www.deltrox.com

पद्मसुन्दर लावतीले गठन गरे राप्रपा नेपालको समानान्तर समिति

प्रकाशित मिति :

Cow-RPPN-Kamal-Thapa-Flag-President-1काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालको सुदृढीकरण अभियानले समानान्तर पार्टी समिति स्थापना गरेको छ। पत्रकार सम्मेलनमा अभियानका संयोजक पद्मसुन्दर लावतीले पार्टीका अध्यक्ष कमल थापाले संवैधानिक राजतन्त्र, हिन्दू राष्ट्रलगायत सैद्धान्तिक धरोहरमा गलत तरिकाले परिवर्तन गर्न खोजेको र निष्ठावान् कार्यकर्ताले अध्यक्ष थापालाई सुध्रन अवसर दिँदा पनि त्यसो हुन नसकेको आरोप लगाउँदै आफ्नो अध्यक्षतामा १६४ सदस्यीय समिति गठन गरिएको जानकारी दिनुभयो ।

उहाँले पार्टीको विधान २०४८ बमोजिम समानान्तर रुपमा केन्द्रीय कार्य समिति गठन गरिएको र केन्द्रदेखि जिल्ला, क्षेत्र, गाउँ र वडासम्म सङ्गठन विस्तार तथा विभिन्न जनवर्गीय सङ्गठन, विभाग र समिति चाँडै निर्माण गरिने बताउनुभयो ।

नवगठित समितिका सहअध्यक्षमा गणेश शेरचन तथा उपाध्यक्षमा दिलविकास राजभण्डारी, प्रल्हाद साह, सत्यमान लामा, सोनेलाल यादव, रमा थापा र रुपसिंह थापा, महामन्त्रीमा श्याम तिमिल्सिना, बालकृष्ण नेउपाने र रामु राई तथा कोषाध्यक्षमा तीर्थप्रसाद श्रेष्ठ र प्रवक्तामा सगुनसुन्दर लावती हुनहुन्छ ।

दोस्रो संविधानसभाको चुनावपछि पार्टीका अध्यक्ष थापाले कार्यकर्ता पङ्क्तिको माग र धैर्यलाई उपेक्षा गरी एकपक्षीय रुपमा सभासद् नियुक्त गरेको तथा पार्टीको घोषित अडानविपरीत गणतन्त्रको कित्तामा उभिएको आरोप लगाउँदै लावती समूहले साउन महिनादेखि अभियान सञ्चालन गरेको थियो । रासस

Scroll To Top