www.deltrox.com

उदयपुरमा पनि एयरपोर्ट, त्रियुगा विमानस्थल निर्माण प्रक्रिया अन्तिम चरणमा

प्रकाशित मिति :

udayapur -Hamrakura.comगोपाल पोखरेल, उदयपुर। सहरी विकास मन्त्री डा नारायण खड्काले सगरमाथा अञ्चलका पाँच, कोसी अञ्चलको भोजपुर र केही भारतीय भूभागका लागि समेत पाएक पार्ने गरी उदयपुरको जोगीदह गाविसमा त्रियुगा बिमानस्थल निर्माण हुन लागेको बताउनुभएको छ। सरकारले बिमानस्थल निर्माणकालागि चालु आ ब मा १ करोड रुपैयाँ विनियोजन गरेको र नेपाल नागरिक उड्यन प्राधिकरणलाई जग्गा हस्तान्तरण गर्ने प्रक्रिया सुरु हुन लागेकाले बिमानस्थल निर्माण हुने निश्चित भएको उहाँले बताउनुभयो।

“प्राविधिकहरुले यो स्थान जलबायु र वातावरणीय हिसाबबाट अति उपयुक्त छ भनेर सिफारिस गरेका छन्” मन्त्री खड्काले भन्नुभयो,“ हिउँदमा तराइमा हुस्सुको समस्या छ तर, यहाँ हुस्सु लाग्दैन। भिजिबिलिटी राम्रो भएकाले यसलाई तराइका एअरपोर्टको हव बनाउने योजना छ।” ४०/४५ सिटको जहाज बस्न सक्ने र अन्य स्थानमा ल्यान्ड हुन नसकेका जहाजहरुलाई पनि यहाँ ल्याएर ल्यान्ड गर्न सक्ने क्षमताको बिमानस्थल बन्न लागेको जानकारी उहाँले दिनुभयो।

त्रियुगा बिमानस्थल निर्माण समितिका अध्यक्ष वीरेन्द्र बस्नेतले नागरिक उड्यन प्राधिकरणको टोलीले सिमाकंन र नक्साकंन गर्ने काम सकिसकेको बताउनुभयो। “वातावरणीय प्रभाव मूल्याकंनको काम केही मात्रै बाँकी छ”उहाँले भन्नुभयो,“त्यसपछि प्राधिकरणलाई जग्गा हस्तान्तरण गरिन्छ र निर्माण कार्य सुरु हुन्छ।”

अध्यक्ष बस्नेतका अनुसार विमानस्थल निर्माणका लागि ८१ बिघा जमिन हस्तान्तरणको अबस्थामा छ। सो जमिनको लम्बाई १ हजार ७ सय ५० मिटर रहेको छ। उदयपुरमा बिमानस्थल निर्माणका लागि विसं २०३१ सालदेखि नै चासो राखिएपनि हालसम्म पूरा हुन सकेको थिएन। तत्कालीन गृह सहायक मन्त्री नर्सिङ्गभक्त तुलाचनले पहिलोपटक र त्यसपछिका बिभिन्न समयमा मन्त्री, राज्यमन्त्री तथा सहायक मन्त्रीहरुले पटकपटक सिलान्यास गरेपनि त्यो भन्दा बाहेक अरु काम हुन सकेको थिएन । तर, यसपटक गरिएको अन्तिम सर्भेक्षणपछि बिमानस्थल निर्माण कार्यले पूर्णता पाउने प्राय निश्चित भएको निर्माण समितिका सचिव परमेश्वर घिमिरेले जानकारी दिनुभयो।

जोगिदह गाविस ९ स्थित मोथियाही सामुदायिक बन उपभोक्ता समिति र वडा नं ६ को कङ्ग सावउसले बिमानस्थल निर्माण गर्ने प्रयोजनका लागि नागरिक उड्यन प्राधिकरणलाई निशुल्क जग्गा उपलब्ध गराएका छन्। यसअघि ट्विनेटर बिमान अवतरण हुने गरी साढे ७ सय मिटर धावनमार्गको सर्वेक्षण गरिएकोमा अहिले एटिआर ४२ जेटस्टिम एभ्रो बिमान अवतरण हुनसक्ने गरी सर्वेक्षण गरिएको हो। हाल १ हजार ७ सय ५० सय मिटर लम्वाई रहने धावनमार्गको बिस्तृत सर्वे गरिएको टोलीका सर्वेयर राजिव बरालले बताउनुभयो। “छोटो धावनमार्गको डिजाइन पहाडि क्षेत्रमा मात्र प्रयोग हुने भएकाले पुरानो सर्वेक्षण परिवर्तन गरिएको हो”उहाँले भन्नुभयो,“धावनमार्गको बिचवाट दुवै तर्फ ७५/७५ मिटर गरी जम्मा १ सय ५० मिटर चौडाइको सर्वेक्षण गरेका छौं।”

नेपाल सरकारले चालु आबमा उदयपुर सहित पाँच ठाउँमा बिमानस्थल निर्माणका लागि नागरिक उड्डयन प्राधिकरणलाई स्वीकृति दिएको छ। वर्षामा कुहिरो र हिउँदमा हुस्सु नलाग्ने भएकोले बिमान उडान र अवतरणमा समस्या नहुने भएकाले यहाँबाट पूर्वी नेपालको विराटनगर, भद्रपुर बिमानस्थलसँग टच फ्लाइट समेत हुनसक्ने प्राबिधिकको भनाई छ।

Scroll To Top