www.deltrox.com

काँग्रेस पदाधिकारी बैठकद्वारा दलहरुलाई जिम्मेवार बन्न आग्रह

प्रकाशित मिति :

[caption id="attachment_163936" align="aligncenter" width="600"]प्रधानमन्त्री निवास बालुवाटार। तस्विर: रमेश पोख्रेल प्रधानमन्त्री निवास बालुवाटार। तस्विर: रमेश पोख्रेल[/caption]

काठमाडौँ। नेपाली काँग्रेसको पदाधिकारी बैठकले माघ ८ मा नयाँ संविधान जारी गर्न राजनीतिक दलहरुसँगको संवाद तथा वार्तालाई निरन्तरता दिने निर्णय गरेको छ।प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको बैठकले सो मितिमा संविधान जारी गर्नुको अर्काे विकल्प नरहेको ठहर गर्दै यसका लागि दलहरुलाई गम्भीर र जिम्मेवार बन्न आग्रहसमेत गरेको छ ।

सभामुख सुवास नेम्वाङले दलहरुलाई संविधानका मस्यौदामा सहमतिका लागि दिनुभएको समयसीमा आज सकिँदैछ। अर्काेतर्फ संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिले संविधानसभाका प्रस्तुत गरेको प्रतिवेदनमाथि सभासद्हरुले आफ्नो धारणा राख्ने क्रम नै छ।

नेकाका सभापति एवम् प्रधानमन्त्री सुशील कोइरालाको अध्यक्षतामा बसेको बैठकले संविधानका विवादित अन्तरवस्तुका बारेमा सहमति जुटाउन सत्ता साझेदार दल, प्रमुख प्रतिपक्षी दल, मधेसवादी दल तथा साना दलहरुसँग अधिकतम लचकताका साथ प्रस्तुत हुने निर्णय गरेको नेका उपसभापति रामचन्द्र पौडेलले जानकारी दिनुभयो ।

बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले नेका शासकीयस्वरुप, निर्वाचन प्रणाली, न्याय प्रणाली एवम् राज्यको पुनःसंरचनाका विषयमा लचकता अपनाउन तयार रहेको जानकारी दिनुभयो ।

मुख्य रुपमा दलहरुबीच संविधानमा रहने ती चार विषयमा अहिलेसम्म सहमति जुट्न सकेको छैन । नेका पदाधिकारी बैठकले संवैधानिक संवाद समितिमा नेका, नेकपा (एमाले), राष्ट्रिय प्रजातन्त्र पार्टीद्वारा प्रस्तुत नौ बुँदाभित्रैबाट सहमति खोज्न पनि जोड दिएको छ ।

नेकाका महामन्त्री एवम् सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्री प्रकाशमान सिंहले माघ ८ मा संविधान जारी गर्न दलहरुले आ–आफ्ना अडान त्याग्नुपर्छ भन्नुभयो ।

आजै संविधानका विवादित अन्तरवस्तुमा सहमति जुटाउन सत्ता साझेदार दल र प्रमुख प्रतिपक्षी दल, सत्ता साझेदार र प्रमुख प्रतिपक्षी दलसहित मधेसवादी दलको बैठक छुट्टाछुट्टै रुपमा बालुवाटारमा बस्दैछ ।

नेका पदाधिकारी बैठकमा सभापति कोइराला, वरिष्ठ नेता शेरबहादुर देउवा, उपसभापति पौडेल, महामन्त्रीद्वय सिंह र कृष्णप्रसाद सिटौलालगायतको सहभागिता रहेको थियो ।

Scroll To Top