arrow

‘सरकारले पुनःनिर्माण कार्य द्रुत गतिमा अगाडि बढाउने’–उपप्रधानमन्त्री थापा

logo
प्रकाशित २०७६ वैशाख २५ बुधबार
413845229.jpeg
काठमाडौँ । उपप्रधानमन्त्री तथा परराष्ट्र मन्त्री कमल थापाले सरकारले जतिसक्दो चाँडो भूकम्प प्रभावित क्षेत्रको पुनःनिर्माण कार्यलाई द्रुत गतिमा अगाडि बढाउने बताउनुभएको छ । भूकम्पपश्चातको सन्दर्भमा ‘विपद् जोखिम न्यूनीकरणमा भूमि क्षेत्रका पेसाकर्मी र भौगोलिक सूचना पूर्वाधारको भूमिका’ विषयक तीनदिने अन्तर्राष्ट्रिय गोष्ठीको उद्घाटन गर्दै उपप्रधानमन्त्री थापाले भूकम्पपछि अझै पनि जाडोको मौसममा अधिकांश भूकम्पपीडित टहरामै बस्न बाध्य भएको हुँदा सरकारले पुनःनिर्माण कार्यलाई तीव्र बनाउने बताउनुभयो । 
 
पुनःनिर्माणको कामलाई अघि बढाउन सरकारले राष्ट्रिय योजना आयोगलाई जिम्मेवारी दिएको उहाँको भनाइ थियो । उपप्रधानमन्त्री थापाले हालैको भूकम्पबाट पाठ सिक्दै भूमि विज्ञले आफ्नो क्षमता वृद्धिसँगै प्रविधिको प्रयोग गर्न अनिवार्य छ, जसले क्षति न्यूनीकरणमा सहयोग पुग्ने छ भन्नुभयो । 
 
भूकम्पमा भएको भौतिक क्षतिको पुनःस्थापनामा नापी पेसाकर्मी तथा नापनक्सासम्बन्धी भौगोलिक सूचना पूर्वाधारको भूमिका पहिचान गर्ने उद्देश्यले गोष्ठीको आयोजना गरिएको नापी विभागका उपमहानिर्देशक एवम् आयोजक समितिका अध्यक्ष गणेशराज भट्टले जानकारी दिनुभयो । नेपाल इन्स्टियुसन अफ चाटर्ड सर्भेयर्स र नेपाल रिमोट सेन्सिङ एण्ड फोटोग्रामेट्रिक सोसाइटीको मुख्य आयोजना एवम् भूमिसुधार तथा व्यवस्था मन्त्रालय, नापी विभाग र भूमि व्यवस्थापन प्रशिक्षण केन्द्रको सहआयोजनामा सुरू गरिएको गोष्ठीमा नेपाललगायत २१ देशका प्राध्यापक, अनुसन्धानकर्ता, विज्ञ, पेसाकर्मी, कर्मचारी, विद्यार्थी सर्भेयर, व्यवसायीलगायत करिब ४०० जनाको सहभागिता रहेको छ । 
 
गोष्ठीमा विभिन्न ११ जना विषयसँग सम्बन्धित विज्ञले विशेष सम्बोधन गर्नुका साथै ५६ जना प्रस्तोताबाट विभिन्न विषयमा अनुसन्धान तथा खोजमूलक प्राविधिक प्रस्तुति र नेपालमा निजी क्षेत्रबाट नापनक्साको क्षेत्रमा काम गर्ने छ जना परामर्शदाताले आफ्नो प्रस्तुति दिनुहुनेछ । गोष्ठीमा प्रकोपबाट प्रभावित क्षेत्रमा पुनःस्थापना कार्यमा भए गरेका राष्ट्रिय र अन्तर्राष्ट्रिय अभ्यासका बारेमा समेत अनुभव आदानप्रदान गरिनेछ ।
 
कार्यक्रममा आयोजक सल्लाहकार समितिका अध्यक्ष बाबुराम आचार्यले गोष्ठीबाट नेपाललाई भरपुर फाइदा हुने विश्वास व्यक्त गर्नुभयो । गोष्ठीमा मन्त्री, पूर्वमन्त्री, सभासद्, विभिन्न राजनीतिक दलका नेताको समेत सहभागिता रहेको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ