arrow

चीन गयो आयल निगमको टोली

logo
प्रकाशित २०७६ वैशाख २५ बुधबार
639699201.jpeg
काठमाडौँ । चीनबाट व्यावसायिक रुपमा इन्धन आयात गर्ने विषयमा छलफल गर्न नेपाल आयल निगमको एक प्रतिनि धिमण्डल सोमबार त्यसतर्फ गएको छ । प्रतिनिधिमण्डलले चिनियाँ पक्षसँग इन्धन आयातको प्राविधिक पक्षमा छलफल गरेपछि व्यापारिक सम्झौता गर्न वाणिज्य तथा आपूर्ति मन्त्रालयका उच्च अधिकारीको नेतृत्वमा अर्को टोली त्यसतर्फ पठाउने तयारी गरिएको छ । 

सोमबार त्यसतर्फ गएको प्रतिनिधिमण्डलमा निगमका नायब कार्यकारी निर्देशक सुशील भट्टराई र निर्देशक दीपक बराल छन् । नेपालले चीनको सरकारी कम्पनी पेट्रोचाइनाबाट इन्धन आयात गर्ने विषयमा प्रारम्भिक सम्झौता गरेको छ ।  सोही सम्झौताका आधारमा इन्धन आयातको प्रक्रिया अगाडि बढे पनि स्थानीय कर र आयातमा देखापर्ने विभिन्न जटिलताका विषयमा अन्तिम निष्कर्ष निस्कन नसकेपछि सरकारले पहिलो चरणमा निगमका अधिकारीलाई चीन पठाएको हो । 

सो टोलीले चिनियाँ अधिकारीसँग पेट्रोल, डिजेल, मट्टीतेल, हवाई इन्धन र खाना पकाउने ग्यास आयातको विषयमा महत्वपूर्ण छलफल गर्ने निगमका प्रवक्ता मुकुन्द घिमिरेले जानकारी दिए । केही दिनपहिले चीन जानुभएका वाणिज्य तथा आपाूर्तिमन्त्री गणेशमान पुनले चिनियाँ अधिकारीसँग इन्धन खरिद गर्ने विषयमा अनौपचारिक छलफल गरेका थिए । सोही छलफलका आधारमा चीन नेपाललाई व्यावसायिक रुपमा इन्धन दिन तयार भएको हो । 

निगमको टोलीको नेतृत्व चीनमा रहेका नेपालका राजदूत महेशमान मास्केले गर्ने बताइएको छ । निगमको प्राविधिक टोलीले प्राविधिक तथा अन्य आयातका विषयमा छलफल गरेपछि सरकारको उच्चस्तरीय टोली चीन जाने र व्यापारिक सम्झौता गर्ने सरकारको तयारी रहेको छ । 

सरकारले वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिवको नेतृत्वमा कानुन, परराष्ट्र, अर्थ मन्त्रालयका उच्च अधिकारी चीन पठाउने तयारी गरेको थियो । केही विषयमा कुरा मिल्न बाँकी रहेकाले पहिलो चरणमा निगमका दुई अधिकारीलाई मात्रै चीन पठाइएको हो ।  भारतले अघोषित रुपमा नाकाबन्दी गरेपछि विभिन्न स्रोतबाट इन्धनको आपूर्ति गर्ने विषयमा छलफल गरेको सरकारले बङ्गलादेशबाट खाना पकाउने ग्यासबाहेक अन्य इन्धन आयात गर्न सकिने बताउँदै आएको छ । 

यस्तै मङ्गलबारदेखि पेट्रो म्याक्सले भारतको लखनऊबाट हवाई इन्धन आयात गर्ने जनाएको छ । निगमले हवाई इन्धन आयातका लागि सो कम्पनीलाई अनुमति दिएको छ । नेपाल वायु सेवा निगमले भारतको कोलकाताबाट दैनिक दुई उडान गरेर हवाई इन्धन आयात गरिरहेको छ ।  पेट्रोलियम पदार्थको आयातको विषयमा विभिन्न विकल्प अपनाउने प्रयास गरिए पनि खाना पकाउने ग्यासको विषयमा भने हालसम्म कुनै पनि उपाय सुल्झन सकेको छैन । सीमित मात्रामा आयात भएको इन्धनको समानुपातिक वितरण नभएको कालोबजारी र अनियमितता मौलाएको भन्दै विभिन्न सरोकार राख्ने निकायले सरकारको ध्यानाकर्षण गराउँदै आएका छन् । 

सोही ध्यानाकर्षणको आधारमा सरकारले वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव जीवराज कोइरालाको संयोजकत्वमा केन्द्रीय अनुगमन समितिसमेत गठन गरेको छ । सोही समितिले इन्धन आयात तथा वितरणको सम्पूर्ण विषयमा अनुगमन गरिरहेको मन्त्रालयले जनाएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ