arrow

अग्रता कायम राख्न नसक्दा नेपालले भारतसँग बराबरीमा चित्त बुझायो

logo
हाम्रा कुरा
प्रकाशित २०७८ भदौ १७ बिहिबार
Football-nep-ind-anjan.jpg

काठमाडौं। अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलको पहिलो खेलमा नेपाल र भारतले बराबरी खेलेका छन् । दुवै टोलीले एक-एक गोलको बराबरी खेलेका हुन्। त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा नेपाल र भारतबीच एक-एक गोलको बराबरीमा खेल सकिएको छ ।

नेपालले पहिलो हाफमा अग्रता लिएको थियो । सो अग्रतालाई दोस्रो हाफमा कायमै राख्न नसक्दा बराबरी खेल्नु परेको हो । नेपाल पहिलो हाफमा १–० गोलले अगाडि रहेको थियो । नेपालका लागि खेलको ३६औंँ मिनेटमा अञ्जन विष्टले गोल गरेका थिए । पहिलो हाफमा भारतीय टोलीले पनि गोलको प्रयास गरे पनि सफल भने हुनसकेन । 

नेपालले दोस्रो हाफमा पनि गोलको प्रयास गरेको थियो । भारतीय गोलकिपर गुरप्रितसिंह सन्धुले नेपाली टोलीको प्रयास विफल पारिदिए । मध्यान्तरपछिको खेलमा भारतले नेपालविरुद्ध गोल गर्न सफल भयो । खेलको ६०औँ मिनेटमा भारतका लागि अनिरुद्ध थापाले गोल गरेका थिए । गोलकिपर किरणकुमार चेम्जोङले उनको प्रहार रोक्न सकेनन् । आजको खेलसँगै नेपाली गोलकिपर चेम्जोङले नेपालको तर्फबाट सर्वाधिक अन्तर्राष्ट्रिय खेल खेल्ने कीर्तिमान बनाउनुभएका विराज महर्जनसित बराबरी गरेका छन् । महर्जनले नेपाली टोलीबाट सन्यास लिइसकेका छन् । महर्जन र चेम्जोङ नेपाली टोलीबाट समान ७३ खेल खेलेका छन् । नेपाल र भारतबीच दोस्रो मैत्रीपूर्ण खेल आइतबार दशरथ रङ्गशालामा हुनेछ । 

नेपाल र भारबीच आजसहित फुटबलमा २० पटक भिडन्त भएको छ । भारत १३ पटक विजयी भएको छ भने नेपालले दुई चोटि मात्र जित निकाल्न सकेको छ । पाँच खेलमा दुवै टोलीले बराबरी खेलेका छन् । विश्व फुटबल महासङ्घको (फिफा) वरियतानुसार भारत १०५ औँ स्थानमा छ भने नेपाल १६८ स्थानमा रहेको छ ।   



नयाँ