arrow

सिद्धथुम्कालाई पर्यटकीय गन्तव्य बनाउन जुटे स्थानीयवासी

logo
प्रकाशित २०७३ असार १७ शुक्रबार
siddhithumkas.jpg.jpeg
काठमाडौं । दूधकोसी र सुनकोसी नदीको संगमस्थल हुँदै उठेको ओखलढुंगाको ‘सिद्धथुम्का’लाई पर्यटकीय गन्तव्य बनाउन स्थानीयवासी जुटेका छन् । पर्यटकीय गन्तव्य बनाउने पहलस्वरूप निर्माणाधीन सिद्धधाम पदमार्गको हालै ओखलढुंगाका सांसदहरू रामहरि खतिवडा र यज्ञराज सुनुवारले उद्घाटन गरेका छन् । ओखलढुंगाबाट प्रतिनिधित्व गर्ने दुवै सांसदले प्रस्तर मूर्तिका रूपमा निर्मित ‘ढ्यांग्रो’को अनावरणसमेत गरेका हुन् । 
 
ओखलढुंगाको हिलेपानी मितेरीभञ्ज्याङमा ‘बृहद् लोक सांस्कृतिक नाच तथा थुम्का सिद्धधाम धार्मिक पर्यटकीय स्थल विकास अभियान समुद्घाटन’ कार्यक्रम सम्पन्न गरिएको आयोजकले जनाएको छ । लोपोन्मुख लोक संस्कृतिहरूको संरक्षण एवं स्थानीय सांस्कृतिक धामहरूको विकास गरेर पर्यटन प्रवद्र्धन गर्नुपर्ने सन्देशका साथ कार्यक्रम आयोजना गरिएको जनाइएको छ । 
 
सांसद खतिवडाले सिद्धदेवताका रूपमा मानिँदै आएको यस धाम पुराण एवं विभिन्न हिन्दू धार्मिक ग्रन्थहरूमा पनि वर्णित भएको उल्लेख गर्दै यस धामलाई ‘चिन्न नसकेको’मा आश्चर्य व्यक्त गरे । उक्त धामको विकासका लागि आर्थिक वर्ष २०७३/७४ को बजेटमा संस्कृतिमन्त्रीलाई कमसेकम १५ लाख विनियोजन गरिदिन माग गरे पनि ५ लाख मात्र विनियोजन भएकोमा गुनासो गरे ।
 
सांसद सुनुवारले राष्ट्रगान रचनाकार व्याकुल माइलालाई आफ्नो गाउँठाउँको विकासप्रति धेरै चिन्ता र चासो भएकोमा खुसी व्यक्त गरे । माइलाप्रतिको सम्मानले जिल्लाकै सम्मान हुने, उनको जन्मथलोमा गरिने विकासले सबै नेपालीलाई ऊर्जा मिल्ने र उनको चासो र अग्रसरतामा विकास योजना निर्माण गर्दा सिंगो राज्यले नै गौरव गर्ने मौका मिल्ने बताए ।
 
प्रमुख जिल्ला अधिकारी एकदेव अधिकारीले यो ठाउँ पूर्व–पश्चिम लोकमार्ग र दूधकोसी–सुनकोसीको संगमस्थल र हलेसी महादेव जाने मार्गमा रहेको कारण पर्यटकीय गन्तव्य स्थल बनाउन उपयुक्त हुने उल्लेख गर्दै दीर्घकालीन योजनाका साथ कार्य गर्न आवश्यक देखिएको धारणा व्यक्त गरे । थुम्का सिद्धधाम धार्मिक पर्यटकीयस्थल विकास समितिलगायत स्थानीय विभिन्न सामाजिक संस्था, क्लब र विद्यालयको आयोजनामा सम्पन्न यस कार्यक्रमको पूर्वसन्ध्यमा सामाजिक रूपान्तरण तथा सशक्तिकरणको अभियान स्वरूप सप्ताहव्यापी बायो–ब्रिकेट, फुटबल, लोकनृत्य र शास्त्रीय संगीतको तालिम सञ्चालन गरिएको थियो ।
 
राष्ट्रिय गान सर्जक माइलाले कहिले खडेरी, कहिले भूकम्प अनि कहिले बाढीपहिरोको पिरलोमा गाउँघर शोकमग्न भएको उल्लेख गर्दै यी चिन्ता र शोकलाई भुल्नका लागि पनि यस किसिमको कार्यक्रम आवश्यक भएको बताए । समितिका अध्यक्ष जीवनकुमार राईले कार्यक्रमको सफल आयोजनाले ‘हामी गाउँलेले गाउँमै पनि केही गरेर देखाउन सक्दा रहेछौं’ भन्ने आत्मविश्वास बढेको बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ