www.deltrox.com

वाग्मती सरसफाइ महाअभियान १०० हप्ता: शनिबार ‘मानव साङ्लो’ निर्माणको तयारी पूरा, बस सेवा निःशुल्क

प्रकाशित मिति :

काठमाडौँ । वाग्मती सरसफाइ महाअभियान सयौँ हप्ता पुगेको अवसरमा शनिबार आयोजना गर्न लागिएको ‘मानव साङ्लो’ निर्माणको सम्पूर्ण तयारी पूरा भएको छ । सय हप्ता पुगेको अवसरमा विशेष कार्यक्रमका रुपमा शनिबार सुन्दरीजलदेखि गोकर्णसम्मको २८ किलोमिटर नदीको दुवै किनारामा ५६ किलोमिटर लम्बाइमा ‘मानव साङ्लो’ बनाइनेछ । सुन्दरीघाट–चोभार–गोकर्णका १३ खण्डमा १२ सचिवको संयोजकत्वमा छुट्टाछुट्टै व्यवस्थापन उपसमिति बनाइ जिम्मेवारी दिइएको छ । शनिबार बिहान ६ः३० देखि ७ः१५ सम्म तोकिएका खण्डमा जम्मा हुने, ७ः१५ देखि ७ः१७ सम्म राष्ट्रिय गान, ७ः१७ देखि ७ः२० सम्म शपथ ग्रहण र नारा, ७ः३० देखि ८ बजेसम्म मानव साङ्लो निर्माणको तयारी, ८ बजेदेखि ८ः१५ सम्म मानव साङ्लोमा आबद्ध हुने, ८ः१५ देखि ९ बजेसम्म नदी किनारामा सरसफाइ र ९ बजे समापन हुने कार्यक्रम रहेको छ । कार्यक्रमको सुरुवातमा सहभागीले “म मेरो बासस्थान र वरिपरि÷कार्यस्थल र वरिपरि÷तथा नदीनालाहरु सफा राख्छु र वाग्मती नदीको स्वच्छता र पवित्रता कायम राख्न मन, वचन र कर्मले लाग्नेछु” सपथ लिनुपर्दछ । ‘वाग्मती नदीमा फोहर फाल्दैनौँ र फाल्न दिँदैनौँ’ भन्ने सन्देश प्रवाह गर्न आयोजना गरिएको अभियानमा सहभागी हुन सम्पूर्ण उपत्यकावासीलाई सरसफाइ महाअभियानले सार्वजनिक अपिल गरेको छ । महाअभियान नेतृत्वकर्ता तथा नेपाल सरकारका मुख्यसचिव लीलामणि पौड्यालले काठमाडौँ उपत्यकाको संस्कृति र सभ्यताका रुपमा रहेको वाग्मतीलाई स्वच्छ बनाउने उद्देश्यले आयोजना सुरु गरिएको बताउनुहुन्छ । bagmati सफाइ अभियानको १०० हप्ताको सो विशेष कार्यक्रमका लागि आवश्यक पर्ने भौतिक सामग्री नेपाल उद्योग वाणिज्य महासङ्घ, नेपाल चेम्बर अफ कमर्स, निजी अस्पताल, कुलेश्वर फलफूल बजार समिति र बल्खु तरकारी बजार समितिले उपलब्ध गराउने छ । महाअभियान ९९ हप्तासम्म सञ्चालन गर्दा ९०० सङ्घसंस्थाका तर्फबाट तीन लाख स्वयम्सेवी सहभागी भएका थिए । यस क्रममा सुन्दरीजलदेखि चोभारसम्मको २८ किमिबाट पाँच हजार मेट्रिक टन फोहर निकालिएको छ । यसबीचमा वाग्मतीमा जथाभावी फोहर फाल्नेबाट रु १५ लाख काठमाडौँ महानगरपालिकाले राजस्व उठाएको छ । वाग्मती नदीको सरसफाइका लागि आमजनतामा सकारात्मक सन्देश प्रवाह गर्ने उद्देश्यसहित २०७० जेठ ५ गते शनिबार गुह्ेश्वरीबाट तत्कालीन मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीले महाअभियानको शुभारम्भ गर्नुभएको थियो । कुन सचिवले कहाँ नेतृत्व गर्दै ? सुन्दरीघाटदेखि–चोभार–गोकर्णसम्म १३ खण्डमा छुट्याई १२ सचिवको संयोजकत्वमा छुट्टाछुट्टै व्यवस्थापन उपसमिति बनाई जिम्मेवारी दिइएको छ । चोभार–बल्खु (पूर्व ललितपुर तिर) खण्डको नेतृत्व सचिव डा सोमलाल सुवेदी, चोभार–बल्खु खण्ड(पश्चिम काठमाडौँतिर)मा राधास्वामी सत्सङ्ग व्यासको पछाडि प्राङ्गणमा जम्मा हुने र त्यहाँको नेतृत्व सचिव जयमुकुन्द खनालले गर्नु हुनेछ । बल्खु–थापाथली (पूर्व ललितपुरतिर) खण्डमा कालोपुल, सानेपामा सहभागी जम्मा हुने र त्यहाँको नेतृत्व सचिव ईश्वरीप्रसाद पौडेलले गर्नुहुनेछ, बल्खु–थापाथली (पश्चिम काठमाडौँतिर) खण्डमा टेकुस्थित नेपाल उद्योग वाणिज्य महासङ्घको कार्यालयमा जम्मा भई सचिव सूर्यप्रसाद सिलवालको नेतृत्वमा सरसफाइ अभियानमा सहभागी हुने कार्यक्रम रहेको छ । थापाथली–मनोहरा खण्ड(पश्चिम काठमाडौँतिर)मा बुद्धनगरबाट ज्वागल ललितपुर जोड्ने नयाँ पुल निर्माण भएको स्थानमा जम्मा भई सचिव अर्जुनकुमार कार्कीको नेतृत्वमा र थापाथली–मनोहरा खण्ड(पश्चिम ललितपुरतिर)मा बुद्धनगर वाग्मती पुल गुसिंगालमा जम्मा भई सचिव दीपेन्द्रनाथ शर्माको नेतृत्वमा सरसफाइ अभियान सञ्चालन हुनेछ । मनोहरा–तिलगङ्गा खण्ड(पश्चिमतिर)मा बानेश्वर क्याम्पसमा जम्मा भई सचिव कृष्णचन्द्र पौडेलको नेतृत्वमा र मनोहरा–तिलगङ्गा खण्ड(पूर्वतिर) सचिव शान्तराज सुवेदीको नेतृत्वमा मिनभवन बानेश्वर पुलमा जम्मा भई सरसफाइ अभियान सञ्चालन हुनेछ । तिलगङ्गा–गौशालापुल–गौरीघाट खण्डमा पशुपति विकास कोषमा जम्मा भई र गौरीघाट–जम्बोडाँडा खण्ड(पश्चिमतिर) सचिव नारायण रेग्मीको नेतृत्वमा दिव्य कम्प्लेक्स गुह्वेश्वरीमा जम्मा भई सरसफाइ अभियान सञ्चालन गरिनेछ । गौरीघाट–जम्बोडाँडा खण्ड(पूर्वतिर)मा गोठाटारको फुटबल मैदानमा जम्मा भई सचिव तुलसीप्रसाद सिटौलाको नेतृत्वमा, जम्बोडाँडा–गोकर्ण खण्ड(पश्चिमतिर)मा जोरपाटी पुलमुनिको कृष्ण प्रणामी मन्दिरमा जम्मा भई सचिव माधवप्रसाद रेग्मीको नेतृत्वमा र जम्मोडाँडा–गोकर्ण खण्ड(पूर्वतिर) जोरपाटी पुलमाथि जम्मा भई सचिव नारायण गोपाल मलेगोको नेतृत्वमा सरसफाइ अभियान सञ्चालन गरिनेछ ।

बाग्मतीको १०० हप्ते कार्यक्रमलाई बस सेवा निःशुल्क

बाग्मती सफाइ महाअभियान १०० हप्ताको कार्यक्रममा नदी किनारका विभिन्न स्थानमा जानका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको पहलमा निःशुल्क बस सेवा सञ्चालन हुने भएको छ । महाअभियान १०० हप्ता प्रवेश गरेको उपलक्ष्यमा शनिबार बिहान आयोजना गर्न लागिएको बाग्मती हातेमालो कार्यक्रममा जानका लागि मन्त्रालयको पहलमा नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले सामाजिक उत्तरदायित्वअन्तर्गत निःशुल्क बस सेवा सञ्चालन गर्न लागेको हो । महाअभियानका लागि उपत्यकाका १३ स्थानबाट बाग्मती नदीको आठ स्थानमा जान निःशुल्क बसको व्यवस्था गरिएको मन्त्रालयका सचिव तुलसीप्रसाद सिटौलाले जानकारी दिनुभयो । “नियमित रुपमा रुटमा चल्ने सवारी साधनलाई यथावत् राख्दै महाअभियानकै लागि ६६ वटा थप गाडी निःशुल्क सञ्चालन गर्न लागिएको छ”, उहाँले भन्नुभयो, “यी बसले बिहान ५ः३० बजेदेखि ७ बजेसम्म सफाइमा जानेहरुलाई निःशुल्क यात्रा गराउनेछ ।” निःशुल्क बस सेवाका लागि यात्रु जम्मा हुने स्थान कलङ्की, एकान्तकुना, सातदोबाटो, जाउलाखेल, लगनखेल, रत्नपार्क, स्वयम्भू, बालाजु, गोङ्गबु, नारायणगोपाल चोक, सूर्यविनायक, दुवाकोट र साँखु तोकिएको छ । यी बसमा बाग्मती सफाइ महाअभियान १०० हप्ताको कार्यक्रम लेखिएको ब्यानरसमेत राखिनेभएको छ । तोकिएका १३ स्थानबाट सफाइ महाअभियानका सहभागी लिएर हिँडेका बस बाग्मती नदी किनारका बल्खु, टेकु, त्रिपुरेश्वर÷थापाथली, शान्तिनगर पुल, सिनामङ्गल÷तिलगङ्गा, गौरीघाट÷नारायणटार, अत्तरखेल÷गोकर्ण र सुन्दरीजल गरी आठ स्थानमा लगिने नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अध्यक्ष दीनेश भण्डारीले बताउनुभयो । उपत्यकाका विभिन्न स्थानबाट बल्खु किनारमा नौ बस, टेकु किनारमा १२ बस, त्रिपुरेश्वर÷थापाथली किनारमा नौ बस, शान्तिनगर पुलमा आठ बस, सिनामङ्गल÷तिलगङ्गा किनारमा आठ बस, गौरीघाट÷नारायणटारमा आठ बस, अत्तरखेल÷गोकर्णमा आठ बस र सुुन्दरीजल नदी किनारमा चार बस पुग्ने महासङ्घका बाग्मती संयोजक एवम् बस व्यवस्था समितिका संयोजक धर्म रिमालले जानकारी दिनुभयो ।

Scroll To Top