www.deltrox.com

आफ्नै स्याटेलाइट स्थापनाको लागि नेपालले प्रकिया शुरु गर्ने

प्रकाशित मिति :

अजयबाबु शिवाकोटी। काठमाडौ। आफ्नै स्याटेलाइटको लागि नेपालले पहल शुरु गर्ने भएको छ। सूचना तथा सञ्चार मन्त्रालयले यसको पहल शुरु गरेको हो। तर यस बिषयका जानकार नेपालमा नभएकोले अन्तराष्ट्रिय टेलिकम यूनियन(आइटीयू)सँग विज्ञ परामर्श लिने सोचमा मन्त्रालय रहेको छ। यसका लागि मन्त्रालयले आइटीयूलाई पत्र समेत लेख्न लागेको छ। आइटीयूको परामर्श र सुझाव पछि मन्त्रालयले थप रणनीति तय गर्ने बताइएको छ।

सूचना तथा सञ्चार मन्त्री राजकिशोर यादवले देशको छुट्टै स्याटेलाईट हुनुपर्ने भन्दै प्रधानमन्त्री डा बाबुराम भट्टराई, अर्थमन्त्री बर्षामान पुन, मुख्यसचिव लिलामणी पौडेल लगाएतका सम्बन्धित नेतृत्व पदाधिकारीसँग केहि चरण कुरा भइसकेको बताउनुभयो।

दुई वर्ष अगाडी एक क्यानेडीयन कम्पनी एनियारा कम्युनिकेशनले यसको सम्भाव्यता अध्ययनको लागि चासो देखाएपनि थप काम अगाडी नबढाएपछि उसँगको सम्वन्ध मन्त्रालयले तोडेको छ। तीन महिना अगाडी उसलाई पत्र पठाएर सम्भाव्यता अध्ययनको काम कहाँ पुगेको जानकारी माग्दै थप काम अगाडी बढाउन पत्र लेखेपनि थप प्रक्रिया अगाडी नबढाएपछि उसँगको सम्वन्ध मन्त्रालयले तोडेको हो। उसले सम्भाव्यता अध्ययनको लागि सात करोड लाग्ने भन्दै मन्त्रालयमा प्रिजेन्टेसन समेत गरेको थियो। अब मन्त्रालयले यसलाई विल्कुल नयाँ प्रक्रियाबाट अगाडी बढाउन पहल शुरु गरेको छ।

प्रत्येक देशको आ आफ्नो अर्विटल स्लट हुने र त्यो स्लटमा स्याटेलाईट लञ्च गर्ने सम्वन्धित देशको अधिकार रहने गर्दछ। धेरैजसो देशहरुले आ आफ्नो अर्विटल स्लटमा स्याटेलाइट 'लञ्च' गरिसकेका छन्। तर नेपालको भने आफ्नै स्याटेलाइट छैन। सन् २०१५ सम्म आफ्नै स्याटेलाइट 'लञ्च' गर्न सकिएन भने त्यो स्लटमा अरु देशले आएर आफ्नो स्याटेलाइट राख्न सक्छन्। आइटीयूले नेपाल सरकारलाई २०१५ सम्म आफ्नै स्याटेलाइट 'लञ्च' गर्न नसके त्यो स्लट अरुको हुने चेतावनी पनि दिइसकेको मन्त्री यादवले जानकारी दिनुभयो। सन् २०१०-२०११बाट नेपालले यो पहल शुरु गरेको थियो मन्त्रालयका फ्रिक्वेन्सी शाखाका प्रमुख अनुप नेपालले बताउनुभयो। सोही पहलका आधारमा आइटीयूले २०१५ सम्मको समयसीमा दिएको तर पहल निरन्तर  देखियो भने समयसीमा केहि वढ्न सक्ने नेपालको भनाई छ। तर यसमा आइटीयू त्यसमा 'कन्भिन्स' चाँहि हुनुपर्छ नेपालले थप्नुभयो।

इन्जिनियरिङ पृष्ठभुमीका यादवले मन्त्री भएदेखिनै देशको आफ्नै स्याटेलाइट हुनुपर्ने बताउँदै आउनुभएको थियो। सुरक्षा र राष्ट्रियताको दृष्टिकोणबाट पनि देशको आफ्नै छुट्टै स्याटेलाइट हुनुपर्ने तर्क गर्दै यादवले व्यवसायिक हिसावले पनि नयाँ स्याटेलाईटको सम्भावना रहेको बताउनुभयो। हाम्रो आफ्नै बजारको लागि पनि एउटा स्याटेलाइट चलाउन सकिने अवस्था रहेको छ। करोडौ रुँपैया प्रत्येक महिना टेलिभिजनहरुले स्याटेलाइट प्रयोग गरे वापत भाडा तिरिरहनुपरेको जनाउँदै आफ्नै देशको भए बिदेश जाने त्यो खर्च जोगिने उहाँले बताउनुभयो। मोवाइल, रेडियो लगायतमा पनि स्याटेलाइटको प्रयोग हुनसक्छ। अवस्थितिको हिसावले नेपालको अवस्था रणनीतिक महत्वको रहेको उल्लेख गर्दै उहाँले यसलाई भारत चीन लगायत अमेरिका र यूरोपका देशहरुलाई पनि स्याटेलाइट भाडामा लगाएर नाफा गर्न सकिने योजना मन्त्रीले सुनाउनुभयो। व्यवसायिक रुपमा पनि यो परियोजना सफल हुन्छ मन्त्री यादवको तर्क छ।

पैसा चाहि कहाँबाट जुटाउने योजना छ त मन्त्रीसँग भन्ने हाम्रो प्रश्नमा यादवले इच्छाशक्ति हुने हो भने पैसाको अभाव नहुने बताउनुभयो। हाम्रो आफ्नै आन्तरिक स्रोत परिचालन गरेर पनि रकम जुटाउन सकिन्छ। अर्थ मन्त्रालय, दुरसञ्चार प्राधिकरण, सञ्चयकोष लगायतको पैसा लगानी गर्न सकिने जनाउँदै उहाँले आन्तरिक स्रोत जुटाउन नसके लगानी गर्न बाह्य कम्पनीहरु पनि तयार रहने बताउनुभयो। जलविद्युतमा बिदेशीले लगानी गरेजस्तै स्याटेलाइटमा पनि बिदेशी लगानी भित्र्याउने सकिने उहाँको भनाइ छ। निश्चित प्रतिशत लगानीकर्ता कम्पनीहरुलाई निर्माण गरेवापत शेयर दिने र निश्चित वर्षपछि उनीहरुले लगानी फिर्ता लगेपछि देशकै एकलौटी हुनेगरि पनि काम गराउन सकिन्छ उहाँले योजना सुनाउनुभयो। विज्ञ सहयोगका लागि मित्रराष्ट्रहरु पनि तयार रहेको उहाँले जानकारी दिनुभयो। केहि देशसँग यस विषयमा कुरा भएको पनि छ उहाँले बताउनुभयो। स्याटेलाइट परियोजनाका नेपाली २० देखि ३० अर्व रुपैयाँसम्म लाग्ने अनुमान गरिएको छ। तर काम गर्न त्यति सजिलो भने छैन। हाम्रो आफ्नै स्याटेलाइट भएको हेर्न भने अझै केहि वर्ष कुर्नै पर्ने हुनसक्छ।

Scroll To Top