www.deltrox.com

प्रधानमन्त्री कोइराला सुझाव संकलनका लागि गृहजिल्ला तथा आसपासमा व्यस्त

प्रकाशित मिति :

sushil-sambidhan-sujhabबसन्त शर्मा, नेपालगन्ज । लामो समय पछि सोमबार आफ्नो गृह जिल्ला बाँके आएका प्रधानमन्त्री सुशिल कोइरालाले पञ्चकन्याको स्वागत ग्रहण गर्दै निर्भिक भएर संविधानको मस्यौदामा सुझाव दिन सबैलाई आह्वान गर्नुभयो । संक्षिप्त पत्रकार जिज्ञांसामा उहाँले संविधान जारी हुने कुरामा सबैलाई विश्वस्त रहन आग्रह गनुभएको थियो।

नागरिक सम्बन्ध तथा संविधान सुझाव समितिले संविधानको पहिलो मस्यौदा माथिको सुझाव संकलन गर्न आयोजना गरिएका बाँके जिल्लाका ४ वटै निर्वाचन क्षेत्रमा पुगेर प्रधानमन्त्री कोइरालाले लोकतन्त्रमा जनता नै शक्तिको श्रोत भएकाले विना हिचकिचाहट आफ्ना सुझावहरु राख्न सबैमा आग्रह गर्नुभएको हो ।

बाँके क्षेत्र नं.३बाट निर्वाचन जितेका नेपाली काँग्रसका सभापति समेत रहनुभएका कोइरालाले लोकतन्त्रलाई कम्जोर पार्न खोज्नेहरु आँफै समाप्त भएर जाने भएकाले अब लोकतान्त्रित संविधान जारी हुने कुरामा ढुक्क रहँदै आँफुलाई विश्वास गर्न जिल्लावासीलाई आग्रह गर्नुभयो ।

देश भरी नै विभिन्न दलका थुप्रै नेताहरुमाथि आक्रमण र दूरब्यवहारका घटनाकाबीच प्रधानमन्त्री कोइराललालाई त्यो अवरोध खासै सामना गर्नु परेन । नेपालगन्को सुर्खेतरोडमा सामान्य विरोध, हिरमिणियामा विरोध सभा र कोहलपुरमा हिन्दुराज्य कायम गराउन दवाव स्वरुप सामान्य विरोधका कार्यक्रम भए ।

बाँके क्षेत्र नं.३को सुझाव संकलन भइरहेको स्थानिय भेरी प्राविधिक शिक्षालय पुगेका प्रधानमन्त्रीले कार्यक्रमका सहभागिहरुलाई सम्बोधन गर्दै देशमा भएका थुप्रै पटकका आन्दोलनका उपलव्धिकोे रक्षा गर्दै अब जनतालाई हक अधिकार दिने बेला आएकाले लोकतन्त्रको संस्थागत गर्नकालागि संविधान आवश्यक रहेको बताउनुभयो ।

त्यसैगरी क्षेत्र नं.२को ग्रामिण भेग हिरमिणीया पुग्नुभएका प्रधानमन्त्री कोइरालाले सबै जातजाती, धर्म, लिंग, भाषा र पिछडिएका वर्गहरुको हक र अधिकार सुनिश्चित गर्ने संविधान जारी गराउन आँफु लागि परेकाले संघियताको विषयमा उठेका सवालको सहि सम्बोधन हुने बताउनुभयो । उता बाँकेकै क्षेत्र नं १ को कोहलपुरमा राप्रपा नेपालको समान्य विरोध सामना गर्नु परेका प्रधानमन्त्री कोइरालाले सबैले लोकतन्त्रको अनुभूति गर्ने खालको संविधान ल्याउन आफ्नो प्रयास रहेको भन्दै मूलुकमा धार्मिक स्वतन्त्रता रहने बताउनुभएको थियो ।

यता बाँकेकै क्षेत्र नं. ४ खजुरामा आयोजित सुझाव संकलन कार्यक्रममा पुगेका प्रधानमन्त्री कोइरालाले संघियता,प्रदेशको सिमाकंन र स्वतन्त्र न्यायपालिकाको विषयमा संविधानसभाले निर्णय गरेर जाने बताउनुभएको थियो ।

प्रधानमन्त्री कोइरालालाई जिल्लाभरीमा सुझाव दिन राखिएका कार्यक्रममा हिन्दु राज्य कायम गराउन,संघियताको विषयमा स्पष्ट रहन,पहिचान र सामाजिक सदभाव कायम राख्न जिल्ला वासीहरुले सुझाव दिइएका थिए ।

सोमबार विहान बुद्ध एयरको जाहाजबाट नेपालगन्ज,राँझा विमानस्थल अवतरण गरेका प्रधानमन्त्री कोइरालाई नेपाली काँग्रेस बाँकेले भव्य स्वागत सहित नगर भित्र्याएको थियो । करिव २० प्रतिशत मुस्लिम जनसंख्या रहेको बाँकेमा हरेक साल जसो इद मनाउन आउने कोइराला यसपटक इदको दिनै नआएपनि पार्टी कार्यालयमा तरुणदल बाँकेले आयोजना गरेको इद मीलन कार्यक्रममा मुस्लिम टोपी लगाउँदै मुस्लिम धर्मावलविंहरुको मुख्य खानेकुरा सेवांइ खाएर कार्यक्रममा प्रधानमन्त्री कोइराललाले भावुक मुद्रामा करिव १ घण्टा भाषण गर्नुभएको थियो ।

आफुलाई बाँकेवासीले यहाँसम्म पुर्याएको र बाँके काँगे्रसलाई सबैले मिलाएर देशभरीमा एउटा नमुनाका रुपमा देखाउन समेत आग्ह गर्नुभयो । तरुणदल बाँकेका अध्यक्ष विरेन्द्र शाहको अध्यक्षतामा सम्पन्न इद मीलन कार्यक्रमका प्रमुख अतिथि पार्टी सभापति कोइराललाले अब बाँके काँग्रेसलाई अघि बढाउने जिम्मेदारी तरुणहरुको नै भएकाले गम्भिर भएर संगठन र देशको हितमा काम गर्न सबैलाई निर्देशन समेत दिनुभएको थियो ।

यसैबीच २ दिने जिल्ला भ्रमणमा आउनुभएका प्रधानमन्त्री कोइरालाले प्रधान सेनापति गौरव सम्शेर जवरालाई पनि नेपालगन्ज बोलाएर सोमबार आर्मी अफिसर्सहरुसँग राँझा स्थित चारवाहिनिमा संविधान जारी गराउने अवस्थाको सुरक्षा अवस्था र अन्तर्राष्टिय अभ्यासका विषयमा विशेष छलफल गर्नुभएको थियो । २ दिने भ्रमणमा संविधानको मस्यौदा माथि सुझाव संकलनकालागि प्रधानमन्त्री कोइराला मगंलबार दागं र सुर्खेत जाने कार्यक्रम रहेको छ ।

Scroll To Top