www.deltrox.com

यसरी फालिदैछन् आईजीपी अर्याल!

प्रकाशित मिति :

Upendra-kanta-aryal-IGP-Policeकाठमाडौं। सुडान घोटला प्रकरणमा तत्कालिन आईजीपी रमेशचन्द्र ठकुरीको जस्तै नियत वर्तमान आईजीपी उपेन्द्रकान्त अर्यालले भोग्नु पर्ने अवस्था देखिएको छ । आईजीपी अर्यालको कुर्सी पनि हतियार काण्डले धरापमा परेको छ । सुडान काण्डमा जस्तै हतियार खरिद प्रकरणमा पनि संसदको समितिले छानबिन थालेपछि अर्याल अप्ठेरोमा परिसकेका छन् ।

संगठनमा दिनप्रतिदिन अलोकप्रिय हुँदै गएका आइजीपी अर्याललाई एकपछि अर्को समस्या पनि थपिदैछ । सार्क सम्मेलनको पूर्वसन्ध्यानमा यूरोप घुम्न जान लागेका अर्याललाई गृहमन्त्री वामदेव गौतमले हप्काएपछि भ्रमण रद्द गरेका छन् । यही हप्ता उनलाई अर्को टेन्सन पनि आइपरेको हो । संसदको सार्वजनिक लेखा समितिले हतियार खरिदमा भएको अनियमितताको छानबिनका लागि उपस्थित हुन पत्राचार गरेको छ ।

हतियार खरिदको छानबिनबाट उम्कन अर्याललाई त्यति सजिलो छैन । किनकि यो छानबिनको पर्दा पछाडी धेरै खेलहरु पनि छन् । सार्वजनिक लेखा समितिको सभापतिमा एकीकृत नेकपा माओवादीका सभासद् जनार्दन शर्मा ‘प्रभाकर’ छन् । उनी रुकुमका हुन् । अनि आईजीपी अर्यालले साढे तीन वर्षे कार्यकालका लागि सबैभन्दा चुनौती ठानेका एआईजी सुरेन्द्रबहादुर शाह पनि रुकुमकै हुन् । प्रभाकर र शाह एकै जिल्लाका मात्र नभई मन समेत मिल्ने साथी हुन् । गत वर्ष आईजीपीको दौड हुँदा शाहलाई आईजीपी बनाउन माओवादीभित्र लबिङ गर्ने प्रमुख व्यक्ति जनार्दन नै थिए । राजनीतिक तहमा शाहका उनी सबैभन्दा निकट व्यक्तिका रुपमा चिनिन्छन् ।

प्रहरी महानिरीक्षक अर्यालको कार्यकाल अझै करिब साढे दुई वर्ष बाँकी छ । त्यसकारण कार्यकाल पूरा गर्न नदिई उनलाई हटाएर आईजीपी हुने दाउमा अन्य एआईजी पनि छन् । जसमा राजेन्द्रसिंह भण्डारी, सुरेन्द्र शाह, बिज्ञानराज शर्मालगायत छन् । उनीहरुमध्ये सबैभन्दा बलियो शाह नै छन् ।

यसअघि पनि संसदको राज्य व्यवस्था समितिले सुडान भ्रष्टाचार प्रकरणमा छानबिन गर्दा तत्कालिन आईजीपी रमेशचन्द ठकुरी हटेर रविन्द्रप्रताप शाह आईजीपी भएका थिए । यसपटक पनि नेपाल प्रहरीमा त्यस्तै प्रकरण दोहोरिने सम्भावना छ ।

त्यसो त आईजीपी अर्यालको व्यक्तिगत हठका कारण प्रहरी संगठन अस्तव्यस्त बन्न पुगेको छ । संगठनको हितमा भन्दा व्यक्तिगत स्वार्थलाई केन्द्रबिन्दुमा राखेर अर्यालले निर्णयहरु गर्न थालेपछि संगठनमा चरम निराशा छाएको हो । अर्याल आईजीपी भएको ११ महिना बित्दा पनि एआईजी बढुवाको विवाद टुंगिन सकेको छैन ।

पछिल्लो समय अदालतले बढुवा गर्न आदेश दिएका चार डीआईजी बढुवा नगर्न उनले लबिङ गरेका छन्। छठ पर्व अघि आफ्ना मित उपेन्द्र महतोमार्फत प्रधानन्यायाधीश रामकुमार शाहलाई भेटेर बढुवा हुन नदिन आग्रह समेत गरेको स्रोतको दावी छ ।

प्रहरीमा नौ जना मात्र एआईजी राख्ने गरी नियम संशोधन गराएर गत साउन २९ गते सरकारले सात र दुई गरी नौ जना डीआईजीलाई एआईजीमा बढुवा गरेको थियो । तर पनि अदालतले अन्य चार जनालाई बढुवा गर्न परमादेश दिएपनि अर्यालकै कारण सरकारले बढुवा भएको छैन ।

नक्कली भ्याट विलमा तानिदै डीआईजी नक्कली सुराकी खडा गरेर सुनबाट करोडौं सुराकी कमिशन खाएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको छानविनमा परेका मध्येक्षेत्रका डीआईजी प्रकाश अर्यालमाथि अर्को आपत आइपरेको छ । ३५ किलो सुन प्रकरण्ँमा करिब ३ महिना पहिले सोधपुछको लागि अख्तियारले डीआइजी अर्यालमाथि वयान लिइ छानविन गरिरहेको छ । तर छानविनलाई प्रभावमा पार्न आईजीपी उपेन्द्रकान्त अर्यालले डीआईजी अर्याललाई सुरक्षा सम्बन्धि तालिममा अमेरिका पठाएका छन् । अख्तियारको अनुसन्धानको निरन्तर घेरामा रहेका डीआईजीलाई बचाउन आईजीपीले अन्य डीआईजीहरुमध्ये एकलाई पठाउनुपर्नेमा षड्यन्त्र मुलक ढंगले अर्याललाई नै पठाएर चोखो बनाउन खोजेका हुन् ।

यता अख्तियारले भने डीआईजी अर्यालको अर्को कर्तुत फेला पारेको छ । लुम्बिनी अञ्चल प्रहरी कार्यालयमा एसएसपी छदा अर्यालले गाडी मर्मत गरेको भन्दै ८० हजार रुपैयाँको नक्कली भ्याट विल कार्यालयमा पेश गरी कमिसन खाएको विषयमा पनि अख्तियारले छानविन गरेको थियो । त्यतिबेला अख्तियारका सचिव भगवती काफ्ले नै प्रमुख थिए । अख्तियारले डीआईजी अर्यालमाथि विभागिय कारबाही गरी जानकारी दिन प्रहरी प्रधान कार्यालयलाई पत्र समेत काटेको थियो । तर अर्यालले त्यतिबेला राष्ट्रिय अनुसन्धान विभागका प्रमुख देवीराम शर्मामार्फत काफ्लेलाई दबाब दिन लगाई कारबाहीबाट जोगाएका थिए । शर्मा डीआईजी अर्यालका मामा समेत हुन् । त्यतिबेला प्रहरीमा आईजीपी रहेका कुवेरसिंह रानाले डीआईजी अर्यालको पत्र लुकाएर उल्टै पुरस्कृत गरी बढुवा गरेर सिआईवीको प्रमुख बनाएका थिए । तर सिआईवीमा गएपछि अर्याल सुन काण्डमा तानिएका हुन् ।

बाहिरबाट हेर्दा कडा स्वभावका अर्याल थोरै मात्र भारतीय र नेपाली तस्करहरुसँग विशेष सम्बन्ध भएका प्रहरी अधिकारी हुन् । उनलाई भारतीय तस्करहरुले गोरखपुरमा एउटा विशाल घर खरिद गरिदिएको विषयमा पनि अख्तियारले अनुसन्धान गर्ने भएको युनाइटेड पोष्ट साप्ताहिकले लेखेको छ।

Scroll To Top