www.deltrox.com

ढाकामा सरकारविरुद्ध आन्दोलन चर्कियो, दुई विपक्षी कार्यकताको गोली लागी मृत्यु

प्रकाशित मिति :

ढाका। बङ्गलादेशमा विपक्षी दलमाथि आइतबार लगाइएको प्रतिबन्धपछि सोमबार राजधानी ढाकामा व्यापक आन्दोलन भएको छ। जसका कारण सोमबार कम्तीमा पनि दुई जना प्रदर्शनकारी मारिएका बताइएको छ । प्राप्त समाचारमा ती प्रदर्शनकारीको हत्याको विषयलाई लिएर सोमबार राजधानी ढाका नै तनावग्रस्त भएको छ ।

dhaka-strikeबङ्गलादेशमा गत वर्ष भएको आमनिर्वाचनको एक वर्ष पुरा भएको विरोधमा विपक्षी दलले आन्दोलन सुरु गरेको हो । सो निर्वाचन विपक्षीले बहिस्कार गरेका थिए र यसवर्ष पहिलो वार्षिकीको नै विरोध गरेका हुन् । आइतबार देखि नै उत्पन्न तनावका कारण प्रहरीले राजधानीमा आइतबार अपरान्हदेखि नै विरोधमा प्रतिबन्ध लगाएको थियो । प्रमुख प्रतिपक्षी नेता खालेदा जियालाई ढाकामा उहाँकै कार्यालयमा आईतबारदेखि थुनेर राखिदिएको छ ।

उक्त निर्वाचनलाई बहिस्कार गरेको जियाको दलले आइतबारदेखि सो आन्दोलनको आह्वान गरेको हो । जियाले सोमबार ‘‘प्रजातन्त्रको हत्या भएको दिन’’ भनी घोषणा गर्नुभएको छ ।

उहाँको दलले आमप्रदर्शन गर्ने चेतावनी दिएपछि प्रहरीले विपक्षीका कार्यक्रमहरुप्रति नै व्यापक मात्रामा धरपकड गरेको थियो । विपक्षी बङ्गलादेश नेसनालिस्ट पार्टी (बीएनपी) तथा उसका सहयोगी दलहरूले गत एक वर्षदेखि नै आन्दोलनमा छन् ।

बङ्गलादेशको उत्तरी सहर नातोरमा भएको झडपमा परी ती विपक्षी दलका कार्यकर्ता मारिएका हुन् । सुरुमा ती कार्यकर्ता राजधानी ढाकामा नै जारी रहेको प्रहरी धरपकडमा परी मारिएको बताइएको थियो ।

तर सोमबार अपरान्ह बङ्गलादेशको विपक्षी दलका दुई जना कार्यकर्ता उत्तरी सहर नारतोरमा मारिएका बताइएको छ । सत्तारुढ दल र विपक्षी दलका कार्यकर्ताबीच सोमबार बिहान भएको झडपमा परी ती मारिएका समाचारमा जनाइएको छ । जियालाई कार्यालयमै बन्द गरिएको छ र प्रहरीले उक्त क्षेत्रलाई घेराबन्द गरेर राखेको छ । सत्ताधारी दलले पनि विपक्षीहरुको प्रतिकारस्वरुप सभा आयोजना गर्ने घोषणा गरेपछि प्रहरीले राजधानीमा हिंसा हुन नदिन आइतबार साँझ ५ः०० बजेदेखि विरोधका कार्यक्रम हुन नदिने बताएको हो ।

प्रहरीले ढाकामा प्रतिबन्ध लगाएपनि केही परको सहरमा सत्ताधारी दल र विपक्षीका कार्यकर्ताहरुबीच सोमबार बिहानै झडप भएपछि स्थिति थप तनावपूर्ण बन्ने देखिएको छ ।

गएरातिदेखि नै ती कार्यकर्ताहरु ढाका आइपुग्ने त्रासले राजधानी जान लागेका बस तथा अन्य यातायात रोकिएका समेत रोकिएका छन् । शनिबार मध्यरातमा नै प्रहरीले प्रमुख प्रतिपक्षी दलको राजधानीस्थित मुख्यालयमा ताल्चा लगाइदिएको छ ।

शनिबारदेखि नै सरकार विपक्षीप्रति कडा रुपमा प्रस्तुत हुने सङ्केत देखाएको हो । यसले विपक्षीका कार्यकर्तालाई थप आक्रोशित तुल्याएको पनि समाचारमा जनाइएको छ ।

स्थानीय टेलिभिजन च्यानलहरूले पनि विपक्षी दलका कार्यकर्ताहरुको आन्दोलनको कार्यक्रमका बारेमा जानकारी दिएका छन् । राजधानी ढाकामा निकै ठूलो सङ्ख्यामा प्रहरी तैनाथ गरिएको छ ।

आफ्नो कार्यालयमै नजरबन्दमा राखिएकी विपक्षी नेता जियाले आफ्ना समर्थकहरुलाई ठूलो सङ्ख्यामा सडकमा ओर्लिन र कडा मात्रामा आन्दोलनमा आउन आह्वान गर्नुभएको छ ।

उहाँले विपक्षी दलले कडा रुपमा आन्दोलन अघि बढाउने र यसले प्रधानमन्त्री शेख हसिनालाई स्वतन्त्र एवम् निश्पक्ष रुपमा बहुदलीय सहभागितामा आम निर्वाचन गराउन बाध्य पार्ने धारणा राख्नुभएको छ ।

उत्तरी नगर नातोरका एकजना प्रहरी अधिकारीले सत्ताधारी अवामी लिगकै कार्यकर्ताले चलाएको गोली लागी दुई जनाको ज्यान गएको र त्यसमा परी अरु कम्तीमा पनि १५ जना नराम्रारी घाइते भएका बताएका छन् ।

सत्ताधारी दल नै विभिन्न दस्तासहित सडक सङ्घर्षमा ओर्लिएका कारण सडक आन्दोलन थप चर्किने र यसले तनावको अवस्था पनि सिर्जना गर्नसक्नेमा ढाकाबासीमा चिन्ता छाएको छ ।

Scroll To Top