arrow

चोभारको फनपार्कमा सुरक्षा चुनौती, आवश्यक परे बन्दसम्म गर्न निर्देशन

logo
प्रकाशित २०७३ साउन २ आइतबार
chobar-funpark.jpg.jpeg
काठमाडौं। गत हप्ताको शनिबार, आइतबार र सोमबार चोभारको ‘अन्तराष्ट्रिय स्तरको’भनिएको फनपार्कमा क्रमशः दूर्घटना भएको सार्वजनिक भएपछि यसै विषयमा महानगरीय प्रहरी परिसर काठमाडौंमा असुरक्षित रूपमा फनपार्क सञ्चालन गरेको भन्दै उजुरी समेत पर्‍यो। 
 
सोही फनपार्कमा खेल्न जाँदा घाईते भएका एक बालक दृष्टान्त भण्डारीलाई फनपार्क सञ्चालकहरू भेट्न समेत नआएको गुनासो सहितको समाचार हाम्राकुरा मार्फत सार्वजनिक भएपछि फनपार्क सञ्चालकले ती बालकको उपचारमा लाग्ने खर्च बेहोर्ने प्रतिवद्धता पनि जाहेर गरे। 
 
तर, के सञ्चालकले घाइते भएका विरामीहरूलाई उपचार गराउँदैमा त्यो फनपार्क सुरक्षित भयो त ? यस विषयमा उजुरीसमेत परिसकेपछि प्रहरी समेत यसको सुरक्षा संवेदनशीलता पहिल्याउन सक्रिय भएको छ। 
 
महानगरीय प्रहरी प्रभागका प्रमुख एसएसपी विक्रमसिंह थापाले यस विषयमा उजुरी समेत परेकोले यसलाई आवश्यक कारबाही गर्न निर्देशन समेत दिएको जानकारी दिए। ‘मैले आवश्यक कारबाहीको लागि सम्बन्धित वृत्तका प्रमुखलाई निर्देशन दिईसकेको छु।’एसएसपी थापाले भने ‘सुरक्षा संवेदनशीलताको कुरा हो, सुरक्षा चुनौती देखे बन्द समेत गर्न निर्देशन दिएको छु।’  
 
यसरी प्रहरीले आफ्नो सक्रियता देखाएपनि प्रशासनको भूमिका के त भन्ने विषयमा काठमाडौं स्थानीय प्रशासनको मत लिनको लागि जिल्ला प्रशासन कार्यालय काठमाडौंमा पुग्यौं। उपत्यकाभर रहेका फनपार्कहरू कति सुरक्षित छन् भन्ने विषयमा कुरा गर्दा विडम्बनाको कुरा जिल्ला भित्र खुलेका कुनैपनि फनपार्कहरूको विषयमा औपचारिक रूपमा जिल्ला प्रशासन कार्यालयलाई केही पनि थाहा हुँदो रहेनछ । 
 
काठमाडौंका प्रमुख जिल्ला अधिकारी रामकृष्ण सुवेदीले यस्ता फनपार्कहरू जिल्ला प्रशासन कार्यालयमा दर्ता नहुने गरेको स्पष्ट पारे । ‘यस्ता फनपार्कहरू हामीले दर्ता गर्ने गरेका त छैनौं ।’ सुवेदीले भने ‘तर मैले पनि समाचारमा धेरै दूर्घटना भएको सुनेको छु यो विषयमा आवश्यक छानविन गरी दोषी पाईए प्रशासनले कानून बमोजिम कारबाही गर्छ।’ उनले आफ्नो क्षेत्रभित्र यस्ता असुरक्षित संरचना छन् भने त्यसको विषयमा निगरानी गर्नु प्रशासनको जिम्मेवारी रहेको कुरा पनि स्पष्ट पारे। 
 
यसरी काठमाडौंमा खुलेका मनोरञ्जन पार्कहरू पर्याप्त सुरक्षा संवेदनशीलता नअपनाई सञ्चालन हुने र यसमा प्रशासनले समेत खुल्ला छाडिदिँदा चोभारको फनपार्कमा जस्तै घटनाहरू अन्यत्र पनि नघट्ला भन्न सकिने अवस्था देखिँदैन। अन्तराष्ट्रिय स्तरको भनेर प्रचार गरिएको फनपार्कमा सुरक्षा नरहेको भन्दै उजुरी परेपछि प्रहरीले आवश्यक परे बन्दसम्म गर्न निर्देशन दिएपछि काठमाडौं उपत्यकामा रहेका अन्य फनपार्कहरूको सुरक्षा संवेदनशीलतामाथि पनि शंका गर्ने प्रसस्त ठाउँहरू देखिएको हो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ