www.deltrox.com

एडीबीको २० अर्ब सहयोग पूर्वाधार पुनर्निर्माणमा

प्रकाशित मिति :

adb1काठमाडौँ । एसियाली विकास बैंक (एडिडबी)ले भूकम्पबाट क्षतिग्रस्त भएका भौतिक संरचना निर्माणमा सहयोग गर्ने भएको छ । अर्थमन्त्री डा रामशरण महत र नेपाल भ्रमणमा रहनुभएका एसियाली विकास बैंकका महानिर्देशक हुँ किमबीच अर्थमन्त्रालयमा आज भेटमा उहाँले बैंकको सहयोग पूर्वाधार निर्माणमा केन्द्रित हुने बताउनुभयो । “नेपालको पुनर्निर्माणमा सहयोग गर्न बैंक तयार रहेको र पूर्वाधारका क्षेत्रमा सहायता केन्द्रित गरिने छ,”–उहाँले भन्नुभयो । आगामी असार १० मा हुने नेपाल सहायता सम्मेलन र नेपालको पुनर्निर्माणमा बैंकको सहयोगका बारेमा पनि उहाँहरूबीच छलफल भएको थियो । अर्थमन्त्रीले नेपाल सहायता सम्मेलनमा बैंकको उच्च नेतृत्वको सहभागिता चाहेको स्पष्ट पार्नुभएको अर्थ मन्त्रालयले जनाएको छ । अजरबैजानको बाकुमा हालै सम्पन्न बैंकको बैठकमा नेपालको पुनर्निर्माणमा बैंकले रु २० अर्ब बराबरको सहयोग घोषणा गरेको थियो । अर्थमन्त्री डा रामशरण महतले भूकम्पले ध्वस्त भएको नेपालको पुनर्निर्माणका लागि रु पाँच देखि १० खर्ब सम्म लाग्नसक्ने प्रारम्भिक अनुमान महानिर्देशकसमक्ष प्रस्तुत गर्नुभयो । अर्थमन्त्रीले बैंकको सहयोग पुनर्निर्माणका साथै सडक, सिँचाइ र विद्यालयहरुको निर्माणमा खर्च गर्न चाहेको बताउनुभयो । उहाँले बैंकबाट प्राप्त हुने सहयोग प्राविधिकभन्दा पुँजीगत हुनुपर्नेमा जोड दिनुभयो । भेटमा अर्थसचिव सुमनप्रसाद शर्मा,बैंकका यहाँस्थित आवासीय निर्देशक केनिची योकोयामा, सहसचिव मधुकुमार मरासिनीलगायत अधिकारीको उपस्थिति थियो ।

Scroll To Top