www.deltrox.com

हिन्दुहरुको महान् पर्व बडा दशैं शुरु, आज घटस्थापना

प्रकाशित मिति :

first-day-of dashain-gatasthapanaकाठमाडौँ। प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि सुरु हुने नेपालीको महान् पर्व बडा दसैँ आजदेखि सुरु भएको छ ।

यो पर्व आश्विन शुक्ल पूर्णिमासम्म धूमधामका साथ मनाउने गरिन्छ । बडा दसैँको पहिलो दिन आज घरघरमा घटस्थापना गरी दियो, कलश र गणेश स्थापना गरेर वैदिक विधिपूर्वक शक्तिकी अधिष्ठात्री देवी दुर्गाको आव्हान गरी पूजा आरम्भ गरिन्छ । आज बिहानै नजिकको नदी वा चोखो स्थलबाट बालुवा वा माटो ल्याई  गाईको गोबरले लिपपोत गरिएको पूजा कोठा अथवा दसैँ घरमा विधिपूर्पक राखेर त्यसमाथि यव अर्थात् जौ रोप्ने गरिन्छ । यस कार्यलाई जमरा राख्ने पनि भनिन्छ । यव अङ्कुर दुर्गा देवीको प्रिय वस्तु भएकाले आज यव रोपण गरी दुर्गालाई चढाएर विजयादशमीको दिन टीका प्रसादसितै समृद्धिको प्रतीक पहेँलो जमरा पनि ग्रहण गरिन्छ । जमरामा जौबाहेक अरु अन्न रोप्ने शास्त्रीय विधि नभएको धर्मशास्त्रविद् एवम् नेपाल पञ्चाङ््ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गोतमले बताउनुभयो । कुल परम्पराअनुसार कसैले अन्य अन्न पनि जौसितै रोप्ने गरेका छन् । आजैको दिन विधिपूर्वक घट अर्थात् घडा स्थापना गरी त्यही घडामाथि शक्तिस्वरुपा दुर्गाको पूजा आराधना गरिने भएकाले आजको दिनलाई घटस्थापना पनि भन्ने गरिएको हो । आज स्थापना गरिएको पूर्ण कलशको जलले अभिषेक गरी विजया दशमीका दिनमा दुर्गा देवीको प्रसाद ग्रहण गर्ने गरिन्छ । आज घटस्थापनाको साइत बिहान १० बजेर ४५ मिनेटमा रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । यस वर्ष तिथि टुटेका कारण असोज ८ गते नै घटस्थापना भनेर केही सम्प्रदाय विशेषले प्रचार प्रसार गरे पनि त्यो वैदिक मान्यताअनुरुप नभएको समितिका अध्यक्ष गौतमले बताउनुभयो । सूर्योदयकालमा औंसी भएका दिनमा घटस्थापना गर्न नहुने र सूर्योदयकालमा प्रतिपदा भएका दिनमा घटस्थापना गर्नुपर्छ भन्ने शास्त्रीय मान्यताअनुसार नै समितिले आजको दिनलाई घटस्थापना भनी निर्णय गरेको पनि उहाँले जानकारी दिनुभयो । दुर्गा देवीका तीनवटा रुपहरु महाकाली, महालक्ष्मी र महासरस्वतीको नवरात्रभर विधिपूर्वक आवाहन गरी पूजा आजा गरिन्छ । महाकाली शक्तिको प्रतीक, महालक्ष्मी धनधान्य र ऐश्वर्यको प्रतीक र महासरस्वतीलाई विद्या र वुद्धिको प्रतीकको रुपमा पूजा आजा एवम् आराधना गर्ने गरिन्छ । दुर्गाले आसुरी प्रवृत्तिको प्रतीकको रुपमा रहेका चण्ड, मुण्ड, शुम्भ, निशुम्भ र रक्तवीजलगायतका राक्षसलाई बध गर्न लिएका नौवटा रुपको दुर्गा पक्षका अवसरमा विशेष पूजा, आजा र आराधना गर्ने गरिन्छ । आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्मको १५ दिनलाई दुर्गा पक्ष पनि भनिन्छ । यो पक्षको पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौं दिन स्कन्दमाता, छैटौं दिन कात्यायनी, सातौं दिन कालरात्रि, आठौं दिन महागौरी र नवौं दिन सिद्धिदात्रीको पूजा आराधना गर्ने गरिन्छ । यीनै नौवटा दुर्गाका रुपलाई नवदुर्गा पनि भन्ने गरिन्छ । आसुरी एवम् राक्षसी प्रवृत्तिबाट मानवलाई जोगाएकाले समस्त मानव जातिले नै दुर्गादेवीको पूजा आराधना गर्ने शास्त्रीय नियम भएकाले दुर्गा पूजा र दसैं पर्व कुनै जात एवम् धर्म विशेषको नभएको शास्त्रीय प्रमाण रहेको धर्मशास्त्रविद् एवम् समितिका अध्यक्ष गौतमले बताउनुभयो । दसैं पर्वलाई असत्यमाथि सत्य र आसुरी शक्तिमाथि दैवी शक्तिको विजयको प्रतीकका रुपमा मनाउने गरिन्छ । दुर्गाको प्रतीकका रुपमा आजको दिनदेखि महानवमीसम्म प्रत्येक दिन छुट्टाछुट्टै गरी नौवटी कन्याको पूजा समेत गर्ने गरिन्छ । यसरी पूजा गरिने कन्या दुई बर्ष .माथिका हुनुपर्ने शास्त्रीय विधान रहेको छ । बडादसैंको सातौं दिन धार्मिक विधिअनुसार फूलपाती भित्र्याइन्छ भने महाअष्टमी र महानवमीका दिन बलि पूजा गर्नेहरुले दसैं घर, कोत र शक्तिपीठमा बलिसहित विशेष पूजा गर्ने गर्दछन् । नवरात्रभर दुर्गा सप्तशती चण्डी, श्रीमद्देवीभागवत र अन्य देवी स्तोत्र एवं स्तुतिहरुको पाठ पारायण पनि गर्ने गरिन्छ । यस अवसरमा नक्साल भगवती, शोभा भगवती, नाला भगवती र पलाञ्चोक भगवती लगायत देशभरका शक्तिपीठहरुमा पूजा आराधना एवं दर्शन गर्ने भक्तजनको भीड समेत लाग्ने गर्दछ । नवरात्र भनेर समेत चिनिने दसैं यस वर्ष तिथिको घटवढका कारण आठ रात्रि र नौ दिनको हुन आएको छ । यस्तो योग असामान्य अवस्थामा पर्न आउने गरे पनि सामान्य अवस्थामा नौ रात र दश दिनको दसैं हुने गरेको अध्यक्ष गौतम बताउनुहुन्छ । आज विधिपूर्वक घर घरमा आवाहन गरी पूजा आराधना गरिने दुर्गा देवीलाई असोज १७ गते विजयादशमीका दिन विसर्जन गरी मान्यजनबाट प्रसादका रुपमा टीका, जमरा र पूmल प्रसाद ग्रहण गर्ने गरिन्छ । असोज १७ गते देवी विसर्जनको साइत बिहान ९ बजेर ५५ मिनेटमा रहेको समितिले जनाएको छ । टीका प्रसाद ग्रहणका लागि साइत खोज्नेका लागि भने १० बजेर ५५ मिनेटको साइत उत्तम रहेको छ । विजया दशमीदेखि कोजाग्रत पूर्णिमाका दिनसम्म आफ्ना मान्यजनबाट देवीको प्रसाद र आशीर्वाद ग्रहण गरी पूर्णिमाका दिन धनधान्यकी प्रतीक महालक्ष्मीको ब्रत बसी रात्रिमा जाग्राम रहेर पूजा लगाई धन ऐश्वर्य प्राप्तिको कामना गर्ने गरिन्छ । यस दिन जाग्राम बस्ने मानिसलाई लक्ष्मीले धन धान्य दिई सम्पन्न बनाइदिने धार्मिक बिश्वास समेत रहेको छ । आजको दिन घटस्थापना गरेर राखेको जमरा कोजाग्रत पूर्णिमाकै दिन चोखो स्थानमा लगी विसर्जन गरिन्छ । परम्पराअनुसार काठमाडौँको हनुमानढोका दरबारमा रहेको दसैं घरमा आजैदेखि वैदिक विधिअनुसार जमरा राखी शक्तिस्वरुपा दुर्गा देवीको पूजा आराधना सुरु भएको छ । रोजगारी, अध्ययन एवम् अन्य काम विशेषले आफ्नो घर बाहिर रहेका मानिस दसैंको अवसर पारेर घर फर्कने र परिवारका साथ बसेर दसैं मनाउने भएकाले यस पर्वलाई पारिवारिक पुनर्मिलनको पर्वका रुपमा समेत लिइन्छ । आजैदेखि धेरैजसो शैक्षिक संस्थाले दसैंका अवसरमा सार्वजनिक बिदासमेत दिने गर्दछन् ।

Scroll To Top