन मिल्ने गरी बनाएर पठाउने हो’, उनले भने, ‘अन्य स्थानको प्रशोधनभन्दा पशुपति जाने पानी भएकाले गुह्येश्वरीमा विशेष कडा गरी क्षमता र गुणस्तरसमेत बढाउने गरेर डिजाइन गरिएको छ।’ हाल गुह्येश्वरीमा भएको ढल प्रशोधन केन्द्रसँग प्रतिसेकेन्ड एक सय ९० लिटर ढल प्रशोधन गर्नसक्ने क्षमता छ। अन्नपूर्ण पोस्टमा खबर छापिएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ