arrow

एन्फाका विभिन्न काण्डबारे छानविन गर्न समिति

logo
प्रकाशित २०७६ वैशाख २५ बुधबार
1190926222.jpeg
काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् राखेपले अखिल नेपाल फुटबल संघ एन्फाको पछिल्लो घटनाक्रमका सम्बन्धमा विभिन्न ४ बुँदामा छानविन गर्न पूर्व सचिव प्रतापकुमार पाठकको संयोजकत्वमा ५ सदस्यीय छानविन समिति गठन गरेको छ ।
 
राखेप सदस्य–सचिव केशवकुमार विष्टले समितिका पाँचै सदस्यको उपस्थितिमा ‘अखिल नेपाल फुटबल संघका सम्बन्धमा छानविन तथा सुझाव समिति’ गठनको औपचारिक घोषणा गरे । परिषद्को बिहीबारकै सदस्य–सचिवस्तरीय निर्णयानुसार समिति गठन गरिएको राखेपका प्रेस सल्लाहकार रोहित दाहालले जानकारी दिए । 
 
पाठकको संयोजकत्वमा गठित समितिका सदस्यहरुमा महालेखा परीक्षकको कार्यालयका पूर्व निर्देशक उमेशप्रसाद ढकाल, कानून विज्ञ प्रवल शर्मा तथा युवा तथा खेलकुद मन्त्रालयका उपसचिव रामबहादुर हमाल छन् । राखेपअन्तर्गत खेलकुद विकास विभागका प्रमुख कुलबहादुर थापा सचिव छन् ।
 
चर्को विवादमा परेको नेपाली फुटबलको पछिल्लो अवस्था बारे जानकारी लिन मलेसियाबाट नेपाल आएका एएफसीका अन्तर्राष्ट्रिय सम्बन्ध अधिकृत पुरुषोत्तम कट्टेल, युवा तथा खेलकुद मन्त्री सत्यनारायण मण्डल एवं एन्फा महासचिव धिरेन्द्र प्रधानसंग सोमबार युवा तथा खेलकुद मन्त्रालयमा भएको भेटमा सदस्य–सचिव विष्टले एन्फाका सम्बन्धमा छानविन गर्न समिति गठनको प्रस्ताव गरेका थिए । त्यो प्रस्तावलाई भेटमा सहभागी सबैले समर्थन जनाएका थिए ।
 
अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) ले एन्फा अध्यक्ष गणेश थापालाई गरेको कारबाही र सोबाट परेको प्रभाव तथा एन्फाको कार्यकारी समितिले गरेको निर्णय तथा अध्यक्ष थापाले गरेको निर्णयको बैधानिकताको सम्बन्धमा समितिलाई छानविन गर्न भनिएको छ । 
 
यस्तै, म्याच फिक्सिङ प्रकरण र यु–१६ टिमलाई गरेको कारबाही तथा सो विषयमा एन्फाको भूमिका सम्बन्धमा समेत छानविन गर्न निर्देश गरिएको छ । एन्फामा भएको आर्थिक अनियमिता, एन्फाको काम कारबाही विधि विधानसम्मत गर्न तथा एकताबद्ध बनाई फुटबलको विकास एवं विस्तार गर्ने विषयमा समेत शोध गर्न भनिएको छ । 
 
समितिलाई छानविन गरी सत्यतथ्यसहितिको प्रतिवेदन र सुधारका लागि सुझाव परिषद् समक्ष पेश गर्न १ महिनाको समय दिइएको प्रेस सल्लाहकार दाहालले बताए । समिति घोणषापछि सदस्य–सचिव विष्टले सम्बन्धित व्यक्तिहरुलाई पत्र हस्तान्तरण गरेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ