arrow

भारतसँगको सम्बन्ध अरुसँग तुलना गर्न मिल्दैन – उपप्रम थापा

logo
प्रकाशित २०७३ जेठ ३० आइतबार
Kamal-Thapa.jpg.jpeg.jpeg
काठमाडौँ । उपप्रधानमन्त्री कमल थापाले नेपाल र भारतबीचको सम्बन्ध अत्यन्तै विशिष्ट खालको भएको हुँदा अरुसँग तुलना गर्न नसकिने बताएका छन् । 
 
दक्षिण एसियाली विश्वविद्यालयको प्रथम दीक्षान्त समारोहमा भाग लिएर भारतको नयाँदिल्लीबाट स्वदेश फर्केपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारसँग कुराकानी गर्दै परराष्ट्रमन्त्री थापाले भने – “नेपाल र भारतबीचको सम्बन्ध सुदृढ हुँदै गएको छ ।” दुई देशबीचको सम्बन्धमा तिक्तता र असमझदारी छ भनेर चर्चा र आशङ्का गरिए पनि यथार्थमा त्यो सही होइन होइन भन्दै परराष्ट्रमन्त्रीले दुई देशबीचको सम्बन्धमा कहीँ कतै अवरोध नदेखिएको बताए । 
 
प्रधानमन्त्री केपी शर्मा ओलीको पछिल्लो भारत भ्रमणपछि सबै असमझदारी हटेर आपूर्ति व्यवस्थामा सहज भएको, सम्बन्धमा अत्यन्त हार्दिकता दृष्टिकोण कायम भएको तथा भ्रमणको आदानप्रदान भइरहेको उनको भनाइ थियो । 
 
नेपालको संविधानमा सबैको स्वामित्व कायम हुन सकोस्, नेपालमा शान्ति, स्थायित्व र प्रजातन्त्र बलियो हुन सकोस् भन्ने भारतीय पक्षको चासो र चिन्ता रहेको बताउँदै परराष्ट्रमन्त्री थापाले भारतीय विदेशमन्त्री सुष्मा स्वराजसँगको भेटमा द्विपक्षीय सम्बन्धका विविध पक्षमा समीक्षा भएको जानकारी दिए । उनले भने– “अहिले दुवै देशबीचको सम्बन्ध सुमधुर ढङ्गबाट अघि बढेकामा दुबै पक्षबाट सन्तोष व्यक्त गरिएको छ ।” 
 
नेपालले संविधान निर्माणपछि आर्थिक विकासमा जोड दिएकाले भारतसँगको सम्बन्धलाई अझ विशेष महत्व दिइएको बताउँदै उपप्रधानमन्त्री थापाले नेपालले आफ्नो विकास र समृद्धिको लक्ष्य हासिल गर्न दुवै छिमेकीसँग असल सम्बन्ध कायम राख्दै छिमेकीले गरेको तीव्र आर्थिक विकासबाट फाइदा लिने रणनीतिका साथ सम्बन्ध विस्तार गर्न खोजेको छ भने  । 
 
नेपाल र भारतबीच आगामी जुलाइभित्र १३ वटा द्विपक्षीय बैठक तथा आगामी अक्टोबरमा संयुक्त संयन्त्रको अर्को बैठक बस्ने तयारी गरिएको मन्त्री थापाले जानकारी दिए । 
 
राष्ट्रपतिको भ्रमण उपयुक्त समयमा मिलाइने 
 
उच्चस्तरमा हुने भ्रमणको महत्वलाई दृष्टिगत गरी अझ सामीप्यता कायम गर्न दुवै मुलुकका राष्ट्रपतिको भ्रमणको तयारी कूटनीतिक माध्यमबाट उपयुक्त समयमा मिलाइने सहमति भएको उहाँले जानकारी दिनुभयो । 
 
नयाँ दिल्लीमा रहँदा मन्त्री थापा र भारतीय राष्ट्रिय काँग्रेसका वरिष्ठ नेता एवम् पूर्वप्रधानमन्त्री मनमोहन सिंहबीच पनि भएको भेटवार्तामा दुई देशबीचको सम्बन्धको वर्तमान अवस्थाका बारेमा छलफल भएको थियो । 
 
विश्वविद्यालयको दीक्षान्त समारोहमा परराष्ट्रमन्त्री थापाले सार्कप्रतिको प्रतिबद्धता जनाउँदै यसको आदर्श र लक्ष्यप्रति नेपालको अटुट प्रतिबद्धतालाई अभिव्यक्त गरेका थिए । विश्वविद्यालयले छोटो अवधिमा यस क्षेत्रका विद्यार्थीलाई अध्ययनको महत्वपूर्ण अवसर प्रदान गर्नाका साथै क्षेत्रीय सहयोग र सद्भावमा ठूलो भूमिका खेल्दै आएको छ । 
 
सञ्चारकर्मीको एक प्रश्नको जवाफमा उनले मधेस आन्दोलनको स्वरुप फेरिए पनि समस्या पूर्ण रुपले नहटेसम्म संविधान कार्यान्वयन र आगामी निर्वाचनमा कठिनाइ हुन सक्छ भन्ने कुरा सबै राजनीतिक दलले बुझ्न आवश्यक रहेको स्पष्ट गरे । 
 
अर्को प्रसङ्गमा उनले राष्ट्रिय प्रजातन्त्र पार्टी र राप्रपा नेपालबीचको एकीकरणका लागि अझै निकै मेहनत गर्नुपर्ने देखिएको टिप्पणी गरे । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ