arrow

वेभसाईट खोल्न १८ वर्ष चाहिने तर किन्न चाहिँ नचाहिने ?

logo
प्रकाशित २०७३ जेठ ३१ सोमबार
beer-site-1.jpg.jpeg
काठमाडौं। तपाईँले याद गर्नुभएको छ ? नेपालमा चलेका मदिराजन्य उद्योगको वेभसाईट खोल्ने बेलामा तपाईँलाई आफ्नो जन्म मिति राख्न लगाइन्छ। यो तपाईको व्यक्तिगत विवरण भर्नको लागि भने होईन। यसरी तपाईले भरेको जन्ममिति १८ वर्षको भन्दा कम छ भने वेभसाईट खुल्ने छैन। तर १८ वर्ष भन्दा बढी उमेर बनाएर गल्ती जन्ममिति राखेको खण्डमा पनि वेभसाईट सजिलै खुल्ने छ। 
 
सरकारले मदिराजन्य पदार्थको विक्रीवितरणमा संवेदनशीलता देखाउँदै १८ वर्ष भन्दा मुनिका व्यक्तिहरूलाई कुनैपनि मदिराजन्य बस्तु विक्री वितरण गर्न समेत रोक लगाएको छ। मदिरा ऐन २०३१ ले पनि स्पष्ट रूपमा १८ वर्षका वा सो भन्दा कम उमेरका व्यक्तिहरूलाई मदिराजन्य बस्तु विक्री वितरण गर्न या त १८ वर्ष भन्दा कम उमेरकाले यस्तो बस्तु विक्री वितरण गर्न समेत नहुने भनेर स्पष्टसँग तोकेको छ। यस बाहेकका अन्तराष्ट्रिय कानूनले पनि १८ वर्ष भन्दा कम उमेरका मानिसलाई मदिरा मुक्त उमेर भन्दै मदिराजन्य पदार्थबाट टाढा राख्नुपर्ने प्रावधान राखेको छ। 
 
यसै ऐनलाई पच्छ्याउँदै विभिन्न मदिराजन्य उद्योगहरूले आफ्नो आधिकारिक वेभसाईट खोल्नको लागि पनि १८ वर्ष पुगेको जन्ममिति पेश गनुपर्ने प्रावधान राखेका छन्। तर, बजारमा भने ८ वर्षको बालकको लागि पनि मदिराजन्य पदार्थ बेच्नको लागि कुनै रोकतोक गरिँदैन। यस्तो अवस्थामा उपभोक्ताहरु भने वेभसाइटमा १८ वर्ष पूरा भएको लिखित विवरण माग्ने मदिरा उद्योगले या त विक्रेताहरुनै संवेदनशील बन्नुपर्ने टिप्पणी गर्छन्। उनीहरू आफ्ना खुद्रा व्यापारीहरूले यसरी गैरकानूनी काम गरेको खण्डमा विक्रेताको विक्री अनुमती पत्र खारेज गर्ने प्रावधान आवश्यक रहेको उपभोक्ताहरू बताउँछन्। तर, यसरी मदिरा उद्योग तथा विक्रेताहरुले भने यस्तो काम तर्फ ध्यान नदिई वेभसाईटमा १८ वर्षे प्रावधान राखेर पन्छिन लागेको आरोप लाग्दै आएको छ। 
 
हिमालयन ब्रिवेरीका विक्री वितरण विभागका प्रमुख दिवस घिमिरेले आफूहरूले राष्ट्रिय तथा अन्तराष्ट्रिय कानूनको पालना गरेर वेभसाईटमा १८ वर्ष पुगेको उल्लेख गर्नुपर्ने प्रावधान राखेको जानकारी दिए। ऐनले यसरी वेभसाईट मै राख्नुपर्ने कुनै प्रावधान समेत नराखेको भएपनि आफूले ऐन कार्यान्वयनको लागि सहज होस् भन्नको लागि यस्तो कदम चालिएको पनि स्पष्ट पारे। आफूले विक्री गर्ने विक्रेतालाई कानूनको पालना गर्दै १८ वर्ष नपुगेकालाई विक्री नगर्न सचेत गराएर पठाउने गरेको भएपनि बजारमा साना बच्चाले पनि रक्सि पाउने गरेको यथार्थलाई स्वीकार पनि गरे। 
 
तर, खुदंरा व्यापारीहरू भने आफूले मदिरामा त्यस्तो संवेदनशीलता अपनाउने नगरेको बताउँछन्। बानेश्वरका एक मदिरा व्यापारी रमेश श्रेष्ठले आफूले किन्न आउने ग्राहकको उमेर नसोध्ने गरेको जानकारी दिए । उनी भन्छन् ‘रक्सि किन्न आउनेलाई तिमी कति वर्षको भयौ भनेर सोध्नु त ?’ आफूले जो किन्न आइपनि मदिरा बेचेर पठाउने गरेको उनले स्पष्ट पारे। 
 
वेभसाईटमा १८ वर्ष चाहिने प्रावधान यसमा मात्रै नभएर सबै मदिराजन्य उद्योग तथा विक्रेताहरुले समेत राखेका छन्। तर, वेभसाईटमा १८ वर्ष मागिरहँदा खुद्रा विक्रेताहरुले भने यसलाई पालना नगर्ने परिपाटीले नेपालमा कानून बन्छ तर कार्यान्वयन हुँदैन भन्ने यथार्थलाई स्पष्ट पारेको छ। 
 
उक्त ऐनको दफा ४(क)ले ‘मदिराको उत्पादन तथा बिक्री वितरणमा बन्देज’ भन्ने शीर्षकको उपदफा १ मा स्पष्टसँग कसैले पनि प्लाष्टिकको पोका (पाउच) मा मदिरा राखी मदिराको उत्पादन तथा बिक्री वितरण गर्न नहुने (२) मा कसैले पनि अठार वर्षको उमेर पूरा नगरेको व्यक्तिलाई मदिरा बिक्री वितरण गर्नु हुँदैन र ३ मा अठार वर्षको उमेर पूरा नगरेको व्यक्तिले मदिराको बिक्री वितरण गर्न नहुने स्पष्टसँग उल्लेख गरेको छ।
 
यसो गरेको खण्डमा कुनै व्यक्तिले यस ऐन विपरीत मदिराको उत्पादन, बिक्री वितरण, निकासी वा पैठारी गरेमा सो कार्यसँग सम्बन्धित मदिरा अन्तःशुल्क अधिकारीले जफत गर्नेछ भनेको छ। त्यस्तै उपदफा (१) बमोजिम जफत गरिएको मदिरामध्ये गुणस्तरयुक्त मदिरा अन्तःशुल्क अधिकारीले तोकिएबमोजिम लिलाम बिक्री गर्नु पर्ने तथा यस ऐन विपरीत मदिराको कारोबार गर्न प्रयोग गरिएका सबै सामानहरु अन्तःशुल्क अधिकारीले जफत गरी तोकिए बमोजिम लिलाम बिक्री गर्नेछ भनेर स्पष्टसँग उल्लेख गरेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ