arrow

अफगानिस्तानमा भएको हवाई कारबाहीमा पाँच तालिवान मारिए

logo
प्रकाशित २०७३ असार २ बिहिबार
Drone-attack.jpg.jpeg
काबुल । अफगानिस्तानको दक्षिण प्रान्त उरुज्गानमा भएको हवाई कारबाहीका क्रममा कम्तीमा पनि पाँचजना अफगानिस्तानका तालिवान मारिएको समाचार छ । अफगानिस्तानको सेनाले यस कारबाही गरेको बताइएको हो । यस कारबाहीमा परी अरु ६ जना तालिवान आतङ्ककारी घाइते भएका बताइएको छ । 
 
जाङ्गतान क्षेत्रमा बिहीबार विहान सवेरैबाट सुरु भएको यस कारबाहीमा पाँच तालिवान आतङ्ककारी मारिनुको साथै अन्य छ जना घाइते भएका एक विज्ञप्तिमा जनाइएको छ । तालिवान आतङ्ककारी समूहले गत अप्रिलदेखि भीषण आक्रमण गर्ने घोषणागर्दै आएका तालिवानहरु विरुद्ध प्रहरीले जारी राखेको कारबाहीमा पनि सफलता प्राप्त भइरहेको बताइएको छ । 
 
अफगानिस्तानमा पछिल्लो समयमा आइएसको प्रभाव रहेको हालैमात्र बताइएको थियो । गएको शनिबार अफगानिस्तानमा भएको एक सैनिक कारबाहीका क्रममा ठूलो सङ्ख्यामा आइएसका लडाकू मारिएपछि यो पुष्टि भएको अफगान सेनाले जनाएको थियो । त्यसैले पछिल्लो समयमा अफगानिस्तानको सेनाले सैनिक कारबाही गर्ने गरेको छ । यस क्रममा प्रत्येक दिनजसो लडाकू मारिएका छन् । 
 
अफगान गृहमन्त्रालयले लिएको जानकारीअनुसार सो कारबाहीमा परी आइएसका कम्तीमा पनि १३ जना लडाकू मारिएका थिए । उरुज्गान क्षेत्रमा पनि आइएसको प्रभावको आशङ्कामा यस्तो कारबाही थालिएको सेनाले जनाएको छ । 
 
सिरियामा आइएसको शक्तिशाली आक्रमण 
 
यसैबीच प्राप्त अर्काे एक समाचारअनुसार सिरियामा बिहीबार आइएसले शक्तिशाली आक्रमण गरेका छन् । सिरियाली राष्ट्रपति बसर अल असदका समर्थक एवम् सरकारको हालसम्मको बलियो उपस्थिति मानिएको राका स्थानमा सो आक्रमण गरेका हुन् । 
 
सो घटनामा सयौँको सङ्ख्यामा घाइते भएका छन् । उक्त समाचार सिरियाली राजधानी दमासकसबाट विभिन्न अन्तर्राष्ट्रिय समाचार समितिहरुले दिएका छन् । सिरियाका उत्तरपश्चिमी क्षेत्रका विभिन्न स्थानमा उनीहरुले यो आक्रमणको तारो बनाउन थालेका छन् । त्यस क्रममा उनीहरुले अस्पतालजस्ता सम्वेदनशील क्षेत्रलाई पनि छोड्ने गरेका छैनन् । 
 
बिहीबार उनीहरुले सिरियाको उत्तरपश्चिमी नगर जाबेहमा यस्तो हमला गरेका छन् । उनीहरुको बिहीबारको यो हमला मुख्य हमला भएको पनि समाचारमा जनाइएको छ । आतङ्कवादी संस्था इस्लामिक स्टेट (आईएस) द्वारा गराइएका ती विस्फोटमा परी कैयौँको मृत्यु भएको अनुमान गरिएको समाचारमा जनाइएको । यसको विस्तृत विवरण आउन भने बाँकी छ । 
 
उक्त सहर सिरियामा जारी रहेको पाँचवर्षे युद्धका क्रममा पनि खासै प्रभावित थिएन । यस नगरलाई सरकारले आफ्नो सुरक्षित स्थल वा गढका रुपमा लिइआएको थियो । सिरियाली हिंसाको अध्ययन गरिरहेको मानवअधिकारवादी संस्था सिरियन अब्जरभेटरीका प्रमुख रमि अब्देल रहमानले सिरियामा सन् २०११ पछि भएका केही ठूला हमलामध्ये शनिबार भएका यी आक्रमण पनि शक्तिशाली भएको बताएका छन्  । रासस 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ